चितवनमा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’अभियान

राम्रो अनलाइन     १३ चैत २०७८, आइतबार
चितवनमा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’अभियान


चितवन–नेपाली कांग्रेस चितवनले स्थानीय निर्वाचन २०७९ लक्ष्य गरी जिल्लाका सबै वडामा चुनावी अभियान सुरु गरेको छ । जिल्लाका सात पालिकाका ९८ वडामा अभियान गरिएको हो ।
 
जिल्ला सचिव सूर्य अर्यालका अनुसार जिल्लाबाट खटिएका प्रतिनिधिको उपस्थितिमा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान शनिबारबाट सुरु भएको हो । अभियानअन्तर्गत वडा कार्यालय उद्घाटनदेखि घरदैलोसम्मका विभिन्न कार्यक्रम गरिएको छ । पाँच दिनसम्म वडामा रहेर प्रतिनिधिले अभियान सञ्चालन गर्ने उनले जानकारी दिए ।
 
पार्टीका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, जिल्ला कार्यसमितिका सदस्य, प्रदेश प्रतिनिधि र केही बौद्धिक क्षमता भएका पार्टीका बुद्धिजीवीहरूलाई खटाइएको छ । उनीहरुले घरदैलोसँगै वडामा पार्टीको अवस्थाबारेमा पनि अध्ययन गर्ने छन् ।
 
पार्टीले गत फागुन २९ गते जिल्लामा अभियान सुरु गरेको थियो । चैत १ गते सङ्घीय क्षेत्रमा र चैत ७ गते पालिकामा चुनावी अभियान सुरु गरिएको छ । जिल्ला सभापति राजेश्वर खनालका अनुसार जिल्लामा कांग्रेसको क्रियाशील सदस्य सङ्ख्या २८ हजार छ । सात पालिकाको ९८ वडामध्ये गत निर्वाचनमा कांग्रेसले ३५ वडा जितेको थियो । इच्छाकामना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष एवं भरतपुर महानगरपालिकामा उपप्रमुखबाहेक अन्यत्र नेतृत्व कांग्रेसले गुमाएको थियो । जिल्ला अध्यक्ष खनाललले आजबाट अभियानलाई प्रभावकारी ढङ्गले अघि बढेको बताए ।

पाँच हजार बढी म्यादी प्रहरीमा आवेदन
 

चितवनमा पाँच हजार ४६६ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा एक हजार ७०९ म्यादी प्रहरीको माग गरिएको हो । आवेदन दिनेमध्ये चार हजार ३३ पुरुष र एक हजार ४३३ महिला छन् ।
 
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यही चैत ११ गते शुक्रबार निवेदन दिने अन्तिम मिति रहेको थियो । म्यादी प्रहरीका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन पाउने व्यवस्था छ । अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवानसरह हुनुपर्ने प्रहरीले जनाएको छ । ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो ।
 
म्यादी प्रहरीको छनोट प्रक्रिया चैत १५ बाट सुरु हुनेछ । चैत २२ गते अन्तिम नतिजा प्रकाशन गरेर चैत २८ मा प्रशिक्षण सुरु हुनेछ । छनोट भएका म्यादी प्रहरीलाई सात दिन तालिम दिएर खटाउने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।
 

प्रतिक्रिया