हाभर्ड विश्वविद्यालयको उदयमान नेता कार्यक्रममा पत्रकार परियार छनोट

राम्रो अनलाइन     ३० वैशाख २०८२, मङ्गलबार
हाभर्ड विश्वविद्यालयको उदयमान नेता कार्यक्रममा पत्रकार परियार छनोट

काठमाडौँ–पत्रकार एवं कांग्रेस सभापति शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियार संयुक्त राज्य अमेरिकाको हाभर्ड विश्वविद्यालयको ‘उदयमान नेता’ कार्यक्रमका लागि  छनोट भएका छन्।

विश्वको प्रतिष्ठित हाभर्ड विश्वविद्यालयले विभिन्न देशमा नेतृत्वमा जान सक्ने सम्भावना भएका व्यक्तिहरूको लागि बनाएको ‘इमर्जिङ लिडर्स’ कार्यक्रममा यस वर्ष सन् २०२५ का लागि नेपालबाट परियार छनोट भएका हुन्।

उक्त कार्यक्रमका लागि आफू अहिले बोष्टनमा रहेको हाभर्ड विश्वविद्यालयको हाभर्ड केनेडी स्कुलमा अध्ययनरत रहेको उनले जानकारी गराए। कार्यक्रममा विश्वको राजनीतिक परिवेश, राजनीतिक मुद्दाहरू, एजेण्ड छनोट, राजनीतिमा टेक्नोलोजीको प्रयोग, आर्टिफिसियल इन्टेलिजेन्ट, द्वन्द्व व्यवस्थापनलगायत विविध विषयमा हाभर्ड विश्वविद्यालयका प्राध्यापकहरूको अध्यापन गराउने छन्। कार्यक्रममा विभिन्न देशका ५० जना सहभागी छन्।

यो कार्यक्रममा लागि विश्वका विभिन्न देशका राजनीतिकर्मी, सरकारी उच्च पदमा रहेका व्यक्तिहरूका साथै विभिन्न निजि क्षेत्रको कार्यकारी पदमा बसेका व्यक्तिहरूको सहभागिता रहने गरेको छ ।

पत्रकार परियार यसअघि सभापति देउवा प्रधानमन्त्री हुँदा दुई पटकसम्म प्रेस सल्लाहकारको भूमिकामा थिए। कांग्रेसको महासमिति सदस्य समेत रहेका परियार पार्टीको केन्द्रीय जनसम्पर्क समन्वय विभागको सदस्य पनि हुन्।
 
समाजशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएका उहाँले यसअघि अमेरिकी सरकारको छात्रवृत्तिमा अमेरिकाको ओहायो विश्वविद्यालयबाट अमेरिकन मिडिया र सञ्चार अध्ययन गरेका थिए।

प्रतिक्रिया