वैशाखदेखि एमडीएमएस पूर्ण सञ्चालन

राम्रो अनलाइन     २१ फागुन २०७८, शनिबार
वैशाखदेखि एमडीएमएस पूर्ण सञ्चालन

 

काठमाडौँ– अवैध रूपमा भित्रिएका मोबाइल नियन्त्रणका लागि स्थापना गरिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) वैशाखदेखि पूर्ण सञ्चालनमा आउने भएको छ । गत साउनदेखि नै लागू गर्ने तयारी गरिए पनि आवश्यक उपकरण आइनपुगेकाले एमडीएमएस प्रयोगमा आउन सकेको थिएन । एमडीएमएसका लागि आवश्यक  ‘इम्पोर्टर मोडल’ सञ्चालनमा आइसकेको र  ‘कस्टमर मोडल’ सञ्चालनको तयारीमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । ‘प्रायः काम पूरा भइसकेकाले वैशाखदेखि एमडीएमएस पूर्ण सञ्चालनमा आउँछ,’ शुक्रबार आयोजित प्राधिकरणको २४औँ वार्षिकोत्सव कार्यक्रममा उनले भने ।

नेपालमा अवैध रूपमा मोबाइल भित्रिएको र त्यसले राजस्व पनि गुमेको ठहर गर्दै सरकारले चालू आर्थिक वर्षको बजेटमै एमडीएमएस लागू गर्ने घोषणा गरेको थियो । एमडीएमएस लागू भइसकेपछि मोबाइल हराएमा अथवा चोरी भएमा पनि त्यसलाई सहजै पत्ता लगाउन सकिन्छ । त्यस्तै अवैध रूपमा भित्रिएका मोबाइललाई एमडीएमएस प्रणालीले निस्तेज गर्न सक्छ । वार्षिकोत्सवको अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रविधि र इन्टरनेटको विस्तारसँगै बढेको साइबर सुरक्षा चुनौतीलाई समाधान गर्नेतर्फ अब प्राधिकरणको ध्यान जान जरुरी रहेको बताए । पछिल्लो समय बढिरहेको ‘फ्रड कल’ नियन्त्रण गर्न उनले निर्देशन पनि दिए । दूरसञ्चार बजारमा धेरै परिवर्तन भइसकेकाले समयानुकूल कानुनको आवश्यकता रहेको र त्यसमा मन्त्रालयले सहयोग पुर्‍याउने प्रतिबद्धता उनले व्यक्त गरे ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले प्राधिकरणले नियमन मात्र नभई सेवा प्रदायकलाई सहजीकरण पनि गर्नुपर्ने बताए । ग्रामीण दूरसञ्चार विकास कोषमार्फत भइरहेको खर्चको प्रभावकारिताका सम्बन्धमा प्राधिकरणले अनुगमन गर्नुपर्नेमा उनले जोड दिए । उनले एमडीएमएस सञ्चालनको भाका नसारी छिट्टै कार्यान्वयनमा ल्याउनुपर्ने कुरामा जोड दिँदै साइबर सुरक्षाको जोखिम घटाउन जनचेतना अभिवृद्धिका कार्यक्रम आवश्यक रहेको बताए ।

प्राधिकरणका अध्यक्ष खनालले  ‘डिजिटल डिभाइड’ अन्त्य गर्न प्राधिकरणले कोषको प्रयोगमार्फत पूर्वाधार निर्माण गरिरहेको जानकारी दिए । दूरसञ्चार सेवाको लागत घटाउन र यसलाई सर्वसुलभ बनाउन पूर्वाधार सहप्रयोगमा जानुपर्ने र करको दर पनि घटाउन आवश्यक रहेको उनले बताए ।

गुणस्तर सर्वेक्षणका लागि छुट्टै एप

वार्षिकोत्सवको अवसरमा प्राधिकरणले सेवाग्राहीको गुणस्तरसम्बन्धी अनुभव सङ्कलनका लागि छुट्टै एप सार्वजनिक गरेको छ । एनटीए क्यूओई नामक उक्त एपको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्घाटन गरेका थिए । त्यस्तै यूएसएसडी र कलमार्फत पनि गुणस्तर सर्वेक्षणमा सहभागी हुन सकिने सुविधा प्राधिकरणले सुरु गरेको छ ।

प्रतिक्रिया