तिलोत्तमा– रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगमा बुधबार भएको सुपर फोरको खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले वेस्टर्न क्रिकेट क्लबलाई ७४ रनले पराजित गरेको छ । जितसँगै एक खेलअगावै लुम्बिनी खुकुरी फाइनल पुगेको छ ।
सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरको खेलमा ४३।५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ६ रनको योगफल बनायो । उसका लागि लालबहादुर अधिकारीले ४८, निश्चल चौधरीले २९, शंकर रानाले २६ र अन्तिम थापाले २२ रन बनाए । बलिङमा वेस्टर्नका नरेन साउदले ४ तथा अनिल खरेल र शौरभ खनालले समान ३–३ विकेट लिए ।
प्रतिउत्तरमा वेस्टर्न ३३.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३२ रनमै समेटियो । उसका लागि विक्रम भुसालले ५२, प्रदिष जिसीले ३३ र शौरभ खनालले १५ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा लुम्बिनी खुकरीका अजयकुमार चौहानले ४, लालबहादुर अधिकारीले २ तथा धिरज शाही, शाहव आलम र इकलाख अहम्मदले समान १–१ विकेट लिए । खेलमा लालबहादुर अधिकारी म्यान अफ द म्याच भए ।