श्रमिकको न्यूनतम् पारिश्रमिक १५ हजार पुर्‍याउने सरकारको घोषणा

आर्थिक वर्षदेखि दैनिक ज्याला ५ सय ७७ कायम गरिने 
राम्रो अनलाइन     १८ वैशाख २०७८, शनिबार
श्रमिकको न्यूनतम् पारिश्रमिक १५ हजार पुर्‍याउने सरकारको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकहरूको न्यूनतम् पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शनिबार आगामी आर्थिक वर्ष २०७८।७९ देखि लागू हुनेगरी श्रमिकको न्यूनतम् पारिश्रमिक वृद्धि गर्ने घोषणा प्रधानमन्त्री ओलीले गरेका हुन्।

आगामी आर्थिक वर्षदेखि श्रमिकको न्यूनतम् पारिश्रमिक मासिक १५ हजार रुपैयाँ पुग्ने ओलीले बताए । हाल श्रमिकहरूको न्यूनतम् पारिश्रमिक मासिक १३ हजाार ४ सय ५० तोकिएको छ भने दैनिक ५ सय १७ तोकिएको छ।

अगामी आर्थिक वर्षदेखि दैनिक ज्याला ५ सय ७७ कायम गरिने प्रधानमन्त्री ओलीले जानकारी दिए।

गत वर्ष श्रमिकहरूको न्यूनतम् पारिश्रमिक पुनरावलोकन गर्नुपर्ने भए पनि सरकारले न्यूनतम् पारिश्रमिक पुनरावलोकन गर्न सकेको थिएन। यस वर्ष पनि श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन हुन नसकेको भन्दै आगामी आर्थिक वर्षबाट लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने प्रधानमन्त्री ओलीले घोषणा गरे।

औपचारिक तथा अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा समेट्न सरकार प्रतिवद्ध रहेको समेत प्रधानमन्त्री ओलीले बताए।
वैदेशिक रोजगारीमा रहेकाहरूका लागि अनलाइन श्रम स्वीकृति लागू गरिएको उनले बताए। त्यस्तै, श्रम गन्तव्य मुलुकहरूसँग श्रम सम्झौता गरी सुरक्षित वैदेशिक रोजगारी सुनिश्चित गरिएको उनले बताए।

कोभिड महामारीका कारण स्वदेश तथा विदेशमा रहेका श्रमिकहरू जटिल अवस्थामा रहेको बताउँदै प्रधानमन्त्री ओलीले कामको सुरक्षा र थप रोजगारी सिर्जनामा सरकार प्रतिवद्ध रहेको उल्लेख गरे । 

प्रतिक्रिया