काठमाडौं– सत्तारुढ नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा थप भ्रातृ तथा शुभेच्छुक सङ्गठन निर्माण गर्ने प्रस्ताव गरिएको छ । ललितपुरको सानेपास्थित बीपी स्मृति भवन केन्द्र्रीय कार्यालयमा सोमबारदेखि सुरु भएको बैठकमा सो प्रस्ताव पेश भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
उनले स्थानीय तह निर्वाचनको समीक्षा एवम् आगामी दिनमा निर्वाचन केन्द्रित भएर पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि छलफल भएको बताए । बैठकमा गत स्थानीय तह निर्वाचन परिचालन समितिले गरेको काम र प्रचार प्रसार समितिले गरेको कामको प्रतिवेदन पेश एवम् छलफल भएको छ ।
उनले भने, ‘बैठकको मूल उद्देश्य भनेकै शुभेच्छुक, भ्रातृ सङ्गठनहरुलाई गति दिनका लागि सबै क्षेत्रलाई समेटेर त्यहाँ सङ्गठन निर्माण गर्न प्रस्ताव गएको छ, त्यो अगाडि बढ्छ । दोस्रो, स्थानीय तहको निर्वाचनको परिणामको समीक्षाको आधारमा हाम्रो के अनुभव रह्यो र कहाँ–कहाँ के के कमी कमजोरी रह्यो, गठबन्धनमा कहाँ राम्रो भयो कहाँ समस्या आयो, यसका आधारमा आउने दिनमा यो गठबन्धनलाई पनि कसरी लाने र पार्टी पनि कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल भयो ।’
बैठकले त्यसको निष्कर्ष निकाल्ने बताउँदै उनले पार्टीलाई चुस्तदुरुस्त ढङ्गबाट निर्वाचन अभियानलाई अघि बढाउने र समसामयिक राष्ट्रिय विषयवस्तुमाथि बैठकमा छलफल भएको बताए ।
प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको सोमबारको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन, महामन्त्री गगनकुमार थापाले बैठकका प्रस्तावहरु र प्रवक्ता डा. महतले स्थानीय तह निर्वाचन केन्द्रीय प्रसार–प्रसार समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

तालमेलले अरुलाई फाइदा भयो : डा. शेखर
केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्थानीय निर्वाचनमा गठबन्धनमा तालमेलका कारण केही सिट बढी जिते पनि पार्टीको आदर्श र सिद्धान्तबारे गम्भीर हुनुपर्ने धारणा राखे । तालमेलको नाममा महिला सहभागिता खुम्च्याउने काम भएको र कांग्रेसलाई भन्दा बढी लाभ अन्य पार्टीलाई भएको कोइरालाले बताए ।
उनले विगतका तालमेल र आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबारे पार्टीभित्र सूक्ष्म ढङ्गले समीक्षा र मूल्याङ्कन गर्नुपर्ने बताउनुहुँदै पार्टीमा ठूलो सङ्ख्यामा गठबन्धनप्रति सकारात्मक बन्न नसकेको पनि बताए । उनले वर्तमान सरकारको गतिविधि, राष्ट्रिय राजनीति, महँगीले नागरिकमा परेको असर, देशको अर्थतन्त्रलगायतका समसामयिक विषयमा आफ्नो धारणा प्रस्तुत गरे ।
महिलाको सङ्ख्या घट्यो : डा डीला
यसैगरी, केन्द्रीय सदस्य डा। डिला संग्रौलाले स्थानीय निर्वाचनमा कांग्रेस एक्लै जाँदा पनि पार्टी कमजोर नभएको तर गठबन्धन गर्दा बढी सफलता मिलेको दाबी गरे । गठबन्धनका कारण पालिका प्रमुख वा उपप्रमुखमा पुरुषलाई अघि सारिएका कारण कांग्रेसबाट महिला प्रमुखको सङ्ख्या घटेको संग्रौलाले बताइन् ।
उनले भ्रातृ तथा शुभेच्छुक संस्थाको पूर्णता, विभागको गठन, नीति तथा विधान अधिवेशन, आगामी चुनावी रणनीति, पार्टी र सरकार सञ्चालनको अवस्था र राष्ट्रिय राजनीतिमा कांग्रेसलगायतका विषयमा आफ्नो धारणा राखिन् ।
सभापतिलाई कमजोर बनाएर कांग्रेस बलियो हुँदैन : नेता पौडेल
केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी सभापतिलाई कमजोर बनाएर अहिले कांग्रेस बलियो हुँदैन भने ।
बैठकमा उनले भने, ‘‘देशलाई निर्वाचनमा लैजानुको विकल्प छैन । हामी निर्वाचनको मुखमा छौँ । यही निर्वाचनले अवको पाँच वर्ष तय गर्छ । अहिले पार्टीमा सुदृढ एकता आवश्यक छ । सभापतिले उदारता देखाउन जरुरी छ र अरुले पनि निर्वाचन हुन लागेको समयको संवेदनशीलता बुझ्न जरुरी छ । कांगे्रसमा सबै पक्षका लागि स्पेस छ भन्ने वातावरण सभापतिले बनाउनु पर्छ । सँगसँगै सभापतिलाई कमजोर बनाएर अहिले कांग्रस बलियो हुँदैन भन्ने पनि स्वीकार गर्नुपर्छ ।’
पार्टीका आन्तरिक छलफल र निर्णय प्रक्रियाहरुमा अन्तरविरोध बढाउनेभन्दा पनि आम एकता कायम रहने गरी सभापति, पदाधिकारी तथा नेतृत्वले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेछ । ताकि निर्वाचनमा नेपाली कांग्रेस एक ढिक्का बनेर सशक्त ढंगले उभिन सकोस् ।
गठबन्धन क्षणिक राजनीतिक लाभ निकाल्ने गणितीय समीकरणको आधारमा मात्र हुनु हुँदैन भन्दै नेता पौडेलले गणितीय स्वार्थको लागि मात्रै गठबन्धन गरिएको हो भन्ने सन्देश आम मतदातामा गएमा त्यसले आम नागरिकलाई आकर्षित गर्ने छैन भने ।
निर्वाचनको आन्तरिक तयारीका लागि अपूर्ण अवस्थामा रहेका समिति, विभाग तथा भ्रातृसंगठनहरुलाई विधान बमोजिम पूर्णता दिई परिचालन गर्नुपर्नेमा उनको जोड छ ।
आन्तरिक टिकट वितरण गर्दा जित्ने सम्भावना बढी भएका लोकप्रिय उमेद्वारहरुलाई प्रस्तुत गरिनुपर्छ । वर्तमान परिवेशको आर्थिक संकटका भ्रम तथा यथार्थबारे विज्ञहरुको सहयोगमा सत्य तथ्य सार्वजनिक गर्ने । अर्थतन्त्र समस्याग्रस्त देखिएमा त्यसको सशक्त संवोधनको लागि पारदर्शी रुपमा राष्ट्रिय स्तरमा सबल योजना अघि सार्ने विषय पनि बैठकमा राखिएको छ ।
यसैगरी बैठकमा सरकारले आफ्नो बलियो प्रभावकारिता र लोकप्रियता कायम गर्न महङ्गी नियन्त्रण गर्ने, मल तथा पाठ्यपुस्तकको समयमै आपूर्ति गर्ने, जनजीविकाका कतिपय मुद्दाहरुलाई छिटो सम्बोधन गर्ने, सामाजिक न्यायको प्रत्याभूति गराउने, लामो समयदेखि थाँती रहेका सीमालगायतका वैदेशिक सम्बन्धका विषयमा पारदर्शी ढंगले कूटनीतिक संवाद शुरु गर्नुपर्नेमा पनि सदस्यहरूको जोड छ ।
सोमबारको बैठकमा केन्द्रीय सदस्यहरु देवेन्द्रराज कँडेल, नारायणमान कार्की, तारामान गुरुङ, दिनेशकुमार यादव, गुरु बराल, दिनेश कोइरालालगायतका नेताहरुले आफ्नो धारणा राखे । कार्य समितिको बैठक मंगलबार पुनः दिउँसो १ बजे बस्नेछ ।