बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

राम्रो अनलाइन     १५ जेठ २०८३, शुक्रबार
बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड तस्बिरः संयुक्त राष्ट्रसङ्घ

काठमाडौँ–संयुक्त राष्ट्रसङ्घले विश्वभर बढ्दो द्वन्द्व, राजनीतिक अस्थिरता तथा सुरक्षा चुनौतीका बीच शान्ति स्थापनाको आवश्यकता झन् बढ्दै गएको बताएको छ । 

विगत ७८ वर्षदेखि यो विश्व संस्थाले द्वन्द्वप्रभावित क्षेत्रमा शान्ति सैनिकको उपस्थितिले हिंसा न्यूनीकरण, नागरिक सुरक्षा तथा दिगो शान्ति प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ ।

महासचिव एन्टोनियो गुटेरेसले पनि वर्तमान समयमा शान्ति स्थापना स्थायित्व, सुरक्षा र आशा पुनःस्थापित गर्ने प्रभावकारी तथा कम खर्चिलो माध्यम भएको बताउनुभएको छ । 

राष्ट्रसङ्घीय शान्ति सैनिक दिवसका अवसरमा आज एक सन्देश दिँदै उहाँले शान्ति ‘मिसन’लाई प्रभावकारी बनाउन सदस्य राष्ट्रहरूको निरन्तर राजनीतिक समर्थन र भरपर्दो आर्थिक सहयोग अपरिहार्य भएको बताउनुुभएको हो । 

राष्ट्रसङ्घका अनुसार ‘शान्तिमा लगानी गरौँ’नाराका साथ यो  दिवस आज विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदैछ । हाल विश्वका ११ वटा शान्ति मिसनमा ५१ हजारभन्दा बढी सैनिक, प्रहरी तथा नागरिक कर्मचारी कार्यरत छन् । बदलिँदो भू–राजनीतिक परिस्थितिबीच उत्पन्न जटिल चुनौती सामना गर्दै उनीहरूले द्वन्द्वग्रस्त समुदायमा शान्ति, सुरक्षा र आशाको सन्देश प्रवाह गरिरहेका छन् ।

सन् १९४८ यता शान्ति स्थापनाका क्रममा हिंसा, दुर्घटना तथा रोगका कारण चार हजार पाँच सयभन्दा बढी शान्ति सैनिक, प्रहरी तथा नागरिक कर्मचारीले ज्यान गुमाइसकेका छन् । सन् २०२५ मा मात्रै ५९ जना शान्ति सैनिकले ज्यान गुमाएका थिए ।

राष्ट्रसङ्घले लाइबेरिया, नामिबिया, कम्बोडिया, सियरा लियोन र टिमोर–लेस्टेलगायत द्वन्द्वप्रभावित मुलुकमा शान्ति सैनिकको उपस्थितिले दीर्घकालीन शान्ति स्थापना तथा सामाजिक पुनर्निर्माणमा महत्वपूर्ण योगदान पुगेको जनाएको छ ।

प्रतिक्रिया