काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई सहुलियतपूर्ण रुपमा चार घोडासहित रु २२ करोड ३८ लाखको सैनिक तथा मेडिकल सामग्री हस्तान्तरण गरेका छन् । विगतमा भएको नेपाल भारत द्विपक्षीय परामर्श समूहको निर्णयानुसार नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आयोजित विशेष समारोहबीच उनले उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
समारोहमा उनले प्रधानसेनापति प्रभुराम शर्मालाई ती सामग्री उल्लेख भएको फाइल हस्तान्तरण गरेका थिए । निश्चित प्रतिशत नेपाली सेनाको समेत लगानी रहेका हातहतियारका पाटपूर्जा, १० वटा विस्फोटक पदार्थ नष्ट गर्ने कार्यमा प्रयोग हुने सवारीसाधन (माइन प्रोटेक्टेड भेइकल) तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।
सहयोगस्वरुप प्राप्त घोडा उन्नत प्रजननका साथै विभिन्न सैनिक प्रयोजनमा उपयोग हुने नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए । यसअघि सैनिक मुख्यालय जङ्गी अड्डामा आजै प्रधानसेनापति प्रभुराम शर्मासँग उहाँले भेटवार्तासमेत गरे । पाँच दिने भ्रमणका लागि आइतबार नेपाल आउनुभएका सेनाध्यक्ष पाण्डेको सम्मानमा सेनाको एक टुकडीद्वारा सम्मान गारत अर्पण गरिएको थियो ।
उनले आजै जङ्गी अडडा मूल भवन परिसरमा वृक्षरोपणसमेत गरे । त्यसअघि बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा पुष्पहार समर्पण गरी भारतीय सेनाध्यक्ष पाण्डेले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
अघिल्लो वर्ष प्रधानसेनापति शर्माले भारतीय सेनाको मानार्थ महारथी पाउनुभएको थियो भने सन् २०२० मा भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवाणेलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको हो । हालसम्म भारतका २१ र नेपाली सेनाका १७ सेनापतिले उक्त सम्मान प्राप्त गरिसकेका छन् ।