चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा मुद्दा 

राम्रो अनलाइन     २६ साउन २०७९, बिहिबार
चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा मुद्दा 

 

काठमाडौँ– केही समयअघि मात्र मन्त्रिपरिषद्को निर्णयबाट रिक्त रहेको चलचित्र विकास बोर्ड अध्यक्षमा मनोनयन भएका भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । सर्वोच्चका प्रवक्ता विमल पौडेलले केसीविरुद्ध मुद्दा परेको र दर्ता प्रक्रियामा रहेको पुष्टि गरे ।

‘उहाँको नियुक्तिमाथि प्रश्न उठाउँदा मुद्दा परेको छ । अहिले त्यो दर्ता प्रक्रियामा छ,’उनले इकागजलाई प्रतिक्रिया दिँदै भने । उनले निवेदकको नाम भने उल्लेख गर्न चाहेनन् । प्रवक्ता पौडेलले भुवन केसीसँगै प्रतिस्पर्धामा रहेका व्यक्तिले नै मुद्दा दर्ता गराएको बताए ।

विकास बोर्डको अध्यक्षका प्रत्यासीहरू नरेश पौडेल, अरुण प्रधानलगायतले नेपाली केसीको नियुक्ति बदरको माग गर्दै बिहीबार दिउँसो ३ बजे सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको हो । रिटमाथि सोमबार पेसी तोकिएको छ ।

केसीको शैक्षिक योग्यतादेखि उमेरसम्म विवादास्पद देखिएको, उनीविरुद्ध यौन दुर्व्यवहारको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा सरकारले विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको भन्दै नियुक्ति प्रक्रिया बदर गर्न रिट निवेदनमा माग गरिएको छ ।

भुवन केसीले जेठ २१ देखि रिक्त रहेको पदमा मनोनयन पाएका थिए । निवेदकले भुवन केसीको शैक्षिक योग्यतालाई लिएर मुद्दा दर्ता गरेको आशंका गरिएको छ । सार्वजनिक पदमा नियुक्तिका लागि स्नातक तह उत्तीर्ण गर्नुपर्ने प्रावधान रहेको र भुवन केसीले नियुक्तिको समयमा सोको प्रमाणपत्र पेश नगरेको चर्चा थियो । 

प्रतिक्रिया