मलाई सानैदेखि मोडलिङमा रुचि थियो। तर, पढाइ बिग्रिन्छ भनेर पहिला मोडलिङतिर कम ध्यान दिएँ। पढाइमा फोकस्ड थिएँ। एसईईको परीक्षा दिएपछि र्याम्प मोडलिङको तालिम लिएँ। तालिमपछि र्याम्प सोमा भाग लिन थालेँ।
पहिलो पटक र्याम्पमा क्याटवाक गर्दा एकदमै डर लागेको थियो। तर, पछि बिस्तारै बानी पर्दै गयो। विभिन्न र्याम्प सोमा भाग लिँदै गएपछि मेरो आत्मविश्वास बढ्दै गयो। अहिलेसम्म २० वटा र्याम्प सोमा हिँडिसकेकी छु। अब डर लाग्दैन। अहिले मोडलिङ र पढाइ दुवैलाई सँगसँगै अघि बढाउँदै छु।
मेरो दाइ मोडल हुनुहुन्छ। यो कुराले पनि मलाई मोडलिङतिर आकर्षित गर्यो। र, यसमा टिक्न सहज वातावरण बनायो। सोमा भाग लिन काठमाडौँबाहिर पनि जान्छु। यसबाहेक फेसन मोडलका रूपमा थुप्रै फोटोसुट पनि गरिसकेँ। पत्रपत्रिकाका लागि फोटोसुट गर्छु। लुगालत्ताका क्याटलगमा पेपर एड पनि गरिसकेकी छु।
हालै सम्पन्न भएको ‘फेसन आइडल नेपाल’मा टप फाइभसम्म पुग्न सफल भएँ। त्यहाँ ‘मिस पर्सनालिटी’ र ‘मिस क्याटवाक’ गरी दुइटा टाइटल जितेँ। त्यहाँको अनुभवले मलाई मोडलिङमा लाग्न झन् प्रोत्साहित गरेको छ। भविष्यमा मोडलिङ क्षेत्रमै लाग्ने सोच बनाएकी छु र ‘मिस नेपाल’ मा भाग लिने चाहना छ।