संसद् बैठक आज बस्दै

राम्रो अनलाइन     १३ फागुन २०७८, शुक्रबार
संसद् बैठक आज बस्दै

 

काठमाडौँ–  प्रतिनिधि सभामा अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतामाथि छलफलको प्रक्रिया राजनीतिक सहमतिका लागि स्थगन गरिएको छ । सम्झौता अनुमोदनको विषयमा सत्ता गठबन्धन नै विभाजित भएपछि प्रतिपक्षसँग समेत थप छलफल गर्न सरकारको आग्रहमा बैठक स्थगित गरिएको हो ।

सभामुख अग्निप्रसाद सापकोटासमक्ष कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहमतिका लागि बैठक स्थगित गरिदिन आग्रह गरेका थिए । मन्त्रीद्वयको आग्रहपछि बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

राजनीतिक सहमतिको प्रयासका लागि सरकारले छलफलको समय सार्न आग्रह गरेको हो । बैठक स्थगित लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्तासमेत भयो । एमालेले हाल एमसीसीमा कुनै स्पष्ट धारणा बनाएको छैन । सत्ता पक्षसँग बहुमत रहेकाले प्रतिपक्षले सरकारको बिजनेस कसरी अघि बढाउने भन्ने एमालेको विषय नभएको एमाले नेताहरूले बताएका छन् ।

एमाले सचिव एवं सांसद योगेश भट्टराई सरकारसँग बहुमत रहेकाले पारित हुने नहुने विषय प्रतिपक्षको सरोकारको विषय नभएको बताए । सत्ता गठबन्धन सम्झौताका विषयमा विभाजित छ । माओवादी केन्द्रले विपक्षमा मत 

अडान लिइरहेको छ भने नेकपा (एकीकृत समाजवादी) एमसीसीको विषयमा विभाजित छ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सत्ता गठबन्धन जे जस्तो भए पनि यथास्थितिमा एमसीसीको पक्षमा मत नदिने बताए । उनले भने, ‘गठबन्धन बन्छन् भत्किन्छन्, मुख्य कुरा राज्यको सार्वभौमिकताको प्रश्न हो । हामी यथास्थितिमा एमसीसीको पक्षमा मतदान गर्दैनौँ ।’

एमसीसी निर्णायक बन्दै जाँदा गठबन्धन कसरी अघि बढ्ने अन्योलमा परेको छ । गठबन्धनका दलहरू नै अलमलमा परेपछि सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले प्रमुख विपक्षी दल एमालेसँग संवाद अघि बढाएको छ । कांग्रेस सांसद मीन विश्वकर्माले गठबन्धनको भविष्य र एमसीसीको विषय चाँडै निक्र्योल हुने बताए । फागुन ८ गतेको बैठकमा सम्झौता पेस भएको थियो । अर्थमन्त्रीको अनुपस्थितिमा सञ्चारमन्त्री कार्कीले प्रस्ताव पेस गरेका थिए । प्रस्तावमा बिहीबारदेखि सैद्धान्तिक छलफल अघि बढाउने तयारी भए पनि प्रस्ताव स्वीकृत हुने वा नहुने अन्योलका कारण सरकारकै आग्रहमा बैठक सारिएको हो । 

प्रतिक्रिया