काठमाडौं– कमै मानिसको जीवन सङ्घर्ष विनाको हुन्छ । समस्या सबैको अगाडि आउँछ । त्यसको सामना कसरी गर्छ त्यसले फरक पार्छ । जसले समस्याबीच आफूलाई निर्खाछ, त्यो नै सफल हुन्छ ।
त्यस्ता व्यक्ति अन्यका लागि प्रेरणा पनि बन्छन् । तेक्वान्दोकर्मी अशोक खड्का यसको एक गतिलो उदाहरण हुन् । चोटको मारमा परेको खेलाडी जीवनपछि अशोक अहिले प्रशिक्षक, रेफ्री र प्रशासकको रुपमा घरेलु तेक्वान्दोमा सक्रिय छन् । अशोकले यी विभिन्न भूमिकामा रहेर करिब दुई देशकदेखि तेक्वान्दोमा निरन्तर साधना गरी नेपाली तेक्वान्दोको प्रवर्धनमा योगदान पुर्याएका छन् । त्यसैले पनि तेक्वान्दो वृत्तमा उनी परिचित छन् ।
चोटको मारमा परेको खेलाडी जीवन
अशोक नेपाली तेक्वान्दोमा ठूलो सम्भावना बोकेका खेलाडी थिए । तर पटकपटकको चोटले एक अव्वल तेक्वान्दो खेलाडीलाई आफ्नो गन्तव्य पुग्नबाट रोक्यो । एक खेलाडीका लागि सबभन्दा ठूलो डर हो चोट । एउटा गम्भीर चोटले खेलाडको पूरै खेल जीवनलाई बरबाद पार्नसक्छ । चोटले आफ्नो खेल जीवनलाई तिलाञ्जलि दिन बाध्य भएका खेलाडी पनि असङ्ख्य छन् ।

सन् २००६ मा पुरुष ५४ केजीमुनि तौल समूहको दक्षिण एसियाली खेलकुद छनोटमा अशोक अन्तिम तीनमा थिए । उनको कुमार मानन्धर र सुरेन्द्र शाहीबीच अन्तिम प्रतिस्पर्धा थियो । अशोक सो समय सागमा छनोट हुने प्रबल दावेदार थिए । तर सुरेन्द्रसँगको भिडन्तमा अशोक घाइते भए ।
उनले आफ्नो जीवनको सबभन्दा महत्वपूर्ण खेल पूरा गर्न सकेनन् । वाकओभर दिन बाध्य भए । कोलम्बो सागमा खेल्ने सपना देखेका अशोक खुट्टामा प्लास्टर गरेर घरमा थन्किए । अशोक यस घटनालाई आफ्नो खेल जीवनको सबभन्दा दुःखद क्षण मान्छन् ।
केही महिना आराम गरेपछि अशोक पुनः खेलमा फर्कनुभयो । अर्को वर्ष अन्तर्राष्ट्रिय तेक्वान्दो खेल्न भारतको लखनउ पुगे । तर क्वाटरफाइनलमा पुनः त्यही देब्रे खुट्टामा चोट लाग्यो । खुट्टामा प्लास्टर गरेर रातरात घर फर्किनुभयो । तर नेपाल फकेपछि उनलाई थाहा भयो, भारतमा उनको उपचारमा ठूलो लापरवाही भएको रहेछ । अप्रेसन गर्नुपर्ने खुट्टामा प्लास्टर मात्र गरिएको थियो । सो चोटले अशोक लामो समय अस्पतालमा थन्किए । १३ महिनामा १४ पटक शल्यक्रिया भयो । उपचारमा लाखौँ रुपियाँ खर्च भयो ।
तर अशोकको हौसला मरेको थिएन । गेरोगीमा खेल्न नसक्ने भए पनि तेक्वान्दोकै अर्को विधा पुम्से (डेमोन्स्ट्रेसन) मा मिहिनेत गर्न थाले । सुदूरपश्चिममा भएको छैटौँ राष्ट्रिय खेलकुदमा पुम्सेमा स्वर्ण पदक नै जितेर आफ्नो पुनरागमन सफल बनाए । त्यसपछि उनले दक्षिण कोरियामा पनि स्वर्ण पदक जिते ।
सफल प्रशिक्षक
यद्यपि अशोकलाई थाहा भइसकेको थियो अब आफ्नो खेलाडी जीवन राम्ररी अगाडि बढ्द सक्दैन भनेर । त्यसपछि उनी तेक्वान्दो खेलाडी उत्पादनतर्फ दत्तचित्त भएर लागे । उनी भन्छन्, ‘मेरो सपना थियो ओलम्पिकमा खेल्ने । तर दुर्घटनामा परेपछि खेलाडी जीवन धेरै अघि बढ्न सकेन, त्यसपछि मैले त्यो सपना आफ्नो खेलाडीबाट पूरा गर्ने अठोट नै लिएको छु । आफ्ना खेलाडीहरुको सपना पूरा गर्न लागिरहेको छु ।’
मुलपानी तेक्वान्दो डोजाङमा मुख्य प्रशिक्षण गराएका अशोकले अहिलेसम्म ४५० भन्दा बढी ब्ल्याकबेल्ट खेलाडी उत्पादन गरिसकेका छन् भने पाँच हजार बढीलाई तेक्वान्दो सिकाइसकेका छन् । अशोकका चेलाहरुले अहिले अन्तर्राष्ट्रिय तेक्वान्दो खेलेर नेपालको नाम विश्वमा फैलाइरहेका छन् । अशोकले स्थापना गरेको नेप्लिज तेक्वान्दो एकेडेमी घरेलु तेक्वान्दोमा प्रतिष्ठित नाम हो । मुलपानी डोजाङको ड्रिम प्रोजेक्ट थियो नेप्लिज तेक्वान्दो एकडेमी । जसको अहिले करोडभन्दा बढी मूल्य बराबरको आफ्नै भवन छ ।
अब्बल निर्णायक
तेक्वान्दो निर्णायकमा पनि उनको योगदान उत्तिकै छ । चार वर्षअघि भाग लिएको रेफ्री सेमिनार उनको तेक्वान्दो जीवनको अर्को मोड बन्यो । विश्व तेक्वान्दो महासङ्घले मान्यता दिएको सो सेमिनारमा सर्वश्रेष्ठ बनेपछि उनी अन्तर्राष्ट्रिय प्रतियागितामा रेफ्री बन्न योग्य बने । त्यसपछि छोटो अवधिमा नै उनले विश्वका विभिन्न स्थानमा भएका ३५ भन्दा बडी अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायक बनिसकेका छन् ।
अशोक हालै बुल्गेरियामा भएको विश्व तेक्वान्दो च्याम्पियनसिमा सर्वश्रेष्ठ निर्णायक चुनिए । यसैगरी बेल्जियम ओपन, स्विडिस ओपन, अस्ट्रेलियन ओपन जस्ता वल्र्ड र्याकिङ प्रतियोगितामा पनि सर्वश्रेष्ठ निर्णायक घोषित भएका थिए । उनी पारा रेफ्री कोर्ष गर्ने कम नेपाली तेक्वान्दोकर्मी मध्ये एक पनि हुन् । त्यसपछि त गतवर्ष युवा तथा खेलकुद मन्त्रालयले एक लाख पुरस्कारसहित ‘उत्कृष्ट रेफ्री’का रूपमा पनि अशोकलाई सम्मान गरेको थियो ।
समाज सेवामा निरन्तर
सामाजिक सेवामा पनि अशोकको सक्रियता उल्लेखनीय छ । रक्षा नेपालसँगको सहकार्यमा अशोकले यौनजन्य हिंसामा परेका महिलाहरूलाई निशुल्क तेक्वान्दो प्रशिक्षण दिएका छन् । सोही प्रशिक्षण्बाट प्रशिक्षित पूजा बोहराले दक्षिण कोरियामा खेलेर स्वर्ण पदक पनि जिते । चेपाङ बालबालिका, जेल परेका अभिभावका छोराछोरी, विभिन्न समस्या परेका बालकालिकालाई पनि उनले तेक्वान्दो सिकाएका छन् ।
२०७२ सालको भूकम्पमा त कागेश्वरी क्षेत्रमा अशोकको नाम सबैका मुखमा थियो । सो भूकम्प समयमा विभिन्न सहयोगी हातको साथ लिएर अशोकले कागेश्वरी मनोहरा, शङ्करापुर, भक्तपुरको सूर्यविनायक र काभ्रेको पाँचखाल नगरपालिकामा भूकम्पको मारमा परेकाहरुका लागि १४ वटा टहरा निर्माण गरे ।
कोरोनाकालमा पनि उनको सक्रियता लोभलाग्दो थियो । उनले चार हजार बढीलाई राहत उपलब्ध गराए । यसबाहेक अशोक मृर्गौला पीडित, अनाथ, अपाङ्गका लागि सहयोगमा पनि सधैं अघि सरेको पाइन्छ ।
अशोक सधैं भन्छन्, ‘समाजसेवा मेरो जीवनको लक्ष्य हो । म अरुको खुशीमा रमाउने मान्छे हुँ । कठिन परिस्थितिमा कसैको सहयोगले जीवन बदलिन सक्छ भन्ने मैले आफैले १४ पटकको शल्यक्रिया गर्दा महसुस गरेको छु । त्यसैले पेब्याक गर्नुपर्छ । सेवाजस्तो आत्मसन्तुष्टि मैले अन्य कुरामा पाएको छैन ।