‘एक दिनको होलीले वर्षभरि ऊर्जा दिन्छ’

राम्रो अनलाइन     २२ फागुन २०७९, सोमबार
‘एक दिनको होलीले वर्षभरि ऊर्जा दिन्छ’

करिश्मा मानन्धर, अभिनेत्री

होली मलाई असाध्यै मन पर्ने चाड हो । मैले होली कार्यक्रम आयोजना गर्न थालेको तीन दशक पूरा भइसक्यो । फिल्म क्षेत्रका साथीहरूलाई समेटेर खेल्न थालेको पनि दुई दशक भयो । मैले घरमा होली सुरु गर्दाताका निकै कम होली कार्यक्रम हुन्थे । सुरुमा केही साथी जम्मा गरेर होली खेलिन्थ्यो । बिस्तारै फिल्म उद्योग बढ्दै गयो । साथीहरू पनि बढ्न थाले । 

होली खुशी खोज्ने बहाना हो जस्तो लाग्छ । त्यसै खुशीका लागि म हरेक वर्ष होली कार्यक्रम आयोजना गर्छु । जीवनमा खुशी हुन ठूलठूला कुरा नै हुनुपर्छ भन्ने छैन । स–साना कुरामा पनि रमाउन सकिन्छ । खुशी हुन सकिन्छ । त्यसैले मेरो लागि होली सकारात्मक ऊर्जा दिने चाड हो । एक दिनको होलीले वर्षभरि नै ऊर्जा दिन्छ ।  

मलाई मन पर्ने रङ सेतो हो । यो रङ मलाई विशेष लाग्छ । किनभने, सेतो रङ तेजिलो र चम्किलो हुन्छ । सानो दाग पनि यसमा प्रस्ट देखिन्छ । जसले उज्यालोको संकेत गर्छ । म आफ्नो मनलाई सधैँ सेतो रङसँग दाज्छु । सेतो रङ शुद्धताको प्रतीक हो । मन पनि रङजस्तै शुद्ध राख्नुपर्छ । मन शुद्ध भए जीवन सार्थक र खुशी हुन्छ । सरल हुन्छ । रङले हरेकको जीवनमा खुशी ल्याउँछ । खुशीले जीवनलाई अर्थपूर्ण बनाइदिन्छ । मलाई जाडो मन पर्दैन । गर्मी मलाई रमाइलो लाग्छ । होलीसँगै गर्मी सुरु हुन्छ । त्यसैले पनि मलाई होली मन पर्छ । 
होली साथीभाइलाई समेट्ने चाड हो । होलीको कार्यक्रममा बसुन्धरा भुसाल  दिदीको पुस्तादेखि साम्राज्ञीको पुस्तासम्मलाई समेट्ने कोसिस गर्छु । कामबाट फुर्सद निकालेर रमाइलो गर्ने मौसम हो यो । होलीको दिन मलाई एकदमै रमाइलो गर्नुपर्छ । घरमा भइनँ भने आफू जहाँ छु त्यहीँ रमाइलो गर्छु । होली यसरी नै मनाउँछु भनेर योजना त बनाएकी थिइनँ । तर, मनाउँदै जाँदा सबैलाई बोलाइयो । बोलाउँदै जाँदा चलन बस्यो । सुरुमा रमाइलोका लागि खेल्ने होली अहिले त हाम्रो परिवारको ब्रान्ड जस्तो बनिसकेको छ ।

अहिलेको नेपाली फिल्म उद्योग पहिलाको जस्तो छैन । सबै कलाकार काममा व्यस्त हुन्छन् । काम र बेफुर्सदीले नजिकका साथी पनि टाढा भएका छन् । नयाँ र पुराना साथीहरूसँग भेटघाट र चिनजान पातलिन थालेको छ । होली कार्यक्रम भेटघाटको माध्यम पनि हो ।

होली आउनेबित्तिकै मलाई निकै रमाइलो लाग्न थाल्छ । केही समयअघिदेखि नै तयारीमा व्यस्त हुन्छुु । निम्ताको लागि लिस्ट बनाउन थाल्छु । कलाकारहरूलाई मात्रै होइन पत्रकार र राजनीतिक क्षेत्रका केही व्यक्तित्वलाई पनि समेट्छु । फिल्म क्षेत्रमा टेक्निसियन, क्यामेरा पर्सन, मेकअप आर्टिस्ट, निर्माता, निर्देशक सबैलाई समेटेर लिस्ट बनाउँछौँ । सबैले एकअर्कासँग रमाएर होली खेल्नुहुन्छ, त्यसैमा मलाई खुशी लाग्छ ।

नेपाली फिल्म उद्योग मेरो परिवार हो । अहिले परिवार बिस्तारै ठूलो बन्दै गइरहेको छ । म पुराना कलाकार सबैलाई चिन्छु । कतिपय नयाँ कलाकारलाई चिन्दिनँ । यही होलीले मलाई धेरै नयाँ कलाकार चिनाइदिन्छ । मेरो फिल्मी परिवारसँग जमघट हुन्छ । परिवारका सदस्य जति बढ्छन् । मेरो खुुशी पनि उति नै बढ्छ । त्यो दिन मेरो घरमा सबै जना सद्भाव राखेर आउनुहुन्छ । व्यस्त हुँदाहुँदै पनि कार्यक्रमका लागि समय छुट्याउँछन् । त्यही मेरा लागि ठूलो कुरा हो । 

होलीको कार्यक्रम करिब ११ बजेबाट सुरु हुन्छ । बेलुका ५ बजेसम्मै चल्छ । मान्छेहरूको घुइँचो हुन्छ । नाचिन्छ, गाइन्छ । दिउँसो तन्नेरीहरूले माहौल तताउँछन् । बेलुका भने अलि परिपक्व खालका व्यक्तित्वहरूको जमघट हुन्छ । दिनभरिमा चार÷पाँच सय जना जम्मा हुन्छन् । विशेष गरी कलाकार आउने भएकाले उनीहरूलाई हेर्न आउनेहरू पनि उत्तिकै हुन्छन् । होलीको दिन मेरो घरअगाडिको बाटो जाम नै हुन्छ । त्यो दिन मेरो श्रीमान् विनोदको जन्मदिन पर्छ । त्यसैले पनि त्यो दिन मेरा लागि स्पेसल हुन्छ । ‘होली पार्टी’ र ‘बर्थ डे पार्टी’ एकैचोटि मनाइन्छ ।

घरमा होली आयोजना गर्ने काम सजिलो छ । तर, उत्तिकै चुनौतीपूर्ण पनि छ । कहिलेकाहीँ अप्रिय घटना पनि हुनसक्छ । त्यसको पूरै जिम्मेवारी आफैँले लिनुपर्छ । त्यसैले त्यस्ता अप्रिय घटना नहोस् भनेर निकै सचेत हुन्छु । जिम्मेवारीपूर्ण ढंगले काम गर्ने गरेकी छु । केही समस्या आयो भने स्थानीय पुलिसलाई खबर गर्ने गर्छु । 
हामी प्रायः रङले मात्र होली खेल्छाैँ । पानीले खेल्ने गरेका छैनौँ । लोला र पानीसँग होली खेलेको मलाई मन पर्दैन । होलीलाई सभ्य बनाउन म उत्तिकै लागिपरेकी छु । त्यसका लागि कोसिस गरिरहेकी हुन्छु । 

पुराना र नयाँ कलाकारबीच परिचय हुन्छ । त्यही नै यसको मुख्य उद्देश्य हो । त्यो दिन सबै आ–आफ्नै तालमा व्यस्त हुन्छन् । सबैको आ–आफ्नै गु्रप हुन्छ । वर्षौसम्म भेट नभएकाहरू पनि त्यो दिन भेट्ने मौका पाउँछन् । दंग पर्छन् । त्यो मित्रता र आत्मीयताले घरको माहौललाई नै आनन्दित बनाउँछ । 

पहिला–पहिला होलीमा दुई वटा खसी ढाल्थेँ । भोज लगाउँथेँ । दिनभरि होली खेलर थाकेका साथीहरूलाई खसीको मासुको सुुप खुवाउँथेँ । अहिले त दुई वटा खसीले पुग्दैन । अहिले क्याटरिङलाई नै पूरा जिम्मा दिने गरेकी छु । अहिलेको होली पहिलाको जस्तो खर्चले धानिँदैन । स्पोन्सर नै चाहिने भएको छ । आजभोलि त विभिन्न ब्रान्डका स्पोन्सर मेरोमा आउने गरेका छन् । 

होलीको दिन कोही पनि अँध्यारो अनुहार लिएर होली खेल्न आउँदैन । नक्कली वा सक्कली जस्तो भए पनि मुखमा मुस्कान लिएर आउँछन् । त्यो नै मेरो लागि विशेष बन्छ । त्यसैले त अहिले सबै कलाकर्मीमा ‘होलीको दिन करिश्माको घरमा एकै छिन भए नि पुग्नैपर्छ है’ भन्ने मान्यता बसिसकेको छ । 


 

प्रतिक्रिया