काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा कोभिड–१९ संक्रमणको चेन ब्रेक गर्न लकडाउन गर्ने क्राइटएरिया तोकेको छ । बैठकले पहाडमा दुई सय र तराईमा पाँच सय कटेका जिल्लामा लकडाउन गर्ने अधिकार स्थानीय प्रशासनलाई दिएको हो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले हट स्पटहरुमा लकडाउन गर्नुपर्ने मत राखेका थिए । सीसीएमसीका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल पनि हटस्पटमा मात्रै लकडाउन गर्ने पक्षमा देखिएपछि क्राइटएरिया तोकिएको हो । लकडाउन गर्दा पनि कोरोना नियन्त्रण गर्न नसकिंदो रहेछ भन्ने गत वर्षको अनुभवले समेत पुष्टि भएको निष्कर्ष सीसीएमसीको छ ।
सीसीएमसीको बैठकले संक्रमणको अवस्था हेरेर लकडाउनबारे निर्णय गर्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई दिन सिफारिस गरेको छ । पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा डीसीसीएमसीले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको तथ्यांकअनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ ।
यस्तै कैलालीमा ४३४, चितवनमा ३९६, सुर्खेतमा ३७३ र बर्दियामा २७९ संक्रिय संक्रमित छन् ।
यसरी हेर्दा काठमाडौँ, भक्तपुर, ललिलतुर, मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा लकडाउन हुने देखिएको हो । बाँकेमा त स्थानीय प्रशासनले लकडाउन घोषणा गरिसकेको छ ।