विष्णु सापकोटा, कलाकार।
कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिशृंखला ‘हर्के हल्दार’मा म दुई वटा भूमिकामा छु। एउटा ‘हर्के’, अर्को हर्केको बुबा ‘लाहुरे बा’।
राष्ट्रिय अपांग महासंघले आयोजना गरेको एउटा कार्यक्रममा मैले पूरै नेपाल घुम्ने मौका पाएको थिएँ। विभिन्न अपांग संस्थामा पुग्दा त्यहाँका बच्चाहरूलाई देख्दा ‘यस्ता बच्चाहरूलाई समाजमा सबैले चिन्नुपर्छ’ भन्ने लाग्यो। हर्के मेरो त्यही सोचले निर्माण गरेको पात्र हो।
टेलिसिरियलमा हर्के र उसको बुबा अर्थात् लाहुरे बाको भूमिका गरिरहेको छु। लाहुरे बा यस्तो पात्र हो, जसलाई गाउँमा सबैले सम्मान गर्छन्। आफूले भनेपछि सबै गाउँलेले टेर्नुपर्छ भन्ने उसलाई लाग्छ। हर्केलाई चाहिँ राम्रो÷नराम्रो केही थाहा हुँदैन। ऊ अलि सुस्त मनस्थिति भएको पात्र हो। जसले जे भन्यो उसैको कुरामा विश्वास गर्ने खालको।
मलाई हर्केबाट लाहुरे बा बन्न २० मिनेट लाग्छ। हर्के बन्न मैले आफ्नो वास्तविक उमेरभन्दा कम उमेरको देखिनुपर्छ। लाहुरे बा बन्दा आफूभन्दा बूढो देखिनुपर्ने हुन्छ। छोरा र बुबा जस्तो देखिन मेकअपको ठूलो हात छ। मेकअपले मलाई उमेरभन्दा सानो र बूढो देखाउँछ।
मेकअप सँगसँगै बोलीमा पनि भिन्नता ल्याउनुपर्छ। मेरा वास्तविक स्वर हर्के र लाहुरे बाभन्दा निकै फरक छ। विष्णु सापकोटा हुँदाको मेरो स्वर सुन्दा दर्शकलाई पत्याउन गाह्रो हुन्छ कि म नै हर्के र लाहुरे बा हो भनेर। हर्केजस्तै बोलेपछि मात्र पत्याउनुहुन्छ।
लाहुर बा बन्दा गालामा चाउरी, फुलेको दाह्री, दौरासुरुवाल, कोट, लौरो र कहिलेकाहीँ बन्दुक आवश्यक पर्छ। हर्के बन्दा पुलिसको जाँघे, सर्ट, स्वेटर र टोपी चाहिन्छ। टोपी हर्केलाई नभई हुँदैन। हर्केको फुर्का भएको रातो टोपी फेमस छ। उसको फुर्के टोपी दर्शकले खूब मन पराउँछन्। टोपीबिना हर्के अधुरो हुन्छ भने जुँगाबिना लाहुरे बा।
पहिला–पहिला दुई वटा भूमिकामा आफूलाई प्रस्तुत गर्दा गाह्रो हुन्थ्यो। निकै मेहनत गर्नुपथ्र्यो। टेक पनि धेरै लिइन्थ्यो। अहिले बानी परिसकेकाले त्यस्तो हुँदैन। एकै टेकमा ओके हुन्छ। आजभोलि सजिलै क्यारेक्टरमा आफूलाई ढाल्न थालेछु। क्यारेक्टरभित्र पसिसकेपछि सेटमा पनि म हर्के अथवा लाहुरे बा नै भएर कुरा गरिरहेको हुन्छु। त्यसै गरी बोल्छु। लामो डाइलग बोल्दा चाहिँ अलि गाह्रो हुन्छ। धेरै अभ्यास गर्नुपर्छ। सबैभन्दा धेरै आफ्नो आवाजमा ध्यान दिनुपर्छ।
लामो समयसम्म दर्शकले हर्के र लाहुरे बा एउटै मान्छे भएको थाहा पाउनुभएको रहेनछ। धेरै ठाउँमा कार्यक्रममा जाँदा म नै हर्के र लाहुरे बा हो भन्दा उहाँहरू विश्वास गर्नुहुन्थेन। कतिपयले लाहुरे बाभन्दा पनि हर्केको भूमिकालाई बढी मन पराउँछन्। मलाई हर्के भनेर चिन्छन्।