चलचित्रकर्मीलाई ‘सांस्कृतिक रूपान्तरण पुरस्कार २०८०’ प्रदान

राम्रो अनलाइन     ०२ असोज २०८०, मङ्गलबार
चलचित्रकर्मीलाई ‘सांस्कृतिक रूपान्तरण पुरस्कार २०८०’ प्रदान


काठमाडौँ–चलचित्र विकास बोर्डले १० चलचित्रकर्मी र एक संस्थालाई ‘सांस्कृतिक रूपान्तरण पुरस्कार २०८०’ प्रदान गरेको छ । संविधान दिवसको अवसर पारेर बोर्डले सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा योगदान पु¥याएको भन्दै प्रदान गरेको पुरस्कारको राशि रु ५० हजार रहेको छ ।

आज सम्पन्न कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कलाकार मदनकृष्ण श्रेष्ठ, पत्रकार तथा निर्देशक विजयरत्न तुलाधर, अभिनेत्री मिथिला शर्मा, निर्देशक दयाराम दाहाल, मुकुन्द किशोर भट्टराई, श्याम सापकोटा, रेखा थापा, दीपाश्री निरौला, मनोज पण्डित, मीनबहादुर भामसँगै चलचित्रकर्मी कल्याण कोष सञ्चालन समितिलाई उक्त पुरस्कार प्रदान गरिन्। 

मन्त्री शर्माले सामाजिक रूपान्तरणमा चलचित्रकर्मीको महत्त्वपूर्ण भूमिका हुने भन्दै ठूलो पर्दामार्फत दर्शकलाई सुसूचित गर्न आग्रह गरिन् । उनले भनिन्, ‘व्यवस्था फेरि पनि अवस्थामा परिवर्तन आउनु आवश्यक छ । समाजलाई सही गतिमा डो¥याउन चलचित्रले महत्त्वपूर्ण भूमिका खेल्छ । अहिलेको अवस्था ल्याउन परिवर्तनकारी भूमिका निर्वाह गर्नुहुनेलाई हामीले सम्मान गर्‍यौँ ।’

उनले आगामी दिनमा पनि चलचित्रकर्मीलाई विशेष अवसर पारेर सम्मानित र पुरस्कृत गर्ने बताइन् । मन्त्री शर्माले सम्पूर्ण कलाकर्मीलाई मनोरञ्जनसँगै समाजलाई सही दिशामा डो¥याउने दायित्वलाई सम्झिएर अगाडि बढ्न आग्रह गरिन्। 

पुरस्कृत व्यक्तित्वको तर्फबाट मन्तव्य राख्दै कलाकार श्रेष्ठले कामको मूल्याङ्कन भएकामा धन्यवाद दिए  । उनले भने, ‘नगद राशिसहितको पुरस्कारले पाउने व्यक्तिलाई ऊर्जा मिल्छ । बोर्डले आगामी दिनमा पनि चलचित्र र चलचित्रकर्मीको हितमा विभिन्न कार्यक्रम गर्नेमा विश्वस्त छु । यस क्षेत्रलाई सरकारले अगाडि बढ्न मद्दत गर्नुपर्छ ।’

बोर्डले आगामी दिनमा चलचित्रकर्मीलाई प्रोत्साहन मिल्ने कार्यक्रमलाई निरन्तरता दिने बोर्ड अध्यक्ष भुवन केसीले बताए । कार्यक्रममा निर्देशक लक्ष्मीनाथ शर्मा, अभिनेत्री चैत्यदेवी, बसुन्धरा भुसाल, लक्ष्मी गिरीलगायत उपस्थित थिए। 
 

प्रतिक्रिया