ललितपुर महानगरपालिकाले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई २० लाख सहयोग गरेको छ ।
शुक्रबार एक कार्यक्रम गर्दै महानगरले रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउन्डेसनलाई सो रकम हस्तान्तरण गरेको हो ।
महानगरका प्रमुख चिरीबाबु महर्जनले फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई चेक हस्तान्तरण गरे । चेक हस्तान्तरण अघि महर्जन र कट्टेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
नगरप्रमुख महर्जनले सरकारले गर्नुपर्ने काम व्यक्तिले गरेकोमा धुर्मुस र सुन्तलीको प्रसंशा गरे । उनले यो रंगशालाको निर्माणले नेपाललाई अन्तराष्ट्रिय स्तरको ख्याति दिने दाबी गरे ।
फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले हाल रंगशाला मैदानको ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको बताए । उनले आउँदो १४ महिनाभित्र रंगशाला निर्माणको काम पूर्ण रुपमा सम्पन्न हुने जानकारी दिए ।