काठमाडौँ– ‘देश र जनताको पक्षमा सङ्घर्ष गर्ने पार्टीमा बेलाबेलामा स्वाभाविक रुपमा अन्तरसङ्घर्ष भइहाल्छ, तर त्यसलाई मिलाउनुपर्छ । मैले बाबुराम (बाबुराम भट्टराई)जी र प्रचण्डजीका बीचमा अन्तरविरोध हुँदा धेरै पटक मिलाएको छु’, करिब एक दशकअघि सञ्चारकर्मीसँगको अनौपचारिक कुराकानीमा सीता दाहालले भनेकी थिइन् । पार्टीभित्र देखिएका विवाद समाधान गर्ने उनै दाहालले आज भौतिक संसार छाडेकी छिन्।
निको नहुने जटिल प्रकारको पार्किन्सन्स रोगबाट लामो समयदेखि पीडित भएकी सीताको आज बिहान ८ः३३ बजे निधन भएको उनको उपचारमा संलग्न प्रा डा युवराज शर्माले जानकारी दिएका थिए । खासगरी माओवादी पार्टीभित्र अध्यक्षको श्रीमतीभन्दा पनि अभिभावकीय भूमिका निर्वाह गरी सीताले सङ्कटको समयमा माओवादीलाई जोगाएको स्वयम पार्टीका नेता तथा कार्यकर्ता स्मरण गर्छन् ।
सञ्चारकर्मीसँगको एक भेटमा सीताले भनेकी थिइन्, ‘पार्टीभित्र अन्तरसङ्घर्ष चल्दा प्रचण्डजीलाई उचाल्ने मान्छे पनि थिए, बाबुरामजीलाई उचाल्ने मान्छे पनि थिए । मैले दुवै नेतालाई खराब मान्छेहरूबाट टाढा बस्न सुझाव दिन्थे ।’
तत्कालीन नेकपा (माओवादी) भित्रका अन्तरविरोध समाधान गर्न उहाँले खेलेको भूमिका यही धारणाबाट पनि स्पष्ट हुन जान्छ । लामो समय डा भट्टराईको सचिवालयमा स्वकीय सचिवको भूमिकामा रहेका विश्वदीप पाण्डेका अनुसार मुलुकमा भएको राजनीतिक परिवर्तनमा उनले खेलेको भूमिका महत्वपूर्ण छ ।
‘यो परिवर्तनमा तपाईंको योगदान प्रत्यक्ष देख्नेले मात्रै थाहा पाएको छ । सधैँ पर्दा पछाडि रहेर आफ्नो भूमिका पूरा गर्नुभयो । तपाईंको महाप्रस्थानमा निकै दुःखी छु । तपाईंको अभाव महसुस भइरहनेछ’, सीता दाहालको सम्झनामा पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही वर्षदेखि तपाईंलाई हेरेरै भए पनि कैयौँ संवेदनाहरु भुलाइरहनुभएका कमरेड प्रचण्डलाई तपाईंको सबैभन्दा बढी अभाव खड्किनेछ । हार्दिक श्रद्धाञ्जली कमरेड सीता दाहाल । खुसी प्रकट गर्ने र सबभन्दा ज्यादा दुःखका तापमा सुस्ताउने चौतारी गुमाउनुभएका कमरेड प्रचण्डलगायत परिवारजनप्रति हार्दिक समवेदना ।’
‘पार्टीभित्र कुनै पनि अप्रिय निर्णय नगर्न सीताले पार्टी अध्यक्ष प्रचण्डलाई धेरै सचेत गराउनुभयो । माओवादी जनयुद्धको समयमा उहाँले खास अर्थमा आमाकै भूमिका निभाएको स्मरण गर्नुहुन्छ’, माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा । ‘हामी सबैको आमाकारुपमा उहाँले विशेष भूमिका निर्वाह गर्नुभएको थियो’, उनले भने।
जनयुद्धको समयमा भारतमा माओवादीका नेता तथा कार्यकर्ता धमाधम पक्राउ पर्न थालेका थिए । नेताहरु मातृका यादव, सुरेश आलेमगरलगायतका नेता पक्राउ परेकै दिन अध्यक्ष प्रचण्डले उनीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम थियो । यदि त्यसदिन अध्यक्ष प्रचण्डलाई दिल्लीको मङ्गलपुरीमा तय भएको भेटका लागि सीताले जान नरोकेको भए पक्राउ पर्ने सम्भावना रहेको माओवादी केन्द्रका सचिव शर्मा स्मरण गर्छन्।
माओवादीका नेताहरुका अनुसार सीता प्रचण्ड पत्नी मात्रै नभई सहयात्री र राजनीतिक सहयोद्धासमेत थिइन् । माध्यामिक विद्यालयको शिक्षकको जागिर छाडेर राजनीतिमा होमिएका पुष्पकमल दाहाललाई ‘प्रचण्ड’ बनाउने भूमिकामा सीताको महत्वपूर्ण योगदान रहेको बताउनेको सङ्ख्या ठूलो छ ।
प्रधानमन्त्री प्रचण्डको पारिवारिक जीवनमा पछिल्लो १० वर्षमा तेस्रो बज्रपात परेको छ । जेठी छोरी ज्ञानुको स्तन क्यान्सरबाट निधन भयो । छोरा प्रकाशको पनि छ वर्षपहिले निधन भयो । आज पत्नी सीताको पनि निधन भयो ।
विसं २०११ असार २१ गते कास्कीको हेम्जामा जन्मनुभएकी सीता आठ वर्षको हुँदा पारिवारसँगै चितवन बसाइँ सर्नुभएको थियो । औपचारिक शिक्षा नलिए पनि समाज, राजनीति र देश बुझ्ने सवालमा उनी पढेलेखेका महिलाभन्दा कम थिइनन् ।
विसं २०२६ वैशाखमा प्रचण्ड र सीताको मागी विवाह भएको थियो । उनले २०२८ सालमा कम्युनिष्ट पार्टीको सदस्य लिएकी थिइन् । चार सन्तानकी आमा सीतालाई मसिना छोराछोरी र श्रीमान्को भूमिगत राजनीतिलाई सन्तुलन कायम गर्नु तत्कालीन अवस्थामा चूनौतीपूर्ण जिम्मेवारी थियो ।
माओवादीका नेता तथा कार्यकर्ता र शुभेच्छुकका अनुसार सीताले आमा, श्रीमती, राजनीतिक सल्लाहकार तथा कार्यकर्ताका रुपमा पुर्याएको योगदानमा कुनै प्रश्न उठाउने ठाउँ छैन । खासगरी अप्ठ्यारो अवस्थामा नआत्तिन र खुसीमा नमात्तिन श्रीमान् प्रचण्डलाई सल्लाह दिने सल्लाहकारको भूमिकामा रहनुभएका सीताले बनारसदेखि रोल्पाको थवाङसम्मको वस्तुस्थितिका बारेमा राम्रो ज्ञान थियो ।
माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङका अनुसार जनयुद्धका समयमा सिङ्गो पार्टीको अभिभावकका रूपमा उनले पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गरेकी थिइन्।
विसं २०२८ देखि नै कम्युनिष्ट आन्दोलनमा आबद्ध उहाँ जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल माओवादी केन्द्रको सल्लाहकार थिइन्। सीता देशमा जनयुद्ध सुरुआत भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रियरूपमा सहभागी भएकी थिइन्।
महासचिव गुरुङका अनुसार सीताले नेपालको कम्युनिष्ट आन्दोलनमा अत्यन्त महत्वपूर्ण र अविस्मरणीय योगदान पुर्याएकी छिन् । सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवं असीमित समर्पण दाहालका विशेषता रहेको गुरुङ स्मरण गर्छिन् । पार्टी पङ्क्तिले अभिभावकका रुपमा लिने सीता कुनै पनि सार्वजनिक विवादमा भने मुछिइनन्।
लेखक तथा कवि सुमिना सीतालाई प्रधानमन्त्री प्रचण्डको पत्नीका रुपमा मात्रै नभएर परिवर्तनको सानो हिस्सेदारीका रुपमा इतिहासले सधैँ स्मरण गर्नुपर्ने बताउँछिन् । ‘पछिल्लो अवधि देशमा जे जति सामाजिक, राजनैतिक र सांस्कृतिक परिवर्तनहरू भए ती १० वर्षे जनयुद्धका उपलब्धि हुन् भन्ने सत्य ढाकेर नढाकिने सत्य हो । त्यो उपलब्धिमा सीता दाहालको भूमिका पनि सायद कतै भेटिन्छ कि ?’, उनले भनिन् ।
माओवादीका नेताहरुका अनुसार २०६१ सालमा रोल्पाको फुन्टिवाङमा भएको बैठकपछि पार्टीभित्र चर्को विवाद भएको थियो । त्यसबेला सीता उपचारका क्रममा भारतमा थिइन् । पार्टीभित्र विवाद बढेको थाहा पाएपछि उनले रोल्पा पुगेर प्रचण्ड र बाबुराम दुवैलाई सम्झाएकी थिइन्।
‘तपाईंहरु सानातिना विषयमा विवाद गरेर नबस्नुस्, तत्काल मिलाइहाल्नुस्’, सीताले भनेकी थिइन्, ‘जनताको रगत बगिसकेको छ । तपाईंहरुको ताल के हो यस्तो रु यस्तै हो भने तपाईंहरुलाई जनताले छाड्दैनन् ।’
यस्तै, सल्लाहका कारण पार्टीभित्रका अनेकन सङ्कट समाधान भएको माओवादीका नेताहरुको भनाइ छ । प्रधानमन्त्री पत्नी भए पनि उहाँले बालुवाटारमा बसेर अनावश्यक चासो लिएको तथा विवादमा पर्नुभएको थिएन । कवि अर्जुन पराजुलीले सोही विषयलाई केन्द्रमा राखेर एउटा कविता लेखेका छन् ।
श्रीमान् चलाइनौ तिमीले
छोराछोरी चलाइनौ
न आँखा चलायौ, न नाक चलायौ
न रवाफ न धाक चलायौ
न हात चलायौ तिमीले
न मुख चलायौ
बालुवाटारमा बसेर
न बालुवाटार चलायौ
कसैलाई नचलाईकन आज
तिमी आफैँ चल्यौ, सलाम छ तिमीलाई ।
पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन चाहने उहाँको स्वभाव थियो । माओवादीभित्र मात्रै नभई विसं २०७४ सालमा तत्कालीन नेकपा (एमाले) सँग पार्टी एकता गर्दा पनि सीताले खुसी व्यक्त गर्दै कम्युनिष्ट जनमतलाई थप एकीकृत गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेकी थिइन्।
जटिल प्रकारको पार्किन्सन्स रोगबाट पीडित सीताको उपचारका लागि अनेकन प्रयास गरिएको थियो । नेपाल, भारत र अमेरिकाका विभिन्न अस्पतालमा पनि उपचार भएको थियो ।