हाम्रा अगुवाले केटाकेटीलाई कसरी बाटो देखाउँछन् ? उनीहरू सीधा–सीधा हिंसात्मक उपाय अपनाउँछन्। पिटाइ, गाली, धम्कीको प्रयोग गर्छन्। बेइज्जत गर्ने, एक्ल्याउने र उक्साउने गर्छन्। यसले उनीहरूलाई पीडाको बन्दी बनाउँछ र नकारात्मक व्यवहार गर्न उक्साउँछ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार हरेक वर्ष आठ लाख मानिसले आत्महत्या गर्छन्। अर्थात्, हरेक ४० सेकेन्डमा एक जनाले आफ्नै ज्यान लिन्छ। यद्यपि, आत्महत्या कति डरलाग्दो छ, यो संख्याले मात्रै हामीलाई बताउन सक्दैन। किनभने, संगठनका अनुसार आत्महत्याबाट एक जनाले ज्यान गुमाउँदा अरू २० जनाले यसको प्रयास गरिरहेका हुन्छन्।
प्रयास गर्नेजति सबैले ज्यान गुमाउने हो भने प्रतिवर्ष दुई करोडको मृत्यु हुन्छ। नेदरल्यान्ड्समा १ करोड ७० लाख जनसंख्या छ, अस्ट्रेलियामा २ करोड ३० लाख। यस अर्थमा एउटा देशको पूरै जनसंख्या बराबरको संख्याले बर्सेनि आत्महत्या प्रयास गरिरहेको हुन्छ।
तर, गएका केही दशकमा आत्महत्या दर घटाउन केही उल्लेखनीय सफलता हात परेका छन्। सन् २००० यता विश्वमा आत्महत्या दर २९ प्रतिशतले घटेको छ। अर्थात्, यो अवधिमा २ करोड ८० लाख मानिसको ज्यान बचेको छ। यो संख्या त्यही अवधिमा युद्धमा मारिएकाभन्दा तीन गुणा बढी हो।
खास गरी, भारत र चीनमा युवतीहरूको आत्महत्या दरमा कमी आएको छ। संसारका धेरैजसो ठाउँमा उमेरदारभन्दा उमेर ढल्केकाले र महिलाभन्दा पुरुषले बढी आत्महत्या गर्छन्। तर, चीन र भारतमा चाहिँ कम उमेरका केटीहरूले बढी आत्महत्या गर्छन्। अहिले त्यो संख्या घटिरहेको छ। सोभियत संघको विघटनपछि त्यहाँका अधबैँसेहरूमा आत्महत्या अकासिएको थियो। अहिले यो पनि घटिरहेको छ। त्यस्तै विश्वभरका वृद्धहरूमा पनि सन् २००० यता आत्महत्या दर कम भएको छ।
ठूलामध्ये अमेरिका मात्रै त्यस्तो देश हो, जहाँ आत्महत्या गर्नेको संख्या बढिरहेको छ। अमेरिकामा मात्र हरेक वर्ष ४१ हजारले आत्महत्या गर्छन्। सन् २००० यता अमेरिकाको आत्महत्या दर १८ प्रतिशतले बढेको छ। खास गरी, श्वेत, अधबैँसे र कम पढेका पुरुषबीच आत्महत्या दर बढी छ।
सबैभन्दा बढी चिन्ताको विषय हो, किशोर–किशोरीको आत्महत्या। पछिल्ला दशकमा युवाहरूमा आत्महत्या दर बढेको देखिन्छ। खास गरी, किशोरीहरूमा यो दर ह्वात्तै बढेको छ।
आत्महत्या र उमेर
संसारभरि नै बुढेसकाल लागेका मानिसमा आत्महत्याको दर बढी छ। अस्वस्थ तथा सम्बन्धविच्छेद गरेका वा जीवनसाथी गुमाएकाले बढी आत्महत्या गर्छन्। तर, अमेरिका र बेलायतजस्ता देशमा ४५–५० वर्ष उमेर समूहमा यो दर बढी छ। विश्वमै १५ वर्षमुनिका बालबालिकामा आत्महत्याको दर निकै कम छ। यो उमेर समूहकाले फाट्टफुट्ट मात्रै आफ्नो ज्यान आफैँ लिँदै आएका छन्।
तर, किशोर–किशोरीमा आत्महत्याको दर निकै उच्च छ। १५–१९ वर्ष बीचका किशोरीहरूमा मृत्युको सबैभन्दा मुख्य कारण पनि आत्महत्या नै हो। १५–२९ वर्ष उमेर समूहका महिला र पुरुष दुवैमा मृत्युको दोस्रो प्रमुख कारण आत्महत्या हो।
विभिन्न अध्ययनअनुसार युवाहरू वृद्धभन्दा बढी आत्महत्याबारे सोच्छन् र त्यसको प्रयास पनि गर्छन्। अमेरिकाको सेन्टर फर डिजिट कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार १८–२९ वर्ष बीचका युवाले ३० वर्षमाथिका वयष्कहरूभन्दा धेरै गुणा बढी आत्महत्याको प्रयास गर्छन्। २० प्रतिशत किशोर–किशोरीले आत्महत्याबारे सोचविचार गर्छन्। ५–८ प्रतिशतले वास्तवमा ज्यान दिने प्रयास नै गर्छन्। यो निकै ठूलो संख्या हो। यसमा पनि केटा र केटीमा ठूलो फरक छ। केटीहरूमा १० प्रतिशतभन्दा बढी र केटाहरूमा करिब पाँच प्रतिशतले आत्महत्या प्रयास गर्छन्।
सबैभन्दा डरलाग्दो तथ्यांक त अझ के हो भने गएको ५० वर्षमा युवामा आत्महत्याको दर तीन गुणाले बढेको छ। कुनै–कुनै देशमा युवाहरूको आत्महत्याको दर अरू उमेर समूहमा भन्दा अत्यधिक बढी छ। जसमा नेपाल पनि पर्न सक्छ।
अमेरिकामा गरिएको अनुसन्धानअनुसार कक्षा ९–१२ का विद्यार्थी अर्थात्, १४–१८ वर्ष उमेर समूहका विद्यार्थीमा आत्महत्या गर्ने प्रवृत्ति बढी हुन्छ। उनीहरू यसप्रति आकर्षित हुन पुग्छन्। यो समूहका करिब १७ प्रतिशतले आत्महत्याबारे विचार गरेको बताएका छन् भने झण्डै १४ प्रतिशतले योजनै बनाएको स्विकारेका छन्। आठ प्रतिशतले वास्तवमै प्रयास गरेका छन्। अमेरिकामा प्रत्येक ३० मध्ये एक अर्थात् कक्षाको एउटा सदस्य आत्महत्या प्रयासबाट घाइते भएर उपचार गराउँछन्।
आत्महत्यामा लैंगिक भेद
१९ औँ शताब्दीदेखि नै आत्महत्याको दरमा महिला र पुरुषबीच फरक देखिँदै आएको छ। सन् १८३८ मा फ्रान्सको तथ्यांकअनुसार तीन पुरुषबराबर एक महिलाले आत्महत्या गर्थे। यो तथ्यांक युरोपमा आज पनि उस्तै छ। पूर्व सोभियत संघमा आबद्ध देशमा भने महिलाको तुलनामा पाँचदेखि आठ गुणा बढी पुरुषले आत्महत्या गर्छन्।
अमेरिकामा आत्महत्याको योजना महिलाले बढी बनाउँछन् तर ज्यान गुमाउनेमध्ये ८० प्रतिशत चाहिँ पुरुष हुन्छन्। किन ? किनभने, पुरुषले बढी हिंसात्मक उपाय अपनाउँछन्। त्यसैले प्रयास कम गरे पनि उनीहरूको सफलताको दर महिलाभन्दा बढी हुन्छ। पुरुषबीच सबैभन्दा प्रचलित आत्महत्याको उपाय गोली प्रहार हो। महिलामा भने विषसेवन बढी प्रचलित छ।
किन बढिरहेछ किशोरीहरूको आत्महत्या ?
केटीहरूमा भन्दा केटाहरूमा झण्डै चार गुणा बढी आत्महत्या दर छ। तर २००७ यता यसमा परिवर्तन हुँदै छ। केटीहरूमा आत्महत्याको दर तीव्र गतिमा बढिरहेको छ। किन त ?
यसको कुनै एउटा मात्रै कारण छैन।
सामाजिक बन्धन, मानसिक स्वास्थ्य, सामाजिक सञ्जालको असर, पढाइको दबाब, आर्थिक समस्या, कुलतजस्ता कारण यसका लागि जिम्मेवार हुन सक्छन्।
सामाजिक नियम र अपेक्षाको पनि यसमा ठूलो भूमिका छ। ‘खास–खास सामाजिक नियमले महिलाहरूको मानसिक स्वास्थ्यमा ठूलो असर गरिरहेको हुन्छ। त्यसबाहेक केही हर्मोन पनि यसका लागि जिम्मेवार हुन्छन्,’ बाल तथा किशोर मनोवेत्ता बारबरा रोबल्स भन्छिन्। महिलामाथि चरम दमन हुने मुलुकहरूमा किशोरी आत्महत्या दर उच्च छ। भारत, नेपालजस्ता देशमा बालविवाह र दाइजोजस्ता विषयले उनीहरूमाथि थप दबाब सिर्जना गर्छ।
समग्रमा भने किशोर–किशोरीको सामाजिकीकरणको अभ्यास जिम्मेवार देखिन्छ। सामाजिकीकरण त्यो प्रक्रिया हो, जसमा कलिला केटाकेटीलाई अभिभावक, शिक्षक र अरूले देशको नागरिक र समाजको सदस्य बन्न सघाउँछन्। हामीकहाँ सामाजिकीकरणका तरिका अत्यन्त विषाक्त छन्। हाम्रा अगुवाले केटाकेटीलाई कसरी बाटो देखाउँछन् त ? उनीहरू सीधा–सीधा हिंसात्मक उपाय अपनाउँछन्। पिटाइ, गाली, धम्कीको प्रयोग गर्छन्, बेइज्जत गर्ने, एक्ल्याउने र उक्साउने गर्छन्। यसले उनीहरूलाई पीडाको बन्दी बनाउँछ र नकारात्मक व्यवहार गर्न उक्साउँछ।
उदाहरणका लागि, एउटा बालक वा बालिका किशोरवयमा प्रवेश गर्दै गर्दा समाजसँग परिचित हुन उसले स्कुलमा ¥यागिङदेखि सार्वजनिक सवारीमा यौन दुव्र्यवहारसम्म झेल्नुपर्ने हुन्छ। यो क्रममा उनीहरूले अनेक शारीरिक र मानसिक दुव्र्यवहार सहनुपर्छ। यसले दुव्र्यसन, डिप्रेसन र आत्महत्या दर बढाउँछ।
केही अनुसन्धानकर्ताले किशोरीहरूमा आत्महत्या बढ्नुको दोष सामाजिक सञ्जाललाई दिएका छन्। केटाहरूभन्दा केटीहरूले बढी सामाजिक सञ्जाल प्रयोग गर्छन्। र, यसको नकारात्मक असरबाट पनि बढी प्रभावित हुन्छन्। तर, सामाजिक सञ्जाल एउटा कारण मात्र हो।
डिप्रेसनः आत्महत्याको प्रमुख कारक
आत्महत्यालाई बुझ्न मानसिक स्वास्थ्यलाई बुझ्न जरुरी छ। आत्महत्याको प्रमुख कारण भनेको मानसिक स्वास्थ्य नै हो। आत्महत्या गरेका ९० प्रतिशतभन्दा बढी व्यक्तिमा डिप्रेसनको समस्या देखिएको हुन्छ। त्यसैले अभिभावक, शिक्षक, चिकित्सक र समग्रमा समाजले नै किशोर–किशोरीको मानसिक स्वास्थ्यबारे ख्याल गर्न जरुरी छ।
वयस्कका लागि महŒवहीनजस्ता लाग्ने कारणले पनि किशोर–किशोरीलाई अन्धकारतर्फ धकेलिरहेको हुन्छ। सामाजिक सञ्जालमा अरूको भन्दा कम ध्यान प्राप्त गर्नु, परीक्षामा असफल हुनुजस्ता झिनामसिना कारणले पनि उनीहरूमा एन्जाइटीको समस्या उत्पन्न गरिरहेको हुन सक्छ। अझ अभिभावकले उनीहरूको यो संवेदनशीलतालाई नबुझिदिँदा उनीहरू एक्लिने, अन्तर्मुखी हुने र निराशाको आहालमा डुब्ने सम्भावना बढी हुन्छ।
आत्महत्या किन ?
मानिसले किन आत्महत्याको निर्णय लिन्छ ? यो बुझ्न कठिन छ। यसका अनेकौँ पक्ष छन्। आफूलाई मार्ने निर्णय प्रायः आवेगमा गरिन्छ। आत्महत्या प्रयास गर्ने चिनियाँ महिलामा गरिएको एउटा अध्ययनले के देखाउँछ भने ६० प्रतिशतले यस्तो विचार आएको दुई घण्टाभित्रै आत्महत्याको प्रयास गरिसक्छन्। १० प्रतिशतले एक मिनेटभित्रै यस्तो भयानक निर्णय गर्छन्। तर, यस्तो निर्णय लिनासाथ आत्महत्या टार्न सके उक्त व्यक्तिले दोहो¥याएर प्रयास गर्ने सम्भावना अत्यन्त कम हुन्छ। त्यसैले यो समस्यालाई रोक्न सबैको प्रयास जरुरी छ।
आत्महत्यामा सामाजिक कारण जिम्मेवार हुन्छ भनेर सबैभन्दा पहिले तर्क गर्ने व्यक्ति थिए, इमाइल दुर्खिम। तर, विश्वभरको तथ्यांक हेर्दा एउटै मात्र कारणलाई जिम्मेवार ठह¥याउन सकिने अवस्था छैन। भारतजस्ता विकासशील राष्ट्रमा आत्महत्याको दर निकै बढी छ। जहाँ प्रायः सामाजिक कारणलाई जिम्मेवार ठान्ने गरिन्छ। आत्महत्या गर्नेमध्ये आधा जति संख्या त भारत र चीनका मात्रै छन्। तर, अमेरिकाजस्तो विकसित देशमा पनि आत्महत्याको दर बढिरहेको छ तर क्यानडामा भने कम छ। किन ? बेलायतमा भन्दा फ्रान्समा दोब्बरले किन आत्महत्या गर्छन् ? सम्पन्न र सुखी अस्ट्रेलियामा भन्दा वरिपरिका टापूहरूमा किन कम आत्महत्या दर छ ?
दुर्खिमका अनुसार सामाजिक, आर्थिक, धार्मिक र सांस्कृतिक पक्षहरूको जटिल अन्तर्सम्बन्धका कारण यस्तो फरक देखिन्छ। उदाहरणका लागि, सन् २००७–००८ को आर्थिक संकटका कारण अमेरिका र पश्चिम युरोपमा १० हजार अतिरिक्त आत्महत्याका घटना भए। मुलुकको आर्थिक र राजनीतिक संकट टर्दै गए आत्महत्या कम हुँदै जान्छ। मुस्लिम राष्ट्रहरूमा आधिकारिक आत्महत्या दर निकै कम छ। किनभने, त्यहाँ यसलाई ठूलो अपराध मानिन्छ र त्यसको वास्तविक संख्या पनि खुलाइँदैन। चीनमा ग्रामीण क्षेत्रमा आत्महत्या दर बढी छ, किनभने विषालु कीटनाशक औषधिमा उनीहरूको सहज पहुँच छ। अमेरिकामा सजिलै बन्दुक पाइने हुनाले आत्महत्या गर्न सजिलो छ। अर्थात्, आत्महत्याका साधनमा सहज पहुँच नदिए यसलाई कम गर्न सकिन्छ। एउटै देशभित्र पनि जातीय समुदाय, सांस्कृतिक समूहबीच यो दरमा फरक पाइन्छ।
आत्महत्या संक्रामक पनि हुन्छ। अर्थात्, कुनै चर्चित व्यक्तिले अपनाएको तरिकाबाट आत्महत्या गर्नेहरूको संख्या बढ्न थाल्छ। त्यसैले यस्ता विषयमा सञ्चारमाध्यमले सतर्कता अपनाउनुपर्छ।
दुर्खिमका अनुसार आत्महत्या व्यक्तिगत पीडाको मात्र होइन, सामूहिक असफलताको अभिव्यक्ति पनि हो। कसैलाई यो समाजमा बाँच्न साह्रै मुस्किल भइरहेको छ भने, हामी सबै त्यसका लागि दोषी हुन सक्छौँ। त्यसैले आफूसँगै बाँचिरहेका मानिसको जिन्दगीको बारेमा हामी सबैले चासो लिन जरुरी छ। यसका लागि राज्य सञ्चालकदेखि व्यक्तिसम्मले प्रयास गर्नु आवश्यक छ।
–एजेन्सीको सहयोगमा कवि आचार्य