प्रधानमन्त्री देउवाद्वारा पौडेललाई बधाई

राम्रो अनलाइन     २९ मंसिर २०७९, बिहिबार
प्रधानमन्त्री देउवाद्वारा पौडेललाई बधाई

काठमाडौँ–प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल जापान सरकारद्वारा दिइने राजकीय सम्मानबाट आज यहाँ विभूषित भएपछि आयोजित कार्यक्रममा सहभागी भए । सो अवसरमा प्रधानमन्त्री देउवाले वरिष्ठ नेता पौडेललाई जापान सरकारले प्रदान गरेको ‘अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित भएकोमा बधाई ज्ञापन गर्दै यो देशले नै पाएको अनुभूति भएको बताए । 

यस्तै वरिष्ठ नेता पौडेलले यो सम्मानका लागि जापानी जनता, सरकार, त्यहाँका सम्राट र राजदूतप्रति आभार व्यक्त गर्दै यो सम्मान नेपाल, नेपाली र कांग्रेसप्रतिको सम्मान भएको महसुस गरेको बताए ।  

सन् २०२० अप्रिल २९ मा घोषणा भएको उक्त सम्मान वरिष्ठ नेता पौडेललाई आज जापानी राजदूतको निवासमा विशेष कार्यक्रम गरी प्रदान गरिएको हो । वरिष्ठ नेता पौडेललाई विशेषतः पूर्वसभामुखको हैसियतमा दुई देशबीचका संसदीय  सम्पर्कलाई सक्रिय बनाउन र त्यसपछि नेपाल–जापान सम्बन्ध सुदृढमा गर्नुभएको योगदानका लागि विभूषित गरिएको जनाइएको छ । जापानी सम्राट मेइजीले सुरु गरेको सो राजकीय सम्मान  विश्वका विशिष्ट व्यक्तिलाई प्रदान गरिने सबैभन्दा उच्च सम्मान हो । 

वरिष्ठ नेता पौडेलले आफू सभामुख रहँदा सन् १९९९ मा नेपाल–जापानमैत्री संसदीय लिग स्थापना गर्नुका साथै त्यसको पहिलो अध्यक्षसमेत रहेका थिए । उनी सन् २०१७ सम्म लिगको नेतृत्वमा रहनुका साथै द्विपक्षीय सम्बन्धको प्रवद्र्धनमा पनि सक्रियरूपमा संलग्न थिए । 

सो कार्यक्रममा मन्त्रीहरु, नेपाली कांग्रेसका नेताहरु, सांसद एवं समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभावहरुको सहभागिता थियो । 

प्रतिक्रिया