काठमाडौँ –ललितपुर महानगरपालिका वडा नम्बर–८ सौगलबाट प्रहरीले नक्कली नेपाली रुपैयाँसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–३ घर भएर भक्तपुर बस्दै आएका रमेश रोक्का छन् ।
३१ वर्षीय रोक्काको साथबाट १ हजार दरका ११५ वटा नक्कली नेपाली नोट बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले जानकारी दिए। सौगलमा कोठा भाडामा लिएर आरोपीले नक्कली नोट बनाउने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनको डेरामा नोट बनाउन प्रयोग गरिने फोटोकपी मेशिन पनि भेटिएको एसपी सुवेदीले जानकारी दिए । आरोपीविरुद्ध प्रहरीले अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।