सार्वजनिक लेखा समिति प्रतिपक्षी दललाई दिनुपर्ने माओवादी केन्द्रको माग

राम्रो अनलाइन     २१ साउन २०८१, सोमबार
सार्वजनिक लेखा समिति प्रतिपक्षी दललाई दिनुपर्ने माओवादी केन्द्रको माग

 

काठमाडौँ–प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसदीय मूल्य मान्यता अनुसार सार्वजनिक लेखा समिति प्रतिपक्षीलाई दिनु पर्ने माग गरेको छ । 

बैठकको आकस्मिक समयमा माओवादी केन्द्रका सांसद माधव सापकोटाले विद्युत् प्राधिकरणको डेडिकेटेड र ट्रक लाइनका विषयमा अघिल्लो संसद्को लेखा समितिले गरेको निर्णय अहिलेको लेखा समितिबाट उल्ट्याउन खोजिएको आरोप लगाए । 

उनले सरकारले नियम उलङ्घन गरेर विद्युत् प्राधिकरणका दुई जना कर्मचारीहरूलाई निलम्बन गरेको, लेखा समितिका सभापति ऋषिकेश पोखरेलले उद्योगी व्यापारीसँग रहस्यमय भेट गरेको आरोप समेत लगाए ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सेविता गौतमले सार्वजनिक स्थलमा आफूमाथि भएको दुर्व्यवहारका विषयमा सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराए। बैठकमा सांसदहरुले बाढी पहिरो र डुबानबाट देशका विभिन्न भागमा भइरहेको जनधनको क्षतिको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै न्युनिकरणका लागि आग्रह गरे । 

बाढी पहिरोका कारण देशका विभिन्न स्थानका सडक र पुलमा क्षति  पुर्‍याएको भन्दै समयमा नै वैकल्पिक व्यवस्था गरी आवतजावत सहज बनाउन सरकारसँग सांसदहरुले माग गरे। यसैगरी कुनै पनि देशको अर्थतन्त्र सुधार हुनको लागि त्यस देशका जनताको दैनिकी सहज हुनुपर्ने भन्दै सांसदहरुले हाम्रो मुलुकमा पनि बहुसङ्ख्यक नागरिकले प्रयोग गर्ने सार्वजनिक यातायातलाई सुरक्षित र यात्रुमैत्री बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया