तपाईं हामीलाई कुनै स्वास्थ्य समस्या भयो भने उपचारका लागि सम्भव भएसम्म पक्कै पनि विशेषज्ञ चिकित्सक नै खोजी गर्छौं । सम्बन्धित रोग विशेषज्ञ भेटिएन भने विशेषज्ञता हासिल गरेका जनरल फिजिसियन चिकित्सककोमा तपाईं हामी उपचारका लागि पुग्ने गर्छौं । कुन रोगको विशेषज्ञ चिकित्सक कुन अस्पताल वा क्लिनिकमा उपलब्ध हुन सक्छन् भनेर सोधखोज गर्ने आफन्त, साथीभाई, उपचारका लागि आउने बिरामीहरू प्रशस्तै हुन्छन् ।
रोग लागेपछि तपाईं हामी कोहीपनि गैरचिकित्सकबाट वा गैरवैज्ञानिक ढंगले उपचार गराउँदैनौँ । जो कोहीले पनि चिकित्सकको प्रेस्किप्सन बिना जथाभावी औषधि पसलहरूबाट आफूखुशी औषधि खरिद गरेर सेवन पनि गर्दैनौँ । यदि तपाईं मुटु वा मिर्गौला रोगबाट पीडित हुनुहुन्छ भने चिकित्सको सल्लाह बिना आफूखुशी औषधि खरिद गरेर पक्कै पनि सेवन गर्नु हुन्न् ।
तर, इन्ट्रल मेडिसिन प्रयोगमा केही हदसम्म सावधानी अपनाउने गरिए पनि एक्स्ट्रनल जस्तो कि छाला रोग उपचारमा प्रयोग गरिने मेडिसिन तथा उपचार पद्धतिमा भने अधिकांश बिरामीले लापार्वाही गरिरहेका छन् । छालामा त हो नी ! के फरक पर्ला र भनेर गैरचिकित्सक एवं गैरवैज्ञानिक ढंगबाट उपचार गराउनेहरूमा गम्भीर जनस्वास्थ्य समस्या देखा परिरहेको भेटिन्छ । सौन्दर्य केन्द्र, ब्यूटी पार्लर तथा अनधिकृत संस्थाहरूबाट छालारोगको उपचारका नाममा हुँदै आएको गैरवैज्ञानिक एवं गैरव्यवसायिक अभ्यासले नेपाली जनस्वास्थ्यमा गम्भीर समस्या उत्पन्नमात्र गरिरहेको छैन छाला रोगमा विशेषज्ञता हासिल गरेका विशेषज्ञ चिकित्सकहरूलाई चिन्तित पनि बनाएको छ ।
चिकित्सा विज्ञान निरन्तर अध्ययन र अभ्यासबाट खारिँदै र परिस्कृत हुँदै जाने विधा हो । पढेर एमबीबीएस गर्दैमा डाक्टर बन्न सकिँदैन । एमबीबीएस पास गरिसकेपछि बिरामीको उपचारका लागि योग्यता सावित गर्न नेपाल मेडिकल काउन्सिलबाट लिइने लाइसेन्स परीक्षा पनि उतीर्ण गर्नुपर्ने हुन्छ । एमबीबीएस पछि एमडी तथा पीएचडी गर्न थप अध्ययन र नियमित बिरामीको उपचारमा संलग्न रहेर कठोर अभ्यास र गहन अध्ययन गर्नुपर्ने हुन्छ । एक जना मेडिकल साइन्स पढ्ने व्यक्ति कुनै रोगको विशेषज्ञ चिकित्सक बन्नका लागि कम्तिमा पनि १० देखि १२ वर्षको समय लाग्छ ।
विशेषज्ञता हासिल गरिसकेपछि सबै कुरा जानिन्छ भन्ने पनि छैन । उपचार पद्धतिमा हुने परिवर्तन तथा नयाँ नयाँ रोग देखा परिरहने भएकाले विशेषज्ञ चिकित्सक पनि आफ्नो विषयमा थप अध्ययन गरिरहेका नै हुन्छन् । चिकित्सका लागि हरेक नयाँ केस र बिरामी अध्ययनकै पार्टका रूपमा रहेको हुन्छ । त्यसैले कुनै पनि स्वास्थ्य समस्यालाई गैरचिकित्सक वा विशेषज्ञता हासिल नभएका व्यक्तिबाट उपचार गराउनु भनेको आफ्नो स्वास्थ्यसँग खेलबाढ गर्नु हो । ज्यानलाई जोखिममा पार्नु हो ।
छालारोग उपचारमा अनइथिकल प्राक्टिस
छालारोग तथा सौन्दर्यसँग सम्बन्धित उपचारमा अहिले नेपालमा अनइथिकल प्रक्टिस डरलाग्दो ढंगले मौलाएको छ । विशेषगरी चिकित्सक नभएका व्यक्तिहरूले आफूलाई ‘स्किन स्पेसलिष्ट’ भनेर प्रस्तुत गर्दै इन्जेक्सन दिने, औषधि प्रेस्क्राइब गर्ने, लेजर, प्लाज्मा, पीआरपी जस्ता उपचार विधिहरू प्रयोग गरिरहेका छन् । जसले गर्दा छालामा दाग बस्ने, संक्रमण हुने, छाला पातलो हुने, दीर्घकालिन जटिलता देखा पर्ने र बिरामीको ज्यानसमेत जोखिममा पार्ने घटनाहरू समेत बढ्दै गएका छन् ।
छालारोग उपचार अहिले एस्थेटिक्स अर्थात सौन्दर्यसँग बढी केन्द्रित भएको छ । विशेष गरेर महिलाहरू आफ्नो अनुहार चम्किलो र गोरो बनाउन भन्दै गैरचिकित्सक एवं गैरवैज्ञानिक ढंगबाट उपचार गराइरहेका छन् । सामाजिक सञ्जालहरूमा आउने आकर्षक विज्ञापन तथा आफूलाई सौन्दर्य विशेषज्ञ भन्दै भिडियोमार्फत उपचार पद्धतिका बारेमा प्रचारप्रसार गरिरहेकाहरूबाट धेरैले आफ्नो सौन्दर्य गुमाउनुका साथै छाला जटिलभन्दा जटिल समस्या देखा पर्ने अवस्था सिर्जना गराइरहेका छन् ।
लेजरको जथाभावी प्रयोग
लेजर भनेको किरणको माध्यमले उपचार गरिने पद्धति हो । विशेष खालको मेसिनबाट इलेक्ट्रोम्याग्नेटिक रेडिएसनद्वारा यो पद्धतिमा उपचार गरिन्छ । विशेष खालको कृत्रिम प्रकाश, जसलाई मेसिनको सहायताबाट एकत्रित गर्दा खास प्रकारको शक्ति निस्कन्छ, त्यही शक्तिको माध्यमबाट यो विधिमा उपचार हुन्छ । लेजरको प्रयोग कुनै अंगलाई काट्न, प्वाल पार्न, फोर्न, क्षति गर्न र उत्तेजित गर्न प्रयोग गरिन्छ । सबैभन्दा पहिला आँखाको अपरेसनमा प्रयोग भएको यो विधि अहिले मानव शरीरका विभिन्न भागका उपचारमा प्रयोग गरिन्छ ।
सन् १९६० पछि छालाका विभिन्न समस्यामा लेजर प्रयोग हुन थालेको हो । छालाको उपचारमा प्रयोग हुन थालेपछि लेजरलाई कस्मेटिक प्रयोजनसँग पनि जोड्न थालियो ।
लेजर दुई प्रकारका हुन्छन्, एब्लेटिभ र ननएब्लेटिभ । एब्लेटिभ लेजरले छालाको माथिल्लो तहमा घाउ बनाउँछ । ननएब्लेटिभले छालाको माथिल्लो भागमा घाउ नबनाई छालामा असर देखाउँछ । लेजरले अनुहारमा भएका कोठी, ट्याटू, मुसा, जन्मजात रहेका नीलो रङका कोठी निकाल्न र अनावश्यक रौँ हटाउन सकिन्छ । एब्लेटिभ लेजर गर्नुपर्दा लेजर गर्ने भागमा अस्थायी एनेस्थेसिया दिएपछि कोठी तथा दागको प्रकार हेरेर कुन खालको लेजर प्रयोग गर्नुपर्ने हो, त्यो निक्र्यौल गरिन्छ । लेजरमा किरणको माध्यमबाट ‘अनवान्टेड टिस्यू’ लाई हटाउने गरिन्छ । यो पद्धतिमा ब्लेडले चिरेजस्तो नभए पनि दाग तथा धब्बा भएको ठाउँमा एक किसिमको सर्जरी नै भएको हुन्छ ।
सीओटू, एर्बियम याग, एनडी याग आदिमध्ये कस्तो समस्यामा कस्तो खालको लेजर प्रयोग गर्ने भन्ने कुरा विशेषज्ञ चिकित्सकले मात्र निक्र्यौल गर्न सक्छन् । अहिले आईपीएल (इन्टेन्स पल्स्ड लाइट), जुन एक प्रकारको उपकरण हो, यसलाई लेजर हो भन्दै प्रचार गर्ने गरिएको छ ।
छालासम्बन्धी विभिन्न रोगमा लेजरले जादु गरेजस्तै क्षणभरमा चट पारिदिने जस्ता भ्रामक प्रचारका कारण धेरैले आफ्नो छालाको भइरहेको सौन्दर्य पनि गुमाइरहेका छन् । आईपीएल एउटै मेसिनमा रौँ हटाउने, डण्डीफोर हटाउने, चायापोतो हटाउने, चाउरीपन हटाउने भन्दै विभिन्न वेभलेन्थ फिक्स्ड गरिएका हुन्छन् । यसलाई सामान्य तालिम लिएकाले जथाभावी ढंगले चलाइरहेका छन् ।
ब्युटिपार्लरले समेत यस्ता आईपीएल मेसिन राखेर रौँ हटाउने, चाउरी हटाउने भन्दै सेवा दिन थालेपछि थप भ्रम र अन्योल सिर्जना भएको छ । वास्तवमा यो लेजर होइन । लेजरको प्रकारअनुसार त्यसमा छुट्टाछुट्टै वेभलेन्थ सेट गरिएको हुन्छ । कस्तो समस्यामा कुन वेभलेन्थको लेजर प्रयोग गर्नुपर्छ भन्ने जानकारी नभईकन लेजर प्रयोग गर्दा त्यसले नकारात्मक असर देखाउँछ । छालाको समस्यामा कसैले लेजर प्रयोग गर्दै छ भने उसले लेजरको बारेमा राम्रोसँग जानकारी हासिल गर्नुका साथै ऊ छालारोग विशेषज्ञ हुनु पनि जरुरी छ । ‘मेसिन हो, सिकेपछि जसले चलाए पनि हुन्छ’ भन्ने ढंगले जथाभावी लेजर प्रयोग गर्नु हुँदैन ।
अत्याधुनिक एउटै लेजर मेसिनको एक करोड रुपैयाँसम्म पर्छ । त्यसैले लेजर जहाँसुकै सर्वसुलभ ढंगले उपलब्ध छैन भन्ने बुझ्नु जरुरी छ । धेरैले आईपीएल मेसिनलाई नै लेजरका रूपमा प्रचार गरेकाले धेरैलाई लेजरसम्बन्धी भ्रम रहेको छ ।
छालारोग विशेषज्ञ चिकित्सकले पनि लेजर सम्बन्धी छुट्टै तालिम हासिल गर्नुपर्ने हुन्छ । चिकित्सक हुँदैमा लेजर गर्न मिलिहाल्छ वा सकिन्छ भन्ने होइन । लेजरसम्बन्धी विशेष दक्षता र ज्ञान हासिल गरेरमात्रै उपचारमा लेजर प्रयोग गर्नुपर्ने हुन्छ । गैरचिकित्सक जसले शरीरको ननलिभिङ पार्ट जस्तै कपाल, नङ आदिको हेरचाह गर्ने दक्षता राख्छन् उनीहरूले विशेषज्ञ चिकित्सकले पनि तालिमा लिएपछि मात्र प्रयोग गर्न सक्ने लेजर जस्तो संवेदनशील उपकरण प्रयोग गर्नु स्वास्थ्य क्षेत्रमा गम्भीर अनइथिकल प्रक्टिस हो । (प्रा. डा. कर्ण छाला, हेयर ट्रान्सप्लान्ट तथा सौन्दर्य विशेषज्ञ हुन्)