मानसिक र शारीरिक स्वास्थ्यका लागि एकांगी प्रयास मात्र गरेर हुँदैन । यसका लागि ‘प्याकेज’मै कार्य गर्नुपर्छ । स्वास्थ्यका पाँच पूर्वाधारका रूपमा रहेका व्यायाम, भोजन, निन्द्रा, घाम ताप्नु र निद्र्वन्द्व मनलाई बुझ्नु जरुरी छ ।
मानव सभ्यताको विकासका लागि स्वास्थ्य सबैभन्दा प्रमुख मुद्दा वा शर्त हो । मानिस शारीरिक र मानसिक रूपमा स्वस्थ रहन सकेन भने विकास वा प्रगति नै अवरुद्ध बन्नसक्छ । व्यक्तिको निजात्मक आनन्द र सुखका लागि स्वस्थ रहनु जति महत्वपूर्ण छ, त्यति नै समाज र देशको विकासका लागि पनि स्वस्थ नागरिक आवश्यक छ ।
बदलिँदो युग र जीवनशैलीअनुरूप मानिसले फरक–फरक स्वास्थ्य समस्या सामना गरिरहेको छ । विगतमा महामारीजन्य रोगबाट अत्यधिक प्रताडित मानव सभ्यता वर्तमानमा नसर्ने रोगबाट सबैभन्दा बढी समस्याग्रस्त बनिरहेको छ । अधिकांश देशका मानिस नसर्ने दीर्घरोगसँग जुध्न बाध्य छन् । दीर्घरोग लाग्न नदिन, रोग लागिसकेपछिको रोकथाम र उपचार गर्न विविध विधि, प्रविधि र औषधि संसारभर प्रयोगमा आइरहेका छन् । सरसर्ती हेर्दा अहिलेको मेडिकल विज्ञान नसर्ने रोगतर्फ नै बढी केन्द्रित छ ।
हामी सञ्चारमाध्यम, सामाजिक सञ्जाललगायत सूचनाका विविध स्रोतमार्फत स्वस्थ रहने जानकारी प्राप्त गरिरहेका छौँ । पत्रपत्रिका, रेडियो, टेलिभिजन, सामाजिक सञ्जाललगायत हरेक सञ्चारमाध्यममा स्वस्थ रहने ‘टिप्स’ पढ्न, सुन्न र हेर्न पाइन्छन् । केही दशकअघिसम्म स्वास्थ्यसम्बन्धी जानकारी प्राप्त गर्न यति सहज थिएन । सूचना प्रविधिको तीव्र प्रयोगसँगै स्वास्थ्य सम्बद्ध जानकारी आम मानिसको पहुँचसम्म पुगेको छ । तर, पनि दिनानुदिन मानव स्वास्थ्यमा नयाँ–नयाँ समस्यामा बढोत्तरी भइरहेको छ ।
स्वस्थ रहन हामीले प्राप्त गरिरहेका अधिकांश टिप्स पूर्ण नहुन पनि सक्छन् । यस्ता टिप्सले मुख्यतः खाना र व्यायामलाई बढी जोड दिएका पाइन्छन् । स्वास्थ्यका लागि सन्तुलित भोजन र व्यायाम अनिवार्य शर्त हुन् । तर, यतिले मात्र मानव स्वास्थ्य सबल बन्दैन । स्वस्थ रहनका लागि पाँच पूर्वाधार आवश्यक छन् ।
पाँच पूर्वाधार
पछिल्लो समय मानसिक र शारीरिक स्वास्थ्यका लागि मानिसहरूमा जागरुकता पैदा भइरहेको छ । उनीहरू विभिन्न तौरतरिकाका व्यायाम र विधिलाई आफ्नो दिनचर्यामा जोड्ने प्रयत्न गरिरहेका छन् । तर पनि, मानिसले आफूलाई मानसिक रूपमा खुशी र शारीरिक रूपमा स्वस्थ महसुस गर्न सकिरहेको छैन । अर्थात्, स्वास्थ्य सम्बद्ध जुन अपेक्षा राखेर मानिसले विभिन्न प्रयत्न गरिरहेको छ, उक्त अपेक्षा अनुसारको परिणाम प्राप्त भइरहेको छैन । मानसिक र शारीरिक स्वास्थ्यका लागि एकांगी प्रयास मात्र गरेर हुँदैन । यसका लागि ‘प्याकेज’मै कार्य गर्नुपर्छ । स्वास्थ्यका पाँच पूर्वाधारका रूपमा रहेका व्यायाम, भोजन, निन्द्रा, घाम ताप्नु र निद्र्वन्द्व मनलाई बुझ्नु जरुरी छ ।
व्यायाम
स्वास्थ्यका लागि बिहान उठ्नासाथ व्यायाम गर्नुपर्छ । उमेरअनुसार आधा घण्टादेखि डेढ घण्टासम्म व्यायाम गर्न सकिन्छ । स्वस्थ रहनका लागि कुन व्यायाम गर्ने भन्ने धेरैको चासो देखिन्छ । योग गर्नेले योगलाई राम्रो मानिरहेका हुन्छन् भने जिम गर्नेले जिमलाई नै ठीक ठानिरहेका हुन्छन् ।
‘एरोबिक’, ‘ननएरोबिक’ र जिम गरी व्यायामका तीन वर्ग हुन्छन् । स्वस्थ रहनका लागि यी तीनटै वर्गलाई प्याकेज बनाएर व्यायाम गर्नुपर्छ ।
यी तीन थरी व्यायामलाई नियमित व्यायाममा समावेश नगर्ने हो भने व्यायामको मात्रा पुग्दैन । मात्रा नपुगेको कुनै पनि कार्यले उचित परिणाम ल्याउँदैन । त्यसैले नियमित व्यायाम गर्छु भनेर मात्र हुँदैन, मात्रा पु¥याएर व्यायाम गर्नुपर्छ ।
एरोबिकअन्तगर्त १० देखि १५ हजार पाइला फटाफट हिँड्ने, २० मिनेट जति डान्स गर्ने, ‘स्किपिङ’ वा अन्य खेल खेल्ने गर्न सकिन्छ । ननएरोबिकका लागि २० मिनेटजति योग र जिमका लागि १० मिनेटजति ‘पुसअप’ वा ‘प्ल्यांक’ गर्न सकिन्छ । एरोबिकले शरीरका मुटुलगायत भित्री अंगलाई स्वस्थ राख्छ भने ननएरोबिकले जोर्नी र जिमले मांसपेशीलाई स्वस्थ राख्छ ।
भोजन
नेपालको परम्परागत खानपानलाई सन्तुलित आहारका रूपमा पनि हेरिन्छ । किनकि, सन्तुलित भोजनका लागि आवश्यक पर्ने कार्बाेहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन र मिनरललगायत तत्व नेपाली भोजनमा उपलब्ध हुन्छन् भनिन्छ । खाना कस्तो र कसरी खाने भन्ने विषयमा हामीले धेरै सुनिसकेका छौँ । तर, हामी नेपालीले खाने खानामा मुख्यतया के–के कुराको कमी छ भन्ने विषयमा खासै चर्चा गर्दैनौँ ।
नेपालीहरूको खानामा ‘ओमेगा थ्री’ समावेश नै हुँदैन । यसको कमी हुनासाथ गम्भीर प्रकारका मानसिक र शारीरिक समस्या निम्तन्छन् । यसको कमी भएपछि मस्तिष्क ‘स्लो’ हुन्छ । जसको परिणाम मानिस बुद्धिले भन्दा भावुकताले बढी काम गर्छ । सामान्य विषयमा नै भड्किने वा भावकु हुने हामी नेपालीको स्वभावका पछाडि ओमेगा थ्री भोजनमा समावेश नहुनु पनि एउटा कारण हो । हाम्रो भावुकताजन्य स्वभावलाई लिएर भूपि शेरचनले ‘हामी बुद्धु छौँ र वीर भयौँ’ भन्ने कविता नै लेखेका छन् ।
ओमेगा थ्रीको प्रमुख स्रोत जैतुनको तेल हो । विगतमा जैतुनको तेल नेपाली बजारमा पाइँदैनथ्यो । अहिले ठूला बजारमा पाइए पनि निकै महँगो मूल्य पर्छ । आलसको तेलमा पनि ओमेगा थ्री पाइन्छ । तर, आलसको तेल प्रयोग गर्ने प्रचलन हामीसँग छैन । ओमेगा थ्रीको अर्काे स्रोत माछा हो । नेपालको तराई क्षेत्रमा माछा खाने प्रचलन रहे पनि पहाडी समाजमा सामन्यतः माछा खाइँदैन । काजु, पेस्ता र बदाममा पनि ओमेगा थ्री त पाइन्छ तर यी खाना खानका लागि हामीलाई विशेष चाडपर्व नै आउनुपर्छ । यसरी हेर्दा हाम्रो भोजनमा ओमेगा थ्री समावेश देखिँदैन ।
नेपाली खानामा प्रोटिनको पनि निकै कमी देखिन्छ । एक व्यक्तिलाई दैनिक ५० ग्राम प्रोटिन चाहिन्छ । प्रोटिन माछा, मासु, दहीदूध र गेडागुडीबाट प्राप्त हुन्छ । माछा, मासु र दहीदूध जस्ता खानेकुरा सर्वसाधारणले दैनिक भोजनमा समावेश गर्न नसक्ने हुँदा नेपालको सन्दर्भमा दाललाई प्रोटिनको प्रमुख स्रोत मानिँदै आएको छ । तर, हामीले खाने गरेको दालको मात्राले शरीरलाई आवश्यक प्रोटिनको मात्रा पूर्ति गर्न सक्दैन ।
शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई मजबुत बनाइराख्न भिटामिन र मिनरल आवश्यक पर्छन् । भिटामिन र मिनरल फलफूल र काँचो (सलाद) खानेकुराबाट प्राप्त हुन्छ । हामीकहाँ अझै पनि फलफूललाई दैनिक भोजनमा समावेश गर्ने चलन छैन ।
घाम ताप्नु
शहरीकरण बढ्नुसँगै मानिसको घामसँगको साहचर्य कम हुँदै गएको छ । एक त शहरी मानिससँग घाम ताप्न फुर्सद हुँदैन । अर्काे, घाम ताप्नका लागि सहज स्थल पनि उपलब्ध हुँदैनन् । भिटामिन डी घामबाट नै प्राप्त हुन्छ । भिटामिन डी खानाबाट पूर्ति हुँदैन । हरेक दिन बिहान कम्तीमा पनि १० मिनेट नांगो पिठ्यूँ घामतर्फ फर्काएर घाम ताप्ने गर्नुपर्छ । भिटामिन डीको कमीले पनि धेरै शारीरिक र मानसिक समस्या निम्तन्छन् । खास गरी, अहिले उच्च स्वास्थ्य समस्याका रूपमा देखिएका शरीर दुखाइ र डिप्रेसनमा भिटामिन डीको कमी पनि प्रमुख कारणअन्तर्गत नै पर्छ ।
निन्द्रा
एक रातको निन्द्राले सात रात पिर्छ भन्ने कहावत नेपाली समाजमा प्रचलित छ । पर्याप्त निन्द्रा भएन भने मानिस शारीरिक र मानसिक रूपमा कमजोर बन्न पुग्छ । एक घण्टा मात्र निन्द्रा पुगेन भने दिमाग ‘स्लो’ हुन्छ । संसारभर शहरी मानिसका लागि निन्द्रा दुर्लभ हुँदै गएको छ । गहिरो निन्द्रा प्राप्त गर्न एडेनोसिन र मेलाटोनिन नामका रसायन शरीरमा ‘रिलिज’ हुनुपर्छ । थकाइ नलागी एडेनोसिन रिलिज हुँदैन । शहरका मानिस शारीरिक श्रमजन्य काम कम गर्ने भएकाले पनि उनीहरूलाई कम निन्द्रा लाग्छ वा लाग्दै लाग्दैन । निन्द्राका लागि बिहान कम्तीमा पनि एक घण्टा व्यायाम गर्ने वा पसिना आउने गरी कुनै पनि श्रमजन्य काम अनिवार्य गर्नुपर्छ । मेलाटोनिनका लागि सुत्ने कोठामा गाढा अँध्यारो आवश्यक पर्छ । त्यसैले सहज निन्द्राका लागि कतैबाट पनि उज्यालो नआउने अँध्यारो, गर्मी नभएको र आवाज नआउने कोठा चाहिन्छ ।
निद्र्वन्द्व मन
निद्र्वेन्द्व मनलाई अधिकांशले सकारात्मक सोचका रूपमा अथ्र्याउने गरेका छन् । अर्थात्, स्वास्थ्यका लागि सकारात्मक सोचको आवश्यकता रहने तथ्यलाई सबैले स्विकारेका छन् । हाम्रो दृष्टिकोण नकारात्मक भयो भने त्यसले पनि रोग निम्त्याउँछ । नकारात्मक सोचाइमा बढी केन्द्रित हुने मस्तिष्क पनि रोगको जननी हो । पछिल्ला बैज्ञानिक अनुसन्धानले नकारात्मक विचारलाई सम्पूर्ण मानसिक रोगको स्रोतका रूपमा अथ्र्याएका छन् । नकारात्मक विचारलाई छाड्न नसक्नु नै मानसिक रोग निम्त्याउनु हो ।
सकारात्मक सोच आफैँमा पर्याप्त हुँदैन । काम नगरेको सकारात्मक सोचले खासै अर्थ राख्दैन । सकारात्मक सोच त सोच्ने तर उक्त सोचलाई कार्यान्वयनमा लान नसक्ने हो भने कुुनै अर्थ हुँदैन । सकारात्मक सोचको विषयमा तीव्र प्रचारप्रसार भइरहेको वर्तमान समयमा अधिकांशलाई सकारात्मक सोच्नुपर्छ भन्ने थाहा छ । सकारात्मक सोचाइ त राख्ने तर उक्त सोचाइलाई व्यवहारमा अनुवाद गर्न नसक्ने अवस्था भयो भने त्यही सकारात्मक सोचाइ नै नकारात्मक सोचाइ बन्न पुग्छ । अर्काेतर्फ, सधँै सकारात्मक सोचाइलाई कायम राखिराख्न पनि सकिन्न । देश, काल र परिस्थितिले सोचाइलाई प्रभाव पार्छन् ।
यसरी हेर्दा सकारात्मक सोचको पनि एउटा सीमा छ । दिगो रूपमा आफूलाई सकारात्मक बनाइराख्न आत्मज्ञानको आवश्यकता पर्छ । आत्मज्ञान भन्नेबित्तिकै धेरैलाई अध्यात्मको माथिल्लो चरण वा उपलब्धि लाग्नसक्छ । तर, मैले यहाँ मनको आधारभूत विषयलाई बुझ्नुपर्छ भन्न खोजेको हो । समस्या वा दुःखको बोध बाहिरी परिस्थितिले भन्दा पनि मेरो मनको बुझाइ वा समझले निर्माण हुन्छ भन्ने कुरा बुझ्न सकियो भने मानिस स्वतः सकारात्मक बन्न पुग्छ । त्यसपछि मन द्वन्द्वरहित अर्थात् निद्र्वन्द्व बन्न पुग्छ ।
अन्त्यमा, मानसिक समस्याले शारीरिक रोग निम्त्याउँछ भने शरीरका कारण पनि मानसिक रोग लाग्नसक्छ । स्वास्थ्य रक्षालाई समग्रतामा बुझ्न सक्नुपर्छ । कुनै एक विधि र प्रयोगले मात्र स्वस्थ रहन सकिन्न । मानसिक र शारीरिक दुवै पक्षलाई सम्बोधन गर्ने गरी आनीबानी, व्यायाम, भोजन, निन्द्रालगायत विषयलाई सन्तुलित बनाउन सकियो भने मात्रै स्वस्थ रहन सकिन्छ ।
manokranticentre@gmail.com