पशुपति क्षेत्र विकास काेषले हटाउन खाेजेकाे भजन फल्चा काठमाडाैँ महानगरले पुन:निर्माण गर्याे

राम्रो अनलाइन     २१ साउन २०८१, सोमबार
पशुपति क्षेत्र विकास काेषले हटाउन खाेजेकाे भजन फल्चा काठमाडाैँ महानगरले पुन:निर्माण गर्याे

 

काठमाडौँ – काठमाडौँ महानगरपालिका वडा ८ पशुपतिनाथ देवपत्तन, भकुंत्वमा रहेको दाफा भजन फल्चा करिब २१ लाख रुपैयाँ लागतमा पुनःनिर्माण सम्पन्न भएको छ।

सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा ८ का अध्यक्ष आशामान संगतले पुनःनिर्मित फल्चाको समुद्घाटन गरेका छन्। फल्चामा राखिएको शिलालेखमा यो फल्चा १८औँ शताव्दीमा सिद्धिनरसिंह डंगोलले निर्माण गराएको उल्लेख छ।

जीर्ण भएर उपभोग गर्न नमिल्ने अवस्थामा पुगेपछि फल्चाको पुनःनिर्माण गराइएको हो। वडाध्यक्ष संगतले भने, ‘पशुपति क्षेत्र विकास कोषले फल्चालाई हटाउन निकै प्रयास गरेको थियो। हामीले यसो हुन दिएनौँ। कोषकै कारण फल्चा निर्माण सम्पन्न गराउन निकै दुःख व्यहोर्नु परेको थियो।’

फल्चाले दाफा भजनको संस्कृतिलाई निरन्तरता दिन सहज हुने भएको छ। उद्घाटनपछि बोल्दै भकुंत्वा उपभोक्ता समितिका अध्यक्ष भाइराजा डंगोलले भने, ‘मौलिक शैलीमा निर्माण भएको फल्चाले हाम्रो पहिचान कायम गराएको छ।’

वडाले प्राचीन पहिचान भएका सम्पदाको खोजी, अभिलेखन, पुनःनिर्माण र पुनःस्थापनाका कामलाई प्राथमिकता दिएको छ। 

प्रतिक्रिया