चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा २२२ जनावरको उद्धार, ७६ जनावर मरे 

राम्रो अनलाइन     ०७ साउन २०८१, सोमबार
चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा २२२ जनावरको उद्धार, ७६ जनावर मरे 


चितवन– चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा विभिन्न १५ प्रजातिका ७६ वटा जनावर मरेका छन् । तीमध्ये चित्तलमात्रै २४ वटा रहेको निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार २ वटा कुकुरको आक्रमणबाट र २२ प्राकृतिक कारणले २४ चित्तल मरेका थिए । यसैगरी सो अवधिमा गैँडा २१ मरेका छन् । ती मध्ये १८ प्राकृतिक कारणले हो भने दुई चोरी सिकारीले र एउटाको कारण खुल्न नसकेको उनले बताए ।

यसैगरी प्राकृतिक कारणले ८ बाघ मरेका छन् । रतुवा छवटा मरेको अवस्थामा भेटिएको उनले बताए । ती सबै प्राकृतिक कारणले मरेका हुन् । पाँचवटा हात्ती र जरायो चारवटा प्राकृतिक कारणले मरेका छन् । यसै अवधिमा घडियाल गोही दुईवटा मरेका छन् । एउटा प्राकृतिक कारणले हो भने एउटाको कारण खुल्न सकेको छैन ।

मगर गोही दुई, बँदेल एक, लगुना एक र दुईवटा अन्य जनावार प्राकृतिक कारणले मरेको सूचना अधिकारी तिवारीले बताए । मृतावस्थामा भेटिएका जनावारमध्ये ७० जनावार प्राकृतिक कारणले, दुई चोरी सिकारीले, दुई कुकुरको आक्रमणबाट र दुईवटा कारण खुल्न नसकेको उनले जानकारी दिए ।

गत वर्ष निकुञ्जले दुई सय २२ वटा जनावरको उद्धार गरेको जनाएको छ । उद्धार गरिएकामा सबैभन्दा धेरै अजिंगर एक सय ४१ छन् । ३३ सर्प, ११–११ बाघ र मगर गोहीको उद्धार गरिएको उनले जानकारी दिए ।

चित्तल छवटा, गैँडा तीनवटा, जरायो, बँदेल र चितुवा दुई–दुईवटा, सुन कछुवा र घडियाल गोही एक–एकवटाको उद्धार गरिएको छ । अन्य जनावार नौवटाको उद्धार गरिएको सूचना अधिकारी तिवारीले बताए ।

प्रतिक्रिया