जनजाति–आदिवासी अनुहार फिल्ममा जम्न थालेको धेरै भएको छैन । हिरो वा हिरोइन भन्नेबित्तिकै चुच्चो नाक भएको हुनुपर्छ मानक भत्किन थालेको छ । अहिले धेरै मंगोलियन अनुहार नेपाली फिल्ममा स्थापित हुँदै गएका छन् । हिरो वा हिरोइनको भूमिका आफूलाई अब्बल साबित गर्ने मंगोलियन कलाकार बढ्दै गएका छन् । गोरखामा जन्मेकी र चितवनमा हुर्केकी भावना गुरुङ पनि मोडलिङ तथा फिल्म क्षेत्रमा स्थापित हुन खोजिरहेकी कलाकार हुन् । ‘‘गुरुङकी छोरी पनि हिरोइन हुन सक्छे र ? भनेर प्रश्न गर्नेलाई काममार्फत जवाफ दिन फिल्म क्षेत्रमा प्रवेश गरेकी हुँ,’ भावना भन्छिन्, ‘अभिनय गर्ने क्षमता भएका र स्क्रिप्टमा कल्पना गरिएको भूमिका गर्न सक्ने जुनसुकै समुदाय वा क्षेत्रको भए पनि ऊ कलाकार हुन सक्छ ।’ राम्री हुँदैमा हिरोइन हुनेभन्दा पनि अभिनय गर्न सक्ने र आफूलाई क्यारेक्टरमा ढाल्न सक्ने नै हिरोइन हुने उनी बताउँछिन् ।
मोडलिङ र फिल्ममा सानैदेखि रुचि भएकी भावना मामाका कारण यो क्षेत्रमा आइपुगेको बताउँछिन् । ‘बुबालाई कलाकारिता गरेर पनि पेट पाल्न सकिन्छ भन्नेमा उतिसारो विश्वास छैन,’ उनी भन्छिन् । ब्रिटिस आर्मीबाट रिटायर्ड उनका बुबा जर्मनीमा रेस्टुरेन्ट व्यवसाय गर्छन् । ‘विदेशमा आयोजना हुने कार्यक्रममा भाग लिन जाने कलाकारले देखाउने व्यवहारबाट बुबा दिक्क हुनुभएको हो,’ उनी भन्छिन्, ‘त्यसैले बुबालाई लाग्छ, कलाकारले कत्ति पनि आम्दानी गर्न सक्दैनन् ।’
‘केही कमाइ नहुने क्षेत्रमा किन लाग्नुप¥यो ?’ भनेर बुबाले मोडलिङतिर लागेको त्यति नरुचाएको भावना बताउँछिन् । तर, उनलाई आमा र भाइको भने सपोर्ट छ । आफ्नो पारिवारिक व्यवसायमा सहयोग गर्दै उनी कलाकारितामा लागेकी छिन् । आयआर्जनका लागि सानोतिनो काम हुँदा मोडलिङ तथा फिल्ममा लाग्न सहज हुने उनी बताउँछिन् । ‘सुरुवातमा नयाँ मोडल तथा कलाकारलाई कम पारिश्रमिक दिने र कतिपयले फ्रीमा पनि काम गराउने गर्छन्,’ उनी भन्छिन्, ‘आफ्नो जीविका धान्ने खालको कुनै काम गर्दा मोडलिङ तथा फिल्ममा काम गर्न सजिलो हुन्छ ।’
भावनाले र्याम्प वाकमार्फत मोडलिङमा प्रवेश गरेकी हुन् । र्याम्प वाकसम्बन्धी आधारभूत तालिम भर्खरै सकिएको थियो,’ उनी भन्छिन्, ‘त्यही बेला एउटा सोमा र्याम्प वाक गर्ने अफर आयो । सोमा मेरो आत्मविश्वास देखेर सबैले मोडलिङमा केही गर्न सक्छौ भनेर हौसला दिए । त्यसपछि यो क्षेत्रमा लाग्न प्रेरणा मिल्यो ।’ डान्स र अभिनय क्लास लिएकी उनी कोरियोग्राफी पनि गर्छिन् । दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरेकी उनले केही विज्ञापनमा पनि अभिनय गरेकी छिन् । उनले गुरुङ भाषाको फिल्म ‘भुली गए पाप लाग्ला’ मा मुख्य अभिनेत्रीका रूपमा काम गरेकी छिन् । उनको डेब्यू नेपाली फिल्म चाहिँ ‘स्वर्ग मेरो गाउँ’ हो ।
आफ्नो ‘स्ट्याटस मेन्टेन’ गरेर राख्न सक्दा फिल्म लाइनमा सम्मान पाउन सकिने उनी बताउँछिन् । ‘कलाकार हुँ भन्यो, जहाँ पायो त्यही ड्रिंक्स गर्ने, अफेयरमा परे पनि, नपरे पनि हल्ला मच्चाइरहने, काममा भन्दा पनि प्रचारबाजीमा बढी विश्वास गर्नेहरूले फिल्म लाइनलाई हल्का बनाइरहेका छन्,’ उनी भन्छिन् । भावनाका धेरै मिल्ने साथी फिल्म लाइनकै छन् । अभिनेत्री नीता ढुंगानासँग उनको निकै राम्रो दोस्ती छ । एउटै क्षेत्रमा काम गर्ने भएपछि साथीहरू पनि त्यही क्षेत्रको हुनु स्वाभाविक भएको उनी बताउँछिन् । एउटा कलाकारले अर्कोलाई सपोर्ट गर्ने कल्चर विकास हुँदा समग्र कलाकारिताकै विकास हुने उनको बुझाइ छ । ‘कलाकारका बीचमा एकले अर्काको कामलाई लिएर रचनात्मक टिप्पणी गर्ने तथा सुधार गर्नुपर्ने विषयमा सुझाव दिने हो,’ उनी भन्छिन्, ‘त्यसरी आफूमा भएको प्रतिभामा निखार ल्याउन सकिन्छ ।’
ग्ल्यामर दुनियाँमा आउँदा जुन उत्साह हुन्छ, त्योअनुसार उपलब्धि हात नलाग्दा निराश हुनेहरू यो क्षेत्रमा टिक्न नसक्ने भावना बताउँछिन् । ‘ग्ल्यामर दुनियाँमा हुने उतारचढाव र प्रतिस्पर्धालाई फेस गर्छु भनेर नै यो क्षेत्रमा लाग्नुपर्छ,’ उनी भन्छिन्, ‘आफूले गर्न चाहेको कामबारे आधारभूत जानकारी लिएर, अध्ययन पूरा गरेर तथा ब्याकअपमा आयआर्जनका लागि अन्य केही काम गरेर फिल्म क्षेत्रमा लाग्दा केही सहज हुन्छ ।’ दुई÷चार वटा फिल्ममा अभिनय ग¥यो तर आफूले काम गरेका फिल्म चलेनन् भने विकल्पमा के गरेर यो क्षेत्रमा टिक्ने भन्ने विकल्प पनि आफूसँग हुनुपर्ने उनी बताउँछिन् । फिल्म सँगसँगै ¥याम्प मोडलिङ, कोरियोग्राफी तथा विज्ञापनमा काम गरेर भए पनि ग्ल्यामर दुनियाँमा टिक्न सकिने उनी बताउँछिन् ।