जिपी कोइराला उपचार केन्द्रमा ‘हेमोडायलासिस’ सेवा सुरु

राम्रो अनलाइन     १९ वैशाख २०८२, शुक्रबार

तनहुँ– जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा मिर्गौलाका बिरामीको उपचारका लागि ‘हेमोडायलासिस’ सेवा आजदेखि सुरु भएको छ ।

यसअघि डायलासिसको उपचार सेवा सञ्चालन गर्न स्वीकृति लिन गरिएको परीक्षण सफल भएपछि सेवा प्रवाह सुरु गरिएको केन्द्रका कार्यकारी प्रमुख डा रामकुमार श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार सेवा सञ्चालनका लागि सातवटा मेसिन जडान गरिएका छन् । सेवा लिनका लागि ३० जना बिरामीले यसअघि नै नाम दर्ता गराइसकेका छन् । डा श्रेष्ठले विभागबाट अनुगमन तथा निरीक्षणपछि नियमित सेवा सञ्चालनका लागि स्वीकृति पाएको बताउनुभयो । यहाँ सेवा सञ्चालनका लागि लायन्स क्लब अफ खैरेनीटार, म्याग्दे र लायन्स क्लब अफ शुक्लागण्डकी सिस्टर्सलगायत संस्थाले सहयोग गरेका पनि उनले जानकारी दिए ।   

यो सेवा सञ्चालन भएपछि तनहुँका साथै स्याङ्जा, कास्की, लमजुङ, नवलपुरलगायत जिल्लाका बिरामीले डायलासिस सेवा लिन सहज हुने लायन्स हेमोडायलासिस सेन्टर आयोजनाका  संयोजक सुजित हिराचनले बताए । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बिहीबार हेमोडायलासिस युनिटको उद्घाटन गरेसँगै सेवा सुरु भएको हो ।  

प्रतिक्रिया