लुम्बिनीका दुई जिल्लामा ६ कोभिड १९ संक्रमितको मृत्यु 

मृत्यु हुनेमा बाँकेका चार र रुपन्देहीका दुई जना
राम्रो अनलाइन     ११ वैशाख २०७८, शनिबार
लुम्बिनीका दुई जिल्लामा ६ कोभिड १९ संक्रमितको मृत्यु 

बुटवल । लुम्बिनी प्रदेशका दुई जिल्लामा पछिल्लो २४ घण्टामा ६ कोभिड १९ संक्रमितको मृत्यु भएको छ । प्रदेशका बाँके र रुपन्देहीमा गरी ६ जना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा चार जना बाँकेका र दुई जना रुपन्देहीका छन् ।

बाँकेको भेरी अस्पताल नेपालगन्जमा उपचाररत ६१ र ७५ वर्षीय महिला तथा ८६ र ३५ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको हो । उनीहरू चारैजना नेपालगञ्जकै भएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले बताए ।

उनीहरूको मृत्युसँगै बाँकेमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ७६ पुगेको छ । मृतकहरूको शव नेपाली सेनाको समन्वयमा परिवारबाट दाहसंस्कारको व्यवस्था हुँदै गरेको फोकलपर्शन ओलीले बताए ।

यता रुपन्देहीको बुटवल उपमहानगरपालिका १३ का ३६ वर्षीय कोभिड संक्रमित पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ । चैत ३० गते कोभिड संक्रमण पुष्टि भएका पुरुष वैशाख ३ गते बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पताल भर्ना भएका थिए ।

उनको उपचारका क्रममा राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए । यस्तै रुपन्देहीको मंगलापुर घर भएका ५२ वर्षीय पुरुषको मृत्यु भएको छ ।

उनको बुटवलको मेडिटेक अस्पतालबाट रिफरगरि चितवन लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । उनको शव पनि व्यवस्थापनका लागि नेपाली सेनाले जिम्मा लिएको छ ।

प्रतिक्रिया