काठमाडौं–कुनैपनि व्यवसायिक करिअरमा सफलताको सिँढी चढिरहेकाहरूसँग कुराकानीका क्रममा प्रायः सबैले भन्न नछुटाउने एउटा वाक्य हो ‘मलाई सनै देखि... क्षेत्रमा रुची थियो । ...क्षेत्रमा म सानो छँदा पनि सहभागी हुन्थेँ ।’ तर, अहिलेकी चर्चित मोडल मोनिका बुढाथोकी आफ्नो करिअरलाई लिएर अरुलेजस्तो ‘मलाई सानैदेखि मोडलिङमा रुची थियो ।’ भन्दिन्न् । उनी अहिले मोडलिङ नै गर्छिन् । उनलाई कामको लागि दुःख पनि छैन । तर, उनी यसलाई आफ्नो ‘प्यासन’ का रूपमा लिन्छिन् । ‘म रुची भएर मोडलिङमा लागेकै होइन, मोनिका भन्छिन्, ‘ग्ल्यामर दुनियाँमा लागेपछि केही नयाँ मानिसले चिन्ने र राम्रो काम गर्न सक्दा आफ्नो चर्चा हुने भएकाले मात्र म मोडलिङमा लागेको हुँ ।’ उनको कुरा सुन्दा उनी अलि घमण्डी हुन् कि जस्तो लाग्छ । तर, उनी निकै सरल र आफ्ना कुरा स्पष्टसँग बताउन सक्ने युवती हुन् ।

५ फिट ८ इञ्च उचाई भएकी उनी अन्तर्राष्ट्रिय तहमा सुपर मोडल बन्नेसक्ने क्षमताकी छिन् । औसत नेपाली युवतीको तुलनामा ‘टल’ उनको अनुहार र फिगर पनि निकै आकर्षक छ । उनलाई पहिलो पटक भेट्नेहरू ओहो १ नेपाली मोडलको पनि यति राम्रो हाइट र मिलेको फिगर भएको भनेर उनको प्रशंसा गर्छन् । ‘सबैले राम्रो हाइट र मिलेको फिगर छ । मोडलिङमा राम्रो करिअर बन्न सक्छ भनेर भन्नु हुन्छ, मोनिका भन्छिन्, त्यही भएर पनि म यस क्षेत्रमा लागिरहेको छु ।’

काठमाडौं बुढानिलकण्ठकी स्थायीबासी उनले साइन्समा प्लसटू अध्ययन गरेकी छिन् । उनका बुबा सामूदायिक विद्यालयका प्रधानाध्यापक हुन् । उनले एयर होस्टेसको तालिमा लिएर केही समय एयरलाइन्समा काम पनि गरिन् । खासमा उनलाई राजनीतिमा औधी रुची छ । उनी कुन नेताले के बोले, पार्टी र सरकारका गतिविधि ध्यानपूर्वक नियाली रहेकी हुन्छिन् । अहिले अधिकांश मानिस सामाजिक सञ्जालमा १५ सेकेण्डको भिडियोमा रमाई रहेका बेला उनी भने टेलिभिजनको अगाडि बसेर न्युज बुलेटिन नियमित रूपमा हेर्ने गर्छिन् । ‘बेलुकाको टेलिभिजन न्युज बुलेटिन नहेरी त मलाई निन्द्रा नै लाग्दैन’ उनी भन्छिन्, ‘म देश विदेशका घटनाक्रमसँग नियमित रूपमा अपडेट भइरहेको हुन्छु ।’

उनको मोडलिङ करिअर पनि ब्युटी प्याजेन्टबाटै सुरु भएको हो । उनले मिस नेशनलमा भाग लिएर ३ वटा टाइटल जितेकी थिइन् । मोडल हन्ट नेपालमा मिस पपुलर सहित सेकेण्ड रनरअपको टाइटल जित्न सफल भएकी उनले थुप्रै र्याम्प शो, प्रडक्ट एड, इण्डियाको लोरियल फेसन शोमा पनि भाग लिएकी छिन् । उनले केही म्युजिक भिडियोहरूमा पनि अभिनय गरेकी छिन् । उनले अभिनय गरेको तीज गीतको म्युजिक भिडियो मिलियनभन्दा बढी भ्युज गएको थियो ।

बैष्णव परिवारमा हुर्किएकी उनी हजुरआमाकी प्यारी नातिन् हुन् । ‘मलाई हजुरआमाले नै हुर्काउनु भएको हो । अहिले पनि म हजुरआमासँगै बस्छु, मोनिका भन्छिन् ।’ परिवारबाट मोडलिङमा लाग्न पूर्ण सर्पोट पाएकी उनी भविष्यमा राजनीतिमा लाग्ने बताउँछिन् । मासमा परिचित गराउन र चर्चित हुनका लागि मोडलिङ तथा अभिनयको क्षेत्रले सहयोग पुर्याउँछ, मोनिका भन्छिन्, ‘यसकै बेसमा पछि राजनीति र समाज सेवामा आफूलाई समर्पित गर्छु ।’

मोडलिङमा करिअर बनाई रहेकाहरूलाई थुप्रै घुम्तीमा निराश बनाउने नकारात्मक एप्रोजहरू पनि आउने गरेको उनी बताउँछिन् । तर, आफूमा क्षमता र आर्थिक अवस्था पनि सवल छ भने यस्ता एप्रोज गर्नेहरू वरिपरी नै नपर्ने उनको अनुभव छ । ‘म आफ्नै टाटा नेक्सन गाडीमा हिँड्छु । चालक पनि राखेको छु । गाडी चढेर कुनै क्लाइन्टसँग डिल गर्न मिटिङमा जाँदा छुट्टै रेस्पोन्स आउने उनी बताउँछिन् । मोडलिङ गरेर नै आय आर्जन गर्न सकिने अवस्था रहेको छ मोनिका भन्छिन् । उनले अनलाइनबाट लेडिज आउटफिटको व्यवसाय पनि गर्छिन् ।

अभिनेता सविन श्रेष्ठले निर्माण गरिरहेको वेब सिरिज ‘ए घरबेटी बा’ मा मोनिकाले मुख्य भूमिकामा अभिनय गरेकी छिन् । दिनेश खड्काले निर्देशन गरिरहेको सिरिजको एक सिजनमा ५ भाग हुनेछन् । प्रनुप थापाको कथा रहेको सिरिजमा सुलेमान शंकर इकु, प्रकाश श्रेष्ठ र बुढाथोकीको मुख्य भूमिका रहेको छ । सुमन बजगाईंको छायांकन रहने यो सिरिजको कथावस्तु कमेडी र लभस्टोरी रहेको छ।

