लुगाको रङअनुसार मेकअप 

राम्रो अनलाइन     १२ वैशाख २०७८, आइतबार
लुगाको रङअनुसार मेकअप 

पहिरनको रङसँग मिल्ने मेकअप गरिएन भने जस्तोसुकै महँगो र ट्रेन्डी पहिरन पनि सुहाउँदैन । पहिरन र मेकअपको सही छनोटले व्यक्तित्वमा निखार ल्याउँछ । ‘पर्फेक्ट लुक’ का लागि पहिरनअनुसारको मेकअप जरुरी छ ।


रातो रङ
रातो रङको पहिरनसँग गुलाबी रङको कुनै पनि सेड लगाउन सकिन्छ । सुन्तला रङको सेड पनि रातो पहिरनसँग लगाउन सकिन्छ । तर, रातो रङको पहिरनसँग रातै रङको लिपस्टिक चाहिँ लगाउनु हुन्न । बेलुकाको पार्टीमा स्मोकी आई मेकअपका लागि कालो सेड प्रयोग गर्न सकिन्छ ।

कालो रङ
डे मेकअपमा हलुका गुलाबी, पिचजस्ता आइस्याडो लगाउन सकिन्छ । कालो आइलाइनरले आँखालाई सुन्दर देखाउँछ । ओठका लागि गुलाबी, पिच अथवा हलुका खैरो रङ छान्न सकिन्छ । बेलुकाको पार्टीमा आँखालाई स्मोकी लुक दिँदा राम्रो देखिन्छ । त्यसका लागि खरानी अथवा कालोजस्ता रङको छनोट गर्नुपर्छ ।

गुलाबी रङ
गुलाबी पहिरन लगाउँदा आँखा र ओठका लागि पनि हलुका गुलाबी वा पिच सेड छान्नुहोस् । किनकि, गुलाबी पहिरनसँग भारी मेकअप सुहाउँदैन । बेलुकाको पार्टीमा गाढा गुलाबी रङको पहिरन लगाउँदै हुनुहुन्छ भने आँखालाई स्मोकी लुक दिनुहोस् । यदि आई मेकअप गाढा गर्दै हुनुहुन्छ भने ओठको मेकअप हलुका गर्नुपर्छ । हलुका गुलाबी रङको लिपस्टिक लगाउनु उचित हुन्छ ।

निलो रङ
निलो रङको पहिरनसँग गुलाबी रङ सुहाउँछ । निलो रङको डे«ससँग ओठ र आँखामा गुलाबी सेड प्रयोग गर्न सकिन्छ । ट्रेन्डी लुकका लागि निलो रङको आइलाइनर वा गाजल लगाउन सकिन्छ ।

भ्यान्टा रङ
भ्यान्टा रङको ड्रेससँग हलुका भ्यान्टा रङको सेड आँखा वा ओठमा लगाउन सकिन्छ । बेलुकाको कार्यक्रममा गाढा भ्यान्टा रङको पहिरन लगाउँदै हुनुहुन्छ भने गाढा गुलाबी रङको लिपस्टिक वा स्मोकी आई मेकअप गर्न सकिन्छ । आँखा वा ओठमध्ये एउटामा मात्रै गाढा मेकअप गर्नुपर्छ । दुइटैमा गाढा ग¥यो भने भद्दा देखिन्छ । एउटामा गाढा र अर्कोमा हलुका गुलाबी अथवा पिच सेड लगाउन सकिन्छ ।

पहेँलो रङ
पहेँलो रङको पहिरनसँग हलुका गुलाबी वा सुन्तला रङको सेड सुहाउँछ । दिनको मेकअप गर्दा गुलाबी र रातको मेकअपका लागि सुन्तला सेड प्रयोग गर्न सकिन्छ ।

हरियो रङ
हरियो रङका लुगासँग गुलाबी रङका मेकअप राम्रो देखिन्छ । गुलाबी रङको कुनै पनि सेड प्रयोग गर्न सक्नुहुनेछ । बोल्ड लुकका लागि बेलुकाका पार्टीमा हरियो पहिरनसँग आई मेकअपलाई स्मोकी लुक दिन सकिन्छ ।

सेतो रङ
सेतो पहिरनसँग हलुका मेकअप सुहाउँछ । ओठ र आँखामा गुलाबी, पिच र हलुका सेड प्रयोग गर्न सकिन्छ । हलुका खैरो रङको सेड पनि लगाउन सकिन्छ । रातिको पार्टीमा सिल्भर सेड लगाउँदा पनि राम्रै देखिन्छ । सेतो पहिरनसँग स्मोकी आई मेकअप गर्दा राम्रो हुन्छ ।
 

प्रतिक्रिया