श्रम संस्कृति पार्टीले उपाध्यक्ष देवराज लामालाई गर्‍यो निलम्बन

राम्रो अनलाइन     ०२ पुस २०८२, बुधबार
श्रम संस्कृति पार्टीले उपाध्यक्ष देवराज लामालाई गर्‍यो निलम्बन

धरान– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामालाई निलम्बन गरेका छन्।

बम विस्फोटको पुरानो घटनामा संलग्न भएको आरोपमा प्रहरीले लामालाई पक्राउ गरेपछि बुधबार साम्पाङले राज्यको अनुसन्धानलाई सघाउने प्रतिबद्धता व्यक्त गर्दै उपाध्यक्ष लामालाई अनुसन्धान नटुंगिएसम्मका लागि पार्टीको जिम्मेवारीबाट निलम्बन गरिएको घोषणा गरेका हुन्।

पार्टी अध्यक्ष साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोष्ट गर्दै निर्दोष सावित नभएसम्म उपाध्यक्ष पदबाट निलम्बन गरिएको बताएका छन्। 

उनी भन्छन्, ‘गलतलाई गलत र सहीलाई सही भन्ने मान्छे हुँ, राज्यले गर्ने अनुसन्धानमा कुनै पनि किसिमको दबाब वा प्रभाव हाम्रो तर्फबाट हुने छैन।’

लामालाई काठमाडौंको कपनबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार पक्राउ गरेको थियो। २०८१ भदौ १४ गते भएको बम विस्फोटमा एक बालिकाको मृत्यु र २ जना घाइते भएको घटनामा उनीविरुद्ध मुद्दा दायर भएको थियो।

प्रतिक्रिया