घोषणापत्र, सिद्धान्त, निष्ठा र कार्यक्रमका आधारमा मतदान गर्नुहोस् : प्रमुख निर्वाचन आयुक्त थपलिया

राम्रो अनलाइन     २५ कात्तिक २०७९, शुक्रबार
घोषणापत्र, सिद्धान्त, निष्ठा र कार्यक्रमका आधारमा मतदान गर्नुहोस् : प्रमुख निर्वाचन आयुक्त थपलिया

चितवन–प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बहुदलीय व्यवस्थामा दलको घोषणापत्र, सिद्धान्त, निष्ठा र कार्यक्रमका आधारमा उम्मेदवारले मत माग्नुपर्ने बताएका छन् । 

गोरखापत्र संस्थानले आयोजना गरेको ‘निर्वाचन समाचार लेखन अनुशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै उनले सांसदको भूमिका नबुझी स्थानीय तहले गर्ने काम गर्छु भन्ने खालका आश्वासनका आधारमा मतदान गर्न नहुने बताए ।  थपलियाले अबका दिनमा मतदानस्थल र मतदान केन्द्रमा केन्द्रित भएर निर्वाचनमय समाचार सङ्कलन र सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गरे ।

‘हामी सबैले आफ्नो इमान्दारिता कायम गरौँ, निर्वाचन आचारसंहिताको कहीँकतै उल्लङ्घन नहोस्, उल्लङ्घनका समाचार बाहिर आउन्, नागरिकलाई शान्त दिमागले मतदानको वातावरण र कर्तव्यबोध गराउने खालका समाचार प्रवाह होस्’, प्रमुख आयुक्त थपलियाले भने, ‘पत्रकारहरूले आचारसंहिताको कति पालना गरेका छन्, त्यसको लेखाजोखा होस्, सबै दल र उम्मेदवारलाई समान पहुँच र स्थान दिइएको छ कि छैन भन्ने विषयलाई पनि आत्मसाथ गर्नुहोला ।’
 
उनले मतदानका दिन र मतगणनाको समाचार प्रवाह गर्दा प्रवद्र्धनात्मक तथा मतदातालाई तथ्य जाँचसहित सही सूचना दिनुपर्नेमा जोड दिए । प्रमुख आयुक्त थपलियाले आयोगले दिएको निर्देशनबमोजिम मतदाता शिक्षाको सञ्चालन, समावेशी, लैङ्गिक तथा अपाङ्गतामैत्री मतदान केन्द्र बनाउन निर्देशन एवं सुरक्षा प्रबन्धका विषयमा सुक्ष्मरूपमा रिपोर्टिङ हुनुपर्ने बताए । 

उनले निर्वाचन तयारीको लगभग अन्तिम चरणमा कर्मचारीको व्यवस्थापन गरेर मतपेटिकासहित मतदानस्थलतर्फ जाने प्रक्रिया भइरहेकाले मङ्सिर १ गते साँझसम्ममा सबै कर्मचारी र सामग्री मतदानस्थलमा पुगे/नपुगेको विषयमा रिपोर्टिङ हुनुपर्ने तथा पत्रकारले चाहेको सूचना उपलब्ध गराउन आयोग तत्पर रहेको स्पष्ट गरे ।
 
कार्यक्रममा गोरखापत्र संस्थाका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले सानो गलत सूचनाले निर्वाचन आयोगको संवेदनशील प्रक्रिया र मतदाताको मनोविज्ञान दिग्भ्रमित पार्न सक्ने भएकाले समाचार सम्प्रेषण गर्दा संवेदनशील हुनुपर्ने बताए ।
 
सो अवसरमा चितवनका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापा र प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जिल्लामा निर्वाचनका तयारी, आचारसंहिताको पालनालगायतका विषयमा प्रकाश पारेका थिए ।
 
कार्यक्रममा गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्र राज्यको मिडिया भएकाले स्वच्छ, निष्पक्ष र भयरहित वातावरण सिर्जना गर्ने दायित्व आफ्नो पनि रहेको बताए ।
 
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका गोरखापत्र संस्थानका समाचारदाता सहभागी एकदिने अनुशिक्षण कार्यक्रममा ६० जनाको सहभागिता रहेको छ । संस्थानले अन्य प्रदेशमा यही खालको अनुशिक्षण सम्पन्न गरिसकेको छ । 
 

प्रतिक्रिया