सामान्य मान्छेजस्तै बलिउडका सुपरस्टारका पनि केही अन्धविश्वास छन्। उनीहरू बेलाबेला अन्धविश्वासपूर्ण व्यवहार प्रदर्शन गर्छन्।
अमिताभ बच्चन
एकताका बलिउडका महानायक अमिताभ बच्चन बेरोजगार भएका थिए। उनी आर्थिक संकटबाट गुज्रिरहेका बेला ज्योतिषले उनलाई केही औँठी लगाउने सल्लाह दिए। औँठी लगाउँदा आफ्नो आर्थिक स्थितिमा केही सुधार भएपछि त्यसप्रति उनको विश्वास झन् बढ्यो। कहिलेकाहीँ उनले दुवै हातमा घडी लगाउने गरेका छन्। यो पनि उनको एक किसिमको अन्धविश्वास हो।
अमिताभ भारतीय क्रिकेट टिमको खेल कहिल्यै पनि लाइभ हेर्दैनन्। आफूले म्याच हेरे टिमले हार्ने उनको अन्धविश्वास छ। त्यसैले भारतको खेल भएको दिन उनको परिवार एउटा कोठामा बसेर म्याच हेरिरहेको हुन्छ भने उनी अर्को कोठामा बसेर स्कोर सोधिरहेका हुन्छन्।
शाहरुख खान
बलिउडकर्मीका अनुसार बलिउडका ‘बादशाह’ शाहरुख खान पहिला अन्धविश्वासी थिएनन्। तर, आईपीएलताका उनको टिमले लगातार म्याच हारेपछि एक जनाले उनलाई बुटी लगाउने सल्लाह दिए। त्यहाँदेखि उनले बुटी लगाउन थालेका हुन्।
यसबाहेक उनी ‘ट्रिपल फाइभ’लाई आफ्नो लकी नम्बर ठान्छन्। उनका धेरैजसो कारमा यही नम्बर छ। उनको टेलिफोन÷मोबाइल नम्बरका अन्त्यमा पनि यही नम्बर हुन्छ। यति मात्र नभई उनका सहयोगी कर्मचारीको मोबाइल नम्बरको अन्त्यमा पनि ट्रिपल फाइभ नै हुन्छ।
सलमान खान
एकताका बलिउडका ‘भाइजान’ सलमान खानको अभिनय करिअरको गतिमा अवरोध आएको थियो। त्यति बेला उनका बुबा सलिम खानले उनलाई नीलो रङको पत्थर भएको ब्रासलेट दिएका थिए। त्यो ब्रासलेट लगाएपछि सलमानका फिल्म हिट हुन थाले। त्यसपछि उनले कहिल्यै पनि हातबाट त्यो ब्रासलेट झिकेनन्। सधैँ लगाइरहे। उनको त्यो ब्रासलेट फेसन स्टेटमेन्ट बन्यो। सलमानका प्रशंसकले त्यस्तै गहना हातमा लगाउन थाले।
अक्षय कुमार
बलिउडका ‘खेलाडी’ अक्षय कुमारको अन्धविश्वास अनौठो छ। फिल्म रिलिज हुँदा प्रायः कलाकार नर्भस हुन्छन्। अक्षय पनि हुन्छन्। त्यसैले उनी आफ्नो फिल्म रिलिज हुनुअघि नै विदेशिन्छन्। आफू भारतमा भए फिल्मले राम्रो व्यापार नगर्ने उनलाई लाग्छ।
बिपाशा बसु
बलिउडका अन्धविश्वासी स्टारको लिस्टमा बिपाशा बसुको नाम पनि आउँछ। मोडलिङबाट अभिनयमा प्रवेश गरेकी उनले फिल्म ‘अजनबी’ बाट बलिउडमा डेब्यू गरेकी हुन्। उनले थुप्रै हरर फिल्ममा काम गरेकी छिन्। उनी हरेक शनिबार कागती–खुर्सानी किन्छिन्, अनि घर र कारमा झुन्ड्याउँछिन्। आफूलाई कसैको नजर नलागोस् भनेर उनले यस्तो गरेकी हुन्। एक अन्तर्वार्तामा उनले यो उपाय आफ्नी आमाबाट सिकेको बताएकी थिइन्।
ऋतिक रोशन
अभिनेता ऋतिक रोशनका हातमा छ वटा औँला छन्। उनलाई चिकित्सकले त्यो छैटौँ औँला अपेरसन गरेर फाल्ने सल्लाह दिएका थिए। तर, ऋतिक मानेनन्। उनी त्यसलाई लकी ठान्छन्। यसबाहेक उनले मेकअप गर्दा वर्षौंदेखि एउटै ऐना प्रयोग गरिरहेका छन्। उनको मेकअपम्यानले त्यो ऐना जतनले राख्ने गरेका छन्। त्यसलाई ऋतिक लकी ऐना मान्छन्।
साथै, उनका धेरैजसो फिल्मको नाम अंग्रेजीको ‘के’ अक्षरबाट सुरु हुन्छ। ‘कहो न प्यार है’, ‘कृष’, ‘कोई मिल गया’लगायत उनका थुप्रै फिल्मको नाम ‘के’बाट आउँछ। ‘के’ अक्षरका फिल्म सफल हुने ऋतिकको विश्वास छ।
करण जौहर
बलिउडका निर्माता÷निर्देशक करण जौहर र अभिनेत्री काजोलबीच गहिरो मित्रता छ। करण काजोललाई आफ्नो ‘लकी चार्म’ मान्छन्। जुन फिल्ममा काजोल हुन्छे, त्यो हिट हुने उनको मान्यता छ। यति मात्र नभई फिल्मको सुटिङका क्रममा आफू सेटमा लड्दा फिल्म सुपरहिट हुनेमा करण ढुक्क हुने काजोलले एक अन्तर्वार्तामा बताएकी थिइन्।