प्रदेश सरकारको बजेट आज सार्वजनिक गर्दै

राम्रो अनलाइन     ०१ असार २०८२, आइतबार
प्रदेश सरकारको बजेट आज सार्वजनिक गर्दै

काठमाडौं– सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष (आव) २०८२/८३ को बजेट सार्वजनिक गर्दैछन्। संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले हरेकवर्ष असार १ मा बजेट सार्वजनिक गर्नुपर्ने प्राबधान छ। सोहि अनुरुप आज सातवटै प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीहरुले बजेट प्रस्तुत गर्न लागेका हुन्।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा बजेट सँगै आर्थिक विधेयक र विनियोजन विधेयक पनि पेस गर्ने कार्यसूची रहेको छ। कोशी सरकारले गत वर्षकै आकारमा बजेट ल्याउने तयारी गरेको छ। कोशीले गत वर्ष ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको थियो।

मधेश प्रदेश सरकारले कृषिक्षेत्रको आमूल सुधारलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ। मधेशमा गत वर्ष ४३ अर्ब ८९ करोड २१ लाख रुपैयाँको बजेट आएको थियो। बाग्मती प्रदेशले आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा ६८ अर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ। आर्थिक वर्ष २०८१र८२ मा बागमतीले ६२ अर्ब ७० करोड बराबरको बजेट ल्याएको थियो।

गण्डकी प्रदेश सरकारले गत वर्ष ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट सार्वजनिक गरेको थियो। पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर गण्डकी प्रदेशले बजेट ल्याउँदै छ। बजेट प्रस्तुत गर्नकालागि लुम्बिनी प्रदेश सभाको बैठक दिउँसो तीन बजे बोलाइएको छ। लुम्बिनी प्रदेश सरकारले ३२ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८१र८२ मा ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो। तर यस वर्ष ३२ अर्बको सिलिङ तोकिएको थियो।

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१र८२कै हाराहारीमा नयाँ बजेट ल्याउने तयारी गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१र८२ मा २९ अर्ब २६ करोड ५९ लाख बराबरको बजेट प्रस्तुत गरेको थियो। कर्णाली प्रदेश सरकारले आगामी आवका लागि पनि चालु आर्थिक बर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ। चालु आर्थिक बर्षमा कर्णाली सरकारको बजेट ३१ अर्ब ४१ करोड ४१ हजार छ। आगामी बर्ष पनि त्यही हाराहारीमा बजेट ल्याउने तयारी भएको कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव बिक्रम शाहले बताएका छन्।

प्रतिक्रिया