काठमाडौँ–निर्वाचन आयोगले संवैधानिक आयोगका प्रमुखहरूसँग छलफल गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफल बनाउन आयोगले आइतबार संवैधानिक आयोगहरूसँग छलफल गरेको हो । निर्वाचन आयोगले निर्वाचनलाई सफल बनाउन संवैधानिक आयोगहरूको सक्रिय सहयोगको आवश्यकता महसुस गरेर छलफलमा बोलाएको आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले जानकारी दिए ।
समानुपातिक समावेशिताको सन्दर्भमा आदिवासी जनजाति, दलितलगायतका समुदाय पहिचान गर्न आयोगलाई अन्योल हुने गरेकोले त्यसमा सहयोग गर्न आयोगले आग्रह गरेको उनले बताए । समानुपातिक समावेशिता लागू गर्दा वैवाहिक आधार वा जन्मसिद्ध आधार कुनलाई मान्यता दिने भन्ने विषयमा छलफल भएको पनि उनले जानकारी दिनुए ।
छलफलका क्रममा सबैको निष्कर्ष जन्मसिद्ध अधिकारलाई नै मान्यता दिनुपर्छ भन्ने रहेको उनले बताए । वैवाहिक आधार परिवर्तनशील हुने भएकाले त्यसलाई आधार बनाउनु उपयुक्त नहुने सुझाव आफूहरूले दिएको उनको भनाइ छ । उनले आदिवासी जनजाति समुदायका धेरै नागरिकले खस नेपाली भाषा नबुझ्ने भएकाले निर्वाचन प्रचारप्रसार मातृभाषामै गर्नुपर्ने सुझाव पनि दिएको बताए ।
उनले निर्वाचनलाई कम खर्चिलो बनाउन पनि आयोगलाई सुझाव दिएको जानकारी दिए । आयोगले सबै राजनितिक दलका उम्मेदवारहरूलाई बोलाएर उनीहरूको घोषणापत्रको बारेमा बहस गराइ जनतामाझ लैजाने व्यवस्था गर्न सुझाव दिएको उनले बताए ।
मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले मुस्लिम समुदायलाई निर्वाचनमा सक्रिय सहभागिता गराउन मुस्लिम आयोगले महत्वपूर्ण भूमिका खेल्ने बताए । मुस्लिम समुदायलाई निर्वाचनबारे सचेत गराउन मस्जिद र जुमाको नमाजलाई माध्यम बनाइने उनको भनाइ छ । हरेक शुक्रबार जुमाको नमाजमा सहभागी मुस्लिम समुदायलाई इमाममार्फत निर्वाचनको आवश्यकता, महत्त्व र सहभागिताबारे सचेत गराइने उनले जानकारी दिए ।
मुस्लिम आयोगले आफ्नै किसिमको तयारी गरेर निर्वाचनलाई सहज, सरल र सफल बनाउन निर्वाचन आयोगलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको पनि उनले बताए । आयोगसँगको छलफलका क्रममा संवैधानिक आयोगहरूले आ(आफ्नो क्षेत्रबाट निर्वाचन स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गर्नको लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । आयोगहरुले निर्वाचनको आयोगसँग समन्वय गरेर निर्वाचनको अनुगमन गर्ने विषयमा समेत छलफल भएको थियो ।