सरकार विधिको शासन कायम गराउँछ : गृहमन्त्री लेखक

राम्रो अनलाइन     ०६ भदौ २०८१, बिहिबार
सरकार विधिको शासन कायम गराउँछ : गृहमन्त्री लेखक

 

काठमाडौं – सङ्घ सरकारका गृहमन्त्री रमेश लेखकले दिगो शान्ति, विकास, सुशासन र समृद्धिको लागि वर्तमान सरकार अग्रसर रहेको दाबी गरे । 

बिहीबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा सङ्घीय गृहमन्त्री लेखकले वर्तमान सरकारको नयाँ कदमले मुलुकमा शान्ति सुव्यवस्था र विधिको शासन कायम हुने दाबी गरेका थिए।  उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई कार्यान्वयन गर्ने र थप सुदृढ बनाउन नयाँ सत्ता समीकरणले कदम चालेको बताए।

उनले भने, ‘मुलुकमा सरकारको स्थिरता, राजनीतिक स्थिरता र अर्थतन्त्रलाई क्रियाशील बनाउन, आर्थिक गतिविधि बढाउन र सङ्घीय लोकतान्त्रिक, गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ र कार्यान्वयन गर्ने उद्देश्य साथ नयाँ समीकरण सरकार बनेको छ , त्यसकारण मुलुकमा शान्ति व्यवस्था र विधिको शासन कायम हुन्छ ।’सरकार चलायमान र गतिशील हुन्छ, आर्थिक समृद्धि पनि हुन्छ, उनले भने।

गृहमन्त्री लेखकले पत्रकारहरूसँगको कुराकानीमा प्रहरी समायोजन र प्रदेश प्रहरी गठन हुने हिसाबले वर्तमान सरकार अगाडि बढेको बताए । उनले सङ्घको प्रहरीका कानुन संशोधन गर्ने गरेर नेपाल प्रहरी ऐन २०१२ मा आवश्यक संशोधन गर्ने र परिमार्जन गरेर नयाँ कानुन बनाउने बताए। उनले भने,‘नयाँ कानुन बनाउने गरी गृह मन्त्रालय अगाडी बढेको छ, विभिन्न मन्त्रालयहरूको सहमतिपछि संसद्मा जाने छ ।’

धनुषा र सिराहा जिल्लाका विभिन्न स्थानहमा भ्रमणमा लागि गृहमन्त्री जनकपुरधाम विमानस्थलमा आएका थिए । स्वर्गीय प्रदीप गिरीको दोस्रो वार्षिकी कार्यक्रममा सहभागी हुने, जिल्ला सुरक्षा समिति सिराहा पदाधिकारीहरूसँग अन्तरक्रिया कार्यक्रम रहेको नेपाली काँग्रेस मधेस प्रदेश सूचना सञ्चार तथा प्रचार प्रसार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए।

शुक्रवार बिहान गृहमन्त्री लेखकले जिल्ला प्रशासन कार्यालय धनुषाको भवन शिलान्यास गर्ने  कार्यक्रम र जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसँग छलफल एवं अन्तरक्रिया कार्यक्रम रहेका सूचना सञ्चार तथा प्रचार प्रसार विभाग प्रमुख गुप्ताले बताए।

सोही दिन नेपाली काँग्रेसका पदाधिकारीहरूसँग पनि बृहत् छलफल कार्यक्रम छ ।

प्रतिक्रिया