काठमाडौं– होर्मुज जलमार्गनजिक करिब १६ सय जहाज अझै अलपत्र अवस्थामा छन् । दुई महिनाभन्दा बढी समयदेखि जलमार्ग खुल्ने प्रतीक्षामा रहेका सिपिङ कम्पनीहरूले अहिले महँगो र जोखिमपूर्ण अवस्था सामना गरिरहेको सीएनएनले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सुरु गरेको ‘गाइड’ अपरेसन ४८ घण्टा मात्र सञ्चालनमा रह्यो । यस अवधिमा दुईवटा जहाज मात्रै सुरक्षित रूपमा बाहिर निकालिएको बताइएको छ ।
करोडौँ डलर मूल्यका जहाज र कार्गोको सुरक्षालाई लिएर कम्पनीहरू गम्भीर चिन्तामा छन् । बिमा कम्पनीहरूको सम्झौतामा ‘युद्धकालीन प्रावधान’ समावेश हुने भएकाले युद्धका कारण फसेका जहाजहरूको क्षतिपूर्ति दिन उनीहरू बाध्य हुँदैनन् ।
यसकारण वित्तीय सुरक्षा सुनिश्चित नभई जहाज सञ्चालन गर्नु कम्पनीहरूका लागि निकै महँगो र जोखिमपूर्ण बन्न सक्ने बताइएको छ ।
लस एन्जलस पोर्टका कार्यकारी निर्देशक जीन सेरोकाका अनुसार अमेरिकी सैन्य सुरक्षा उपलब्ध भए पनि सिपिङ कम्पनीहरूले निकै सावधानीपूर्वक अवस्था मूल्यांकन गरिरहेका छन् । उनका अनुसार कम्पनीहरू यो मार्ग प्रयोग गर्नुअघि पूर्ण सुरक्षा सुनिश्चित गर्न चाहन्छन् ।
अन्तर्राष्ट्रिय सामुद्रिक संगठनका अनुसार युद्ध सुरु भएयता ३२ वटा जहाजमाथि मिसाइल आक्रमण भइसकेको छ । ती घटनामा १० जनाको मृत्यु भएको छ । ठूलो संख्यामा घाइते भएका छन् ।
अन्तर्राष्ट्रिय सामुद्रिक संगठनले जहाजहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । नौसैनिक सुरक्षा दीर्घकालीन समाधान नहुने पनि स्पष्ट पारेको छ ।
हाल सिपिङ कम्पनीहरू जहाजहरूलाई आफ्नै जोखिममा त्यहीँ रोकिराख्ने वा सावधानीपूर्वक बाहिर निकाल्ने भन्ने दोधारमा रहेका बताइएको छ ।