नेपाली आधुनिक सुगम संगीतका चर्चित गायक हुन्, शिव परियार। गजल र आधुनिक गायकको छवि बनाएका शिवका ‘फेवा तालमा साइँली’, ‘क्या दामी भो’, ‘अलि कति नजर तिम्रो,’ ‘पागल बनायौ’ लगायत दर्जनौँ हिट गीत छन्।
सर्लाही, हजुरियामा उनको बाल्याकाल बित्यो। सानोमा अरूको ध्यान आकर्षित गर्न आफूले उट्पट्याङ काम गर्ने गरेको शिव बताउँछन्। ‘एकदमै फट्याइँ गर्थें,’ उनी भन्छन्, ‘चकचक गर्दै व्यस्त हुन्थँे। गीत खासै गुनगुनाउँदिनथेँ। गीत गाउने गुण ममा छ भन्ने कुरादेखि म आफैँ अनजान थिएँ।’
२०५१ सालमा उनको स्कुलमा जिल्लास्तरीय बालगीत प्रतियोगिता हुँदै थियो। कक्षा सातमा पढ्दाताका दिन सम्झिँदै उनी भन्छन्, ‘सोही प्रतियोगितामा भाग लिन सरले नाम टिपाउन भन्नुभयो। मेरो एक जना साथीले मलाई फसाउने नियतले मेरो नाम लियो। सबैसामु जबर्जस्ती गीत गाउन लगाइयो।’ शिवले ‘म त अब रिसाउँछु बोल्दै बोल्दिनँ’ गीत गाएका थिएँ।
जीवनमा पहिलो पटक जानी नजानी गाएको त्यो क्षणले आफूभित्रको प्रतिभा प्रस्फुटन गरेको उनी बताउँछन्। ‘मैले गाउँदा सबैले प्रशंसा गरे,’ उनी भन्छन्, ‘वाहवाही पाएपछि संगीतको नशाले छुन थाल्यो।’
त्यसै वर्ष शिवले बालगीत प्रतियोगितामा जिल्लाबाट टप गरे। ‘दुई पटक बालगीत प्रतियोगितामा जिल्ला टप गरेँ,’ उनी सम्झन्छन्, ‘त्यसपछि राष्ट्रिय स्तरको बालगीत सम्मेलनमा समेत गीत गाउने अवसर पाएँ।’
‘संगीतबाट मानसम्मान पाइन्छ’ भन्ने सोचले आफूलाई यस क्षेत्रमा डोर्याएको उनी सुनाउँछन्। ‘संगीतलाई आफ्नो कर्मक्षेत्र बनाउने अठोट लिएँ,’ उनी भन्छन्, ‘यतैतिर आकर्षित भएँ।’ एसएलसीपछि २०५६ सालमा उनी काठमाडौँ पसे। ‘काठमाडौँ आउँदा मेरो सामान्य सपना थियो,’ उनी भन्छन्, ‘संगीत विषयमा अध्ययन गर्ने र त्यही विषयको शिक्षक भएर जीवन निर्वाह गर्ने।’
स्थापित गायक बन्ने आफूले कल्पनासमेत नगरेको शिव बताउँछन्। ‘सुरुमा तीन वर्षजति मामासँग बसियो,’ उनी भन्छन्। ललितकला क्याम्पसमा संगीत विषय अध्ययन गरे। शास्त्रीय संगीतका गुरु चन्दनकुमार श्रेष्ठसँग गन्धर्व संगीत सिके। पछि उनी एक्लै बस्न थाले। ‘त्यो समय सम्झिँदा कहाली लागेर आउँछ,’ उनी सुनाउँछन्, ‘कोठाभाडा तिर्न छाक काट्नुपथ्र्यो। कहिले त गोजीमा सुको हुँदैनथ्यो। टन्टलापुर घाममा घण्टौँ हिँड्थेँ।’ आफ्नो विद्यार्थी जीवन जटिल र कठिन रहेको उनी बताउँछन्। ‘जति गर्दा पनि हुँदैन, यो लाइन नै त्यागिदिन्छु भन्ने सोच पनि आउँथ्यो कहिलेकाहीँ। तर, हरेस खाइनँ। हरेक दुःखलाई स्विकार्दै, व्यवस्थापन गर्दै अगाडि बढेँ।’
संगीत सिकेर बिस्तारै संगीत पढाउनतिर लागे शिव। ‘तीन वर्षजति म्युजिक टिचर भएर काम गरेँ,’ उनी भन्छन्, ‘त्यतिबेला मेरो आम्दानीको स्रोत त्यही जागिर थियो।’ पढाउँदापढाउँदै गिटार र चार वर्षको क्लासिकल तबला बजाउने ट्रेनिङ पनि लिए, उनले। २०५९ सालमा रेडियो नेपालले आयोजना गरेको गजल प्रतियोगितामा सहभागी भए। भन्छन्, ‘मैले ‘जति बिर्सियो तिम्रो याद’ गजल गाएको थिएँ। त्यसमा प्रथम पुरस्कार हात पारेँ।’
२०६० सालमा रेडियो नेपालको स्टुडियोमा उनको गीत रेकर्डिङ भयो। ‘मोक्ष’ उनको डेब्यू एल्बम हो। एल्बमको ‘फेवा तालमा साइँली’ गीत धेरैले मन पराए। ‘त्यो गीतले मलाई नयाँ पहिचान दियो,’ उनी भन्छन्। लगभग डेढ दशकदेखि संगीतमा सक्रिय उनले चार सयभन्दा बढी गीत–गजलमा स्वर दिइसकेका छन्। ‘राष्ट्रिय युवा प्रतिभा सम्मान २०७३’, ‘नारायणगोपाल युवा समिति पुरस्कार’ लगायत पुरस्कार पनि उनले पाएका छन्।
व्यावसायिक रूपमा सफल गायकमा पर्छन्, शिव। सफलताको श्रेय उनी आफ्ना संघर्षका दिनलाई दिन्छन्। ‘संघर्षले मलाई परिपक्व बनायो,’ उनी भन्छन्, ‘यहाँसम्म पु¥यायो। मेरो असली गुरु नै संघर्ष हो।’