काठमाडौँ–नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौँमा धारिलो हतियारले आक्रमण भएको छ । काठमाडौँको भृकुटीमण्डपस्थित रिपोर्टर्स् क्लबको कार्यक्रमबाट बाहिरिएका यादव गाडी चढ्न लाग्दा धारिलो हतियारबाट आक्रमण भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए।
उनका अनुसार आक्रमण गर्ने नुवाकोटाको विदुर नगरपालिका–७ बस्ने ४७ वर्षीय श्याम सापकोटालाई आक्रमणमा प्रयोग भएको हतियारसहित प्रहरीले नियन्त्रणमा लिएको छ । धारिलो हतियारबाट यादवको टाउकाको पछाडिको भागमामा गहिरो चोट लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सो आक्रमणको कारण खुल्न सकेको छैन । उक्त घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
कांग्रेसद्वारा निन्दा
नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवमाथि आज भएको साङ्घातिक हमलालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिई घटनाको निन्दा गरेको छ । घटनाको कांग्रेसले घोर निन्दा र भत्र्सना गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । रिपोर्टर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा भएको आक्रमणपछि घाइते यादवको अहिले काठमाडौँको ट्रमा सेन्टरमा उपचार भइरहेको पनि उनले बताए ।
यादवमाथि आक्रमण गर्ने व्यक्ति र त्यसको पछि हुनसक्ने जो कोही व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरेर कडाभन्दा कडा कारबाही गर्न कांग्रेसले सरकारसँग जोडदार माग गरेको छ । कांग्रेसले सह–महामन्त्री महेन्द्र यादवको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।