काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट दुई तिहाइ विश्वासको मत प्राप्त गरेका छन्। प्रतिनिधिसभामा आज भएको विश्वासको प्रस्तावको मतदानमा उनको पक्षमा १८८ मत, विपक्षमा ७४ मत र मत दिन्न भन्नेमा एक परेको छ । बैठकमा कूल २६३ सांसद उपस्थित थिए।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उक्त मत विभाजनको मतपरिणात सार्वजनिक गर्दै सो जानकारी दिए। राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष ओलीलाई यही असार ३० गते प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।
निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रचण्ड पदमुक्त भएका थिए । एमाले अध्यक्ष ओलीलाई नेपाली काँग्रेसको समर्थनमा नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले प्रधानमन्त्री नियुक्त गरेका थिए।
प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् । धारा ७६ उपधारा (२) अनुसार नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम त्यसरी नियुक्त भएको एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्छ ।
प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीका सांसदले विश्वासको मत दिएका छन् । त्यस्तै माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले विपक्षमा मतदान गरेका छन् ।