काठमाडौँ– सिन्धुली र मकवानपुर प्रथम वाग्मती प्रदेश खेलकुदअन्तर्गत महिला फुटबल बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
धुलिखेलमा भएको खेलमा सिन्धुलीले सिन्धुपाल्चोकलाई २–१ गोलले पराजित गर्यो । विजयी टिमका लागि दुवै गोल सिजन क्याप्छाकीले गरिन् । सिन्धुपाल्चोककी कप्तान रुबिना पहरीले सान्त्वना गोल गरिन् ।
मकवानपुरले रामेछापलाई ५–० गोलअन्तरले सहजै हरायो । सम्जिता बोम्जन र कप्तान पूजा लामाले समान २ गोल गरे । लक्ष्मी गोलेले १ गोल थपिन् ।
करातेमा काठमाडौं च्याम्पियन
खेलकुदअन्तर्गत करातेमा काठमाडौं टिम च्याम्पियन बनेको छ । काठमाडौंले ७ स्वर्ण, १ रजत र २ कांस्य जित्यो । दोस्रो भएको रामेछापले २ स्वर्ण, ४ रजत र ३ कांस्य हासिल गर्यो । २ स्वर्ण र २ रजतमा नुवाकोटले तेस्रो स्थानमा चित्त बुझायो ।
सत्र स्वर्णका लागि भएको प्रतिस्पर्धामा काभ्रेले २ तथा चितवन, मकवानपुर, धादिङ र ललितपुरले १–१ स्वर्ण हात पारेको प्राविधिक संयोजक विसन मोतेले जनाएका छन् ।
बक्सिङ सुरु
बक्सिङ प्रतियोगितामा पुरुष ६० केजी तौल समुहमा ललितपुरका निशान दासले सिन्धुलीका गर्जबहादुर सुनारलाई पराजित गरे । सोही तौल समूहमा मकवानपुरका अनिश पुलामीले काभ्रेका भक्तबहादुर मगर हराए । ६० केजी तौलमै रामेछापका सुरेशकुमार भण्डारीले दोलखाका अनिस घिसिङलाई पन्छाए ।
काभ्रेमा भएको प्रतियोगितामा १३ जिल्लाका ८६ पुरुष र २८ महिला खेलाडीको सहभागिता छ ।