मेलोडी खोजिरहेकी झुमा

राम्रो अनलाइन     ३० वैशाख २०७८, बिहिबार
मेलोडी खोजिरहेकी झुमा

आफ्नै माटोको ‘मेलोडी’ खोज्ने क्रममा अहिले झुमा मुन्धुममाथि काम गरिरहेकी छिन् । भन्छिन्, ‘हामी हाम्रो जरा बिर्सेर अन्यत्र बरालिएका छौँ ।’ 


डेढ दशकअघि धरानबाट रात्री बस चढेर काठमाडौँ हिँड्दा झुमा लिम्बुसँग एउटा सपना थियो– संगीत सिकेर ठूलो गायिका बन्ने । त्यतिबेलाको संगीतप्रतिको लगाव  अहिले पनि उत्तिकै छ उनीसँग । भन्छिन्, ‘जिन्दगीमा जे जति गरेँ, सबै गीत÷संगीतकै लागि गरेँ । यो बाट टाढिएर बस्न सक्दिनँ ।’
उनी यतिबेला गीत गाउने, एल्बम निकाल्ने ध्याउन्नमा मात्र छैनन् । नेपाली संगीतको ‘रुट’ के हो भन्ने बारेमा लामो समयदेखि अध्ययन÷अनुसन्धान गरिरहेकी छिन् । उनको गफ सुन्दैजाँदा अलमलमा पर्न सकिन्छ, उनी गायिका हुन् कि अनुसन्धाता ? 

गोरो मुहार, चिम्सा आँखा, थेप्चो नाक, छोटो कपाल भएकी यी गायिका अलिक विद्रोही छिन् ।  विद्रोहीमात्र हैन, आफ्नो अडानबाट हलचल नहुने उनको स्वभाव हो । ‘मैले जिन्दगीमा घरका मान्छेले अह्राएको कुनै पनि कुरा टेरेकी छैन होला,’ झुमा बाल्यकाल सम्झिन्छिन्, ‘किन अह्राएका होलान्, मेरो दिमाग छैन र जस्तो लाग्थ्यो ।  घरमा एकथोक काम गर्नू भन्थे, म अर्काे थरी काम गरिदिन्थेँ ।’ यतिमात्र हैन, एउटा काम गरिरहँदा, आमाले अर्काे काम अह्राइन् भने गरिरहेको कामै छोडेर खेल्न हिँडिदिन्थिन् । भन्छिन्, ‘काम गरिरहेकी छे भन्ने कुरा बुझ्नुपर्दैन ?’ झुमालाई त्यतिबेलाको आफ्नो व्यहोरा सम्झिँदा अहिले हास उठ्छ ।

स्कुल जान झुमालाई बहुतै अल्छी लाग्थ्यो । मन नलागेपछि किन स्कुल जाने ? बरु साथीहरूसँग खेलेरै दिन बिताइदिन्थिन् । ‘स्कुल मलाई जेलजस्तै लाग्थ्यो,’ उनी स्कुले जीवन सम्झिन्छिन्, ‘सरहरूले स्कुलमा थुनेर किताब पढाउँदाभन्दा डाँडाबाट गहिरातिर ठूलठूला ढुंगा गुल्ट्याइदिँदा रमाइलो हुन्थ्यो ।’ त्यसैले घरबाट तलतिर पर्ने स्कुल हैन, मास्तिर रहेको पहाड उक्लिन्थिन्, ढुंगा गुडाउन ।

गीत÷संगीतको परखमा उनी ‘अलराउन्डर’ हुन् । स्कुल पढ्दा नै नवीन के भट्टराई, रामकृष्ण ढकालको गीत जम्मै याद थियो । नारायणगोपालदेखि लिएर नयाँ–नयाँ गायकहरूको गीत सुन्थिन् । बारीमा जाँदादेखि सुत्दासम्म रेडियो झुमासँगै हुन्थ्यो । उनलाई गीतकार र गायिका बनाउन बाबाले किनिदिएको त्यो रेडियोको पनि ठूलो भूमिका छ । ‘तीन, चार कक्षा पढ्दा नै मलाई म पनि रेडियोमा गाउनेहरूले झैँ गाउन सक्छु भन्ने लागेको थियो,’ उनमा आत्मविश्वास सानैदेखि थियो ।

स्कुल, क्लबहरूमा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा गीत गाउनका लागि उनलाई बोलाइन्थ्यो । सात, आठ कक्षा पढ्दादेखि नै गाउँमा विभिन्न कार्यक्रम चलाउँथिन् । स्कुलमा हप्तामा एक दिन यस्तै संगीत कार्यक्रम राखिन्थ्यो । त्यसका लागि आफँै गीत लेख्थिन् । त्यसलाई ट्युन, म्युजिक पनि आँफैँ भर्थिन् । त्यतिबेला आफूले ‘डान्सिङ’ गीतहरू बनाउने गरेको सम्झिन्छिन् झुमा ।

स्कुलमा गीत गाउँदागाउँदै, रमाइलो गर्दागर्दै एसएलसी पनि सकियो । त्यसपछि उनी जन्मथलो ताप्लेजुङ, मैवाखोलाबाट धरान आइन् । धरानमा पनि उनीहरूको घर थियो । यसैबीचमा केही साथी मिलेर २०५८ सालमा ‘माया दौँतरी’ नामक लोकगीतको एल्बम निकाले । यसमा झुमाका चार वटा गीत समावेश छन् । यतिबेलासम्म पूर्वाञ्चलका पत्रपत्रिकामा उनको नाम आउन थालिसकेको थियो । उनले लेखेका गजलहरू पत्रिकामा छापिन्थे । पत्रकार साथीहरू पनि थुप्रै भइसकेका थिए । काठमाडौँतिर पनि उनका प्रशस्त साथी बनिसकेका थिए । पूर्व क्षेत्रमा उनी एकप्रकारले सेलिब्रिटीजस्तै बनिसकेकी थिइन् । लगभग सात महिनाजति धरान बसेपछि उनलाई लाग्यो– अब संगीत पढ्न काठमाडौँ जानुपर्छ ।

तर, परिवारले झुमालाई संगीत पढाउनकै लागि काठमाडौँ पठाउने सम्भावना थिएन । परिवारको उनलाई कमर्स पढाउने चाहना थियो । 
त्यसपछि उनी रेडियो नेपालमा स्वर परीक्षा दिएर तीन दिनमा फर्किन्छु भन्दै काठमाडौँतिर सोझिइन् । रेडियो नेपालमा स्वर परीक्षा दिइन्, पास पनि भइन् । घर फर्किन्छु भन्दै ढाँटेर राजधानीसम्म आएकी झुमाले अब गाउँ नफर्किने योजना बनाइसकेकी थिइन् । धरान छँदै काठमाडौँमा बस्ने ठाउँको पनि बन्दोबस्त गरिसकेकी थिइन्, नखिपोटस्थित भदैनीहरूको घर । आफू यतै बस्ने जानकारी घरमा दिएपछि थोरबहुत गाली पनि खाइन् । माइला दाइले त म्युजिक पढेर बस्ने भए अब घर नआउन आदेशै दिए । झुमाले पनि भनिदिइन्, ‘तिमिहरूको घरमा तिमरु नै बस, म आउँदिनँ ।’

उनले काठमाडौँ आएर ललितकला क्याम्पसमा प्लस टूसम्म पढिन् । स्कुल पढ्दादेखि नै उनले म्युजिक क्लासको बारेमा बुझिसकेकी थिइन् । ‘म्युजिकको चासो भएपछि पढाइ हुने ठाउँबारे सोधीखोजी गर्थें,’ उनी स्मरण गर्छिन्, ‘काठमाडौँमा रहेका साथीहरूसँग बुझ्थेँ । त्यसपछि नै हो, मलाई काठमाडौँ जाउँजाउँ लागेको ।’

काठमाडौँमा उनको अरू कुनै ठूला योजना थिएनन् । बस, संगीत सिक्नु थियो । यहाँ आउनेबित्तिकै एक इन्स्टिच्युटमा म्युजिक क्लासमा भर्ना भइन् । चित्त बुझेन । त्यसपछि चन्दनकुमार श्रेष्ठकोमा गइसकेपछि चाहिँ अन्त भौँतारिनुपरेन । अम्बर गुरुङसँग पनि धेरै कुरा सिकिन् । उनलाई त्यहाँसम्म पु¥याउन नवीन सुब्बा र पवित्रा सुब्बाको भूमिका छ । झुमा भन्छिन्, ‘त्यतिबेला एउटा ‘खत्रा’ गायिका बन्ने झोक चलेको थियो ।’
नेपालमा संगीतको संस्कृति बनिसकेको छ जस्तो लाग्दैन उनलाई । बने पनि फेद न टुप्पोको जस्तो बनेको उनको आरोप छ । आधुनिक, कमर्सियल गीतहरू बने । तर, योसँगै नेपालीहरूको संगीतको जरा चाहिँ कतै छुटेको हो कि जस्तो बुझेकी छिन् । ‘हाम्रो आफ्नै मेलोडी खोज्न सकिरहेका छैनौँ,’ उनी भन्छिन्, ‘म त्यही मेलोडीको खोजीमा छु ।’ 

संगीतमा इतिहास हुन्छ, कला हुन्छ, साहित्यिक पक्षहरू हुन्छन् । ‘यो सबै क्षेत्रलाई हेरेर राज्यले संगीतमा काम गर्नुपर्ने हो,’ उनी भन्छिन्, ‘तर, केही पनि काम भएको छैन ।’ 

नेपालको शास्त्रीय संगीत नै नभएको कुराले उनलाई बेला–बेलामा तनाव दिन्छ । उनले ‘इन्डियन क्लासिकल म्युजिक’ पढेकी छिन्, ‘इथ्निक क्लासिकल म्युजिक’ सिकेकी छिन्, थुप्रै विदेशी संगीतकारसँग काम गरेकी छिन् । नेपालको ‘इथ्निक साउन्ड’लाई सुरक्षा गर्ने काम होस् भन्ने उनको चाहना छ । 
यी गायिकालाई लाग्छ– विदेश जाँदा संगीत क्षेत्रबाट दुनियाँलाई देखाउनका लागि नेपालसँग केही पनि छैन । ‘म राग गाउन सक्छु, यो यहाँभित्र रहँदा त ठीक छ तर विदेश गएर म नेपालबाट आएको भनेर राग गाउन थालेँ भने उनीहरूले किन इन्डियन गीत गाको भनेर भन्छन्,’ उनले थपिन्, ‘हाम्रो शास्त्रीय संगीत नै छैन । पहिले–पहिले नेपालको भूगोल ठूलो हुँदा थियो तर नेपाल खुम्चिएसँगै त्यो छिमेकी देशको पोल्टामा गयो ।’

‘क्लासिकल म्युजिक’ खोज्ने क्रममै उनी अहिले मुन्धुममाथि काम गरिरहेकी छिन् । मुन्धुम नेपाली भूभागबाट उठेको एउटा दर्शन हो । त्यही भाषा, माटोबाट उठेको मेलोडीलाई ल्याएकी छिन् उनले । उनका अनुसार त्यो विश्वभरि नेपालबाहेक कसैले पनि मेरो भनेर दाबी गर्न पाउँदैन । त्यो नेपालको सम्पत्ति हो । आफूले मुन्धुमभित्रको एउटा मेलोडीमा काम गरेको र यस्ता मेलोडी नेपालमा थुप्रै हुन सक्ने उनले अनुमान गरेकी छिन् । भन्छिन्, ‘हामी हाम्रो जरा बिर्सेर अन्यत्र बरालिएका छौँ । मैले मुन्धुमभित्रको पनि सिंगिङ टेक्निकबारे अध्ययन गरेँ । अरू थुप्रै अध्ययन गर्नुपर्छ ।’

अहिले आएका गीत प्रायः कमर्सियल भएको बताउँछिन् उनी । देशविदेशमा बस्ने नेपालीलाई मनोरञ्जन दिए पनि देशका लागि यस्ता गीतले खासै योगदान नदिने झुमाको विश्वास छ । भन्छिन्, ‘सुन्न पनि हैन, नाच्नका लागि मात्र यस्ता गीत उपयोगी छन् । यस्ता गीतले ‘रुट’ धान्दैन ।’ रुट धान्नका लागि गीत गाएर बस्ने हैन, अनुसन्धान गर्नुपर्ने भन्दै हिजोआज उनी मुन्धुम संस्कृतिको अध्ययनमा व्यस्त छिन् । 

अनुसन्धानका लागि उनले गरेको प्रस्तावमा एकेडेमीले खासै चासो दिएन । त्यसैले एकेडेमीका हाकिमहरूलाई उनले भनिदिइन्, ‘काम नगर्ने भए एकेडेमी नै खारेज गरिदिए हुन्छ ।’ बजेट छैन भन्ने एकेडेमीले उनको भनाइ टारिदिएछ । ‘बजेट छैन भने स्टाफ किन राखेको त ?’ उनले आक्रोश पोखिछिन्, ‘मसँग म्युजिकमा गरिने यस्ता–यस्ता योजना छन्, कि काम गर्नलाई बजेट निकालिदिनू, हैन भने यो प्रोजेक्ट तपाईंहरूलाई नै दिन्छु, काम गर्नुस् भनेको, बोल्दैबोल्दैनन् ।’

संगीतमा लागेर यतिउति दुःख पाएँ भनेर गुनासो गर्ने गायिका होइनन् उनी । दुःख चाहिँ उनले पनि पर्याप्त पाएकी छिन् । उनका लागि आर्थिक अभाव सामान्यजस्तै बनिसकेको छ । आफूले गर्दै गरेको काममा केही कमाइ नभएपछि उनलाई घरबाटै खर्चबर्च आउँछ ।

साथीहरूका लागि झुमा एउटा साझा चौतारीजस्ती छिन् । उनीहरू ब्रेकअपदेखि श्रीमान्सँग झगडा परेको कुरासम्म उनलाई नै सुनाउँछन् । उनीहरूका दुःख सुनिदिन्छिन्, साथीहरू रुँदा उनको पनि अाँखा रसाउँछ । तर, आफ्ना दुःख अरूलाई देखाउँदिनन् । ‘दुःख भन्ने चिज के देखाउँदै हिँड्नु ?’ उनको मान्यता छ, ‘दुःख त आफूभित्रै राख्ने र पचाउने हो ।’ 
 

प्रतिक्रिया