गाडिएको अवस्थामा युवतीको शव फेला

राम्रो अनलाइन     १९ मंसिर २०८१, बुधबार
गाडिएको अवस्थामा युवतीको शव फेला

 

काठमाडाैं – गोरखामा एक युवतीको खाल्डोमा गाडिएको अवस्थामा शव फेला परेको छ । जिल्लाको बारपाक सुलीकोट गाउँपालिका –१ घर भएकी १८ र्षीया युवतीको बारपाक नजिकको मैखर्क जङ्गलमा शव फेला परेको हो । 

गत मङ्सिर १५ गते घाँस काट्न भनी हिंडेकी युवतीको बारपाक सुलीकोट गाउँपालिका –१ बारपाक घर भएकी सुचिना घलेको शव खाल्डोमा गाडिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए । 

उनका अनुसार घाँस काट्न जङ्गलमा गएकी सुचिना घर नफर्किएपछि परिवारले खोजी गर्नका लागि प्रहरी चौकी बारपाक र इलाका प्रहरी कार्यालय जौबारीमा निवेदन दिएको उनले बताए।

प्रहरीलाई निवेदन प्राप्त हुनासाथ जौबारी प्रहरी र बारपाक प्रहरीको साथै स्थानीयको सहयोगमा खोजतलास गर्दा मङ्गलबार बेलुका ६ बजे बारपाकनजिक रहेको जङ्गलमा खाल्डोमा पुरिएको अबस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय गोरखाले हत्या भएको आशङ्कामा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरासँग समन्वय गरी कुकुरसहितको विशेषज्ञ टोली अहिले अनुसन्धानका लागि घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख वासुदेव पाठकले जानकारी दिए। 

घटनास्थल नजिक डोको, रगत र कपाल समेत भेटिएकाले घटनाबारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गोरखा प्रहरी प्रमुख पाठकले बताउनुभयो । धार्चे गाउँपालिका –६ काशीगाउँ माइती भएकी घलेको शव माइती पक्ष आएपछि मात्र निकालिने भएको छ । प्रमुख पाठकले भने ,'प्रारम्भिक अनुसन्धान तथा घटनाको प्रकृति हेर्दा हत्या हुुन सक्ने अनुमान भएकाले स्थानीय जनप्रतिनिधि र युवतीको माइती पक्ष प्रहरीको रोहबारमा मात्र शव निकाल्ले तयारी भएको छ ।'

प्रतिक्रिया