‘हात दिनेभन्दा  खुट्टा तान्ने धेरै छन् यहाँ’ 

राम्रो अनलाइन     ०१ वैशाख २०७८, बुधबार
‘हात दिनेभन्दा  खुट्टा तान्ने धेरै छन् यहाँ’ 

गायन रियालिटी सो ‘नेपाल आइडल’ र ‘द भ्वाइस अफ नेपाल’ बाट जन्मिएकी गायिका हुन्, विद्या तिवारी । उनी आइडलको पहिलो सिजनकी उत्कृष्ट १८ प्रतिस्पर्धी हुन् भने भ्वाइसमा पनि उनी उत्कृष्ट आठसम्म पुग्न सफल भएकी थिइन् । उनका ‘पिच रोड’, ‘घाममा सुकाइदेऊ’, ‘डलर’, ‘झुम्का’ लगायत गीत चर्चित छन् । तिवारीसँग गरिएको संवाद ।


पछिल्लो समय तपाईंका गीत सफल छन् । आफू चाहिँ कत्तिको सफल भएँ भन्ने लाग्छ ?

गीत चल्नु मात्र सफल हुनु होइन । मलाई गीत चल्यो भन्दै आफू सफल भएजस्तो लाग्दैन । किनभने, मैले अझै धेरै मेहनत गर्न बाँकी छ । म कुनै चिज पाउँदैमा खुशी भइहाल्दिनँ । त्यो सफलतालाई कायम राख्न आगामी दिनमा अझै धेरै मेहनत गर्नुपर्नेछ । 

आफ्ना गीतहरू ट्रेन्डिङमा पर्दा त खुशी लाग्छ होला नि  ?

आफूले गाएको गीत ट्रेन्डिङमा पर्दा, सबैको मुखमा झुण्डिँदा कसलाई खुशी लाग्दैन र ! तर, कमर्सियल गीतको आयु छोटो हुन्छ । केही समयपछि त्यस्ता गीतलाई अरू गीतले छायामा पारिदिन्छन् । मेरा ‘घाममा सुकाइदेऊ’, ‘डलर’, ‘पिच रोड’ लगायत गीतहरू टे«न्डिङमा परे । मैले गाएका गीतले छुट्टै खालका पब्लिकलाई समटेको छ । मसँग सिरियस खालका गीत पनि छन् । तर, मलाई ती गीत बजारमा ल्याउन डर लागिरहेको छ । मानिसले मन नपराउने हुन् कि भन्ने डर हुन्छ । त्यसका लागि सही समय कुरिरहेकी छु ।

कहिले आउँछ त त्यो सही समय ?

खै, यसै भन्न सकिन्न । एउटा गीतका लागि आर्टिस्टले छ–सात महिना खर्चिएको हुन्छ । त्यो मेहनत पाँच मिनेटको अडियो र भिडियोमा देखाउनुपर्छ । १० सेकेन्डसम्म हेरेर राम्रो लागेन भने मानिसले गीत सुन्दैनन् । त्यसैले कमर्सियल गीत गाउनैपर्छ । हामीले मार्केटसँग म्युजिक नजोडी कामै छैन ।

गीत कहिलेदेखि गाउन थाल्नुभयो ?

आठ कक्षा पढ्दादेखि नै गाउँथेँ । त्यो बेलामा ‘नेपाली तारा’ को अडिसन मेरो घरबाट पाँच मिनेट अगाडिको स्कुलमा भइरहेको थियो । ड्याडीले फर्म भरिदिनुभएछ । मैले ‘जहाँ छन् बुद्धका आँखा’ गाएकी थिएँ । अलिकति गीत गाउनेबित्तिकै जजहरूले ‘लैजाऊ–लैजाऊ’ भन्दै सेलेक्ट भएको कार्ड दिनुभएको याद छ । त्यो बेला पढाइ पहिलो प्राथमिकता भएकाले छनोट भए पनि काठमाडाँै आउन पाइनँ । मैले सानैदेखि हेटौँडामा भएका सांगीतिक प्रतियोगिता कुनै पनि छोडिनँ । 

भनेपछि यो क्षेत्रमा लाग्न परिवारको पूरा साथ छ ?

छ । त्यसमा पनि बुबाले सधैँ हौसला दिनुहुन्छ । यो क्षेत्रमा परिवारको साथ सबैभन्दा महŒवपूर्ण हुन्छ । कहिलेकाहीँ गरेको काम सोचेजस्तो नहुँदा दिक्क लाग्छ । आफ्नो उद्देश्यमा पुग्न नसक्दा मान्छे हतोत्साहित हुन्छ । फ्रस्ट्रेसन र डिप्रेसनमा गइन्छ । त्यस्तो बेलामा कसैले सम्हालेन, कसैले बाटो देखाइदिएन भने गलत बाटो समात्ने धेरै छन् । यस्तो परिस्थितिमा परिवारको साथले धेरै काम गर्छ । मेरो परिवारले मेरो हरेक अप्ठ्यारो समयमा साथ दिएको छ । कुनै कुरा पाइँदैन भने त्यसलाई बेवास्ता गर्ने होइन, त्यसका लागि निरन्तर लागिरहनुपर्छ भनेर परिवारले मलाई सिकाएको छ ।

घरमा अरू पनि गायक हुनुहुन्छ ?

मेरो ड्याडी गाउनुहुन्छ । तर, उहाँले गीतलाई आफ्नो प्यासन मात्रै बनाउनुभयो,  प्रोफेसन कहिल्यै बनाउनुभएन । मेरो हजुरबुबा पनि गाउनुहुन्छ । म सानो हुँदादेखि नै दुवै जनाले हार्मोनियम बजाएर भजन गाएको देख्थेँ । मेरो घरको माहौल नै सांगीतिक थियो । भक्तराज आचार्य, नारायणगोपालका गीतहरू पहिलो पटक मैले ड्याडीकै मुखबाट सुनेको हुँ । त्यो बेला मलाई ती गीत ड्याडीले नै बनाएर गाएको होजस्तो लाग्थ्यो । 

म्युजिकमै लाग्छु भनेर कहिले सोच्नुभयो ?

प्लस टू सकिएपछि काठमाडौँ आएँ । यहाँ आएपछि रेडियो थाहा सञ्चारमा काम गर्न थालेँ । चार वर्ष म्युजिक सेलेक्सनदेखि टेक्निसियनसम्मका काम रेडियोमा गरेँ । हेटौँडाबाट विदेश जान्छु भनेर काठमाडौँ आएकी थिएँ । तर, पछि रेडियो नेपालमा म्युजिक क्लास लिन थालेँ । गुरु प्रमोद प्रसाईंसँग भेट भयो । त्यहाँबाट क्लासिकल म्युजिकतिर झुकाव बढ्न थाल्यो । त्यसपछि रियालिटी सोहरूमा भाग लिन थालेपछि म्युजिकमै लाग्ने सोच बनाएँ ।

आइडलमा कसरी जोडिन पुग्नुभयो ?

आइडलको पहिलो सिजन सुरु हुँदा म प्रमोद प्रसाईं गुरुसँग म्युजिक सिकिरहेकी थिएँ । बिहान कलेज, दिउँसो रेडियो, साँझ भोकल क्लास र राति गिग गर्थें । त्यही बेलामा नेपाल आइडल हुँदै छ भनेर गुरुले भन्नुभयो । उहाँले मलाई ‘तिम्रो वेस्टर्न र इस्टर्न दुवै राम्रो छ, जाऊ’ भन्नुभयो । मैले खासै इच्छा देखाएकी थिइनँ । अन्तिम दिनमा अडिसन दिएँ । सिलेक्ट भएँ । केही समयपछि मैले आइडलमा गाएको गीतको क्लिप साथीहरूले पठाउन थाले । भिडियो भाइरल भएछ । भिडियोमा कमेन्टहरू हेर्न थालेँ । राम्रा–नराम्रा प्रतिक्रिया आइरहेका थिए । सामान्य मान्छे सेलिब्रिटी हुनुको अनुभव मैले त्यही बेला गर्न पाएँ । त्यो बेला फेसबुकमा फ्रेन्ड रिक्वेस्टको बाढी आएको देखेर निकै खुशी भएकी थिएँ । विदेशबाट पनि लामो–लामो म्यासेज आएका थिए । त्यहीँबाट मेरो जीवनले अर्को मोड लियो । म्युजिकमा मनैदेखि लागेको त्यहीँबाट हो । त्यसपछि मैले म्युजिकमा रिसर्च गर्न थालेँ । पूर्व र पश्चिममा कस्तो भाका गाइन्छ भनेर सुन्न थालेँ । पहिला दोहोरी गीत सुन्दैनथेँ । पछि आर्टिस्ट भएपछि सबै खालका गीत सिक्न जरुरी छ भन्ने लागेर सबै खालका गीत सुन्न र अभ्यास गर्न थालेँ । 

आइडलमा टप १८ बाट बाहिँरिदा कस्तो भएको थियो ?

त्यो बेला मलाई मेरो गुरु र ड्याडीले धेरै साथ दिनुभयो । मलाई त्यो सफलता हासिल गर्न तीन–चार वर्ष लाग्थ्यो । मैले एक महिनामा त्यो सफलता पाएँ । आइडलले मलाई धेरै कुरा सिकायो । त्यो नै मेरा लागि ठूलो कुरा थियो । अझै केही माथिसम्म जान पाए हुन्थ्यो भन्ने लोभ त थियो । तर, छोटो समयमा पाएको सफलता छोटै समयमा हराउँछ भनेर चित्त बुझाएँ । मेरो हिँडाइ कछुवाको चालको होस्, तर लामो समय हिँड्न पाइयोस् भन्ने लाग्यो । 

पछि ‘द भ्वाइस’मा पनि जानुभयो । किन यति धेरै रियालिटी सोको मोह ?

रेडियोमा काम गर्दा वेस्टर्न म्युजिक म एकदमै धेरै सुन्थेँ । बाहिरतिर हुने ‘द भ्वाइस’लाई फलो गरिरहेको हुन्थेँ । भ्वाइसमा जाने मेरो ठूलो सपना थियो । यदि विदेश गएँ भने त्यो प्लेटफर्ममा एक न एक पटक उभिन्छु भन्ने थियो । ब्लाइन्ड अडिसनमा चियर टर्न हुने क्षण मलाई जसरी पनि अनुभव गर्नु थियो । त्यो बेलामा मेरा केही गीत बजारमा आइसकेका थिए । ‘मार्केटमा चल्न थालिसकेको मान्छे, रियालिटी सोमा प्लेटफर्म खोज्दै हिँड्छन् !’ भनेर धेरैले भने । तर, भ्वाइसले मलाइ तानेरै छाड्यो । मलाई केही कुरा आइडलले सिकायो, केही भ्वाइसले । दुवैबाट  अनुभव र आत्मविश्वास बटुलेँ । भ्वाइसमा जाँदा धेरैलाई म आइडलमा गएको थाहा थिएन । आइडलमा थोरैले चिन्थे । भ्वाइसमा गएपछि धेरैले चिन्न थाले ।

भ्वाइसको अनुभव कस्तो रह्यो ?

मलाई ब्लाइन्ड अडिसनमा सबैको चियर टर्न गराउनु थियो  त्यो मेरो सपना पूरा भयो । दर्शक र कोचबाट धेरै माया पाएँ । सनुप दाइले धेरै सहयोग गर्नुभयो । जित्नु नै मेरा लागि ठूलो कुरा थिएन । त्यसैले आउट हुँदा पनि म निकै सकारात्मक थिएँ । जीवन हो, हार–जीत भइहाल्छ भन्ने लाग्यो । म सधैँ सबै कुरालाई सकारात्मक हिसाबले हेर्छु । त्यो गुण मैले मेरो हजुरबुबाबाट पाएकी हुँ । उहाँ ‘कसैैलाई बिझ्ने गरी नबोल्नू, कसैको प्रगति भइरहेको छ भने त्यसमा ईष्र्या नगर्नू र कसैबाट पनि आशा नगर्नू’ भन्नुहुन्थ्यो । उहाँले भनेको त्यही कुरालाई आत्मसात् गर्दै यहाँसम्म आइपुगेकी छु । रियालिटी सोमा भन्दा रियल लाइफमा सफल हुनु ठूलो कुरा रहेछ ।  

रियालिट सो र रियल लाइफमा के फरक हुँदो रहेछ ?

रियालिटी सोमा सीमित मानिससँग मात्र प्रतिस्पर्धा हुन्छ । बाहिर आएपछि हजारौँ प्रोफेसनल गायकसँग प्रतिस्पर्धा गर्नुपर्छ । उहाँहरूसँग काम गर्दा धेरै कुरा सिक्ने मौका पाइन्छ । त्यस्तै, रियालिटी सोबाट बाहिर आएपछि धेरै राम्रा–नराम्रा कुरा सुन्नुपर्छ । रियल दुनियाँमा पनि आफूले सोचेजस्तो हुँदैन । यहाँ हात दिनेभन्दा खुट्टा तान्ने धेरै हुन्छन् । 

प्रतिक्रिया