भदौ २४ गतेको षड्यन्त्र नियोजित थियोः पूर्वगृहमन्त्री लेखक

राम्रो अनलाइन     १४ पुस २०८२, सोमबार
भदौ २४ गतेको षड्यन्त्र नियोजित थियोः पूर्वगृहमन्त्री लेखक

काठमाडौं– पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले गत भदौ २४ गते देशमा भएका हिंसात्मक घटना कुनै नेपाली मन भएका व्यक्तिले गर्न नसक्ने बताएका छन् । 

लेखकले सोमबार भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगसमक्ष प्रस्तुत गरेको लिखित धारणामा यस्तो बताएका हुन् ।

‘मेरो राजीनामा पछि भदौ २४ गतेका दिन जेजस्ता हिंसात्मक एवं राष्ट्रिय अस्तित्व, स्वाभिमान र लोकतन्त्रविरुद्धका घटना भए, ती कुनै देशभक्त नेपालीले कल्पना गर्न सक्ने कुरा थिएनन् । राष्ट्रका प्रमुख निकायहरू सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, राष्ट्रपति भवनसहित राज्यका तीनै प्रमुख अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका जलाएर खरानी बनाउने दुस्साहस कुनै नेपाली मनले गर्न सक्छ भन्ने म कल्पना गर्न सक्दिनँ,’ उनले भनेका छन् । 

लोकतन्त्रमा शक्ति सन्तुलन र पृथकीकरणको सिद्धान्तका प्रतिनिधि संस्थामाथिको आक्रमण जेनजी पुस्ताको सोच र योजनाभन्दा बिल्कुल बाहिरको विषय भएको उनको दाबी छ । ‘यो नियोजित षड्यन्त्र नै थियो । यो राष्ट्र र लोकतन्त्र माथिको नियोजित आक्रमण हो भन्ने मेरो ठम्याइ छ,’ पूर्वगृहमन्त्री लेखकले भनेका छन् । 

गृह मन्त्रालयको राजनीतिक नेतृत्वमा रहेको नाताले त्यस दुःखद घटनाबाट आफू अत्यन्त मर्माहत भएको समेत बताएका छन् । ठूलो पीडाबोध भएकाले देशको गृहमन्त्रीको पदमा रहेको व्यक्तिले पदीय नैतिक जिम्मेवारी बोक्नुपर्छ भन्ने दृढ संकल्पका साथ नैतिकताका आधारमा तत्काल घटनाको नैतिक जिम्मेवारी लिई राजीनामा गरेको तर्क उनले पेस गरेका छन् ।

‘म अहिले पनि भन्छु– भाद्र २३ को घटना हुँदा म देशको गृहमन्त्री थिएँ, मैले गृहमन्त्रीका हैसियतले काम गर्दा सदैव नेपालको संविधान, प्रचलित अन्य कानुन, गृह मन्त्रालयको जिम्मेवारीसँग सम्बन्धित सरकारका नीतिभित्र रहेर असल मनसायका साथ काम गरेको छु र यी सबै विषयका साथै मेरो व्यक्तिगत र पदीय नैतिक जिम्मेवारीलाई कहिल्यै बिर्सिएको छैन,’ उनले भनेका छन् । 
 

प्रतिक्रिया