गत आवमा रिटेल पेमेन्ट स्विचको कारोबार ५७ खर्ब 

राम्रो अनलाइन     ०५ साउन २०८१, शनिबार
गत आवमा रिटेल पेमेन्ट स्विचको कारोबार ५७ खर्ब 


काठमाडौं–राष्ट्रिय भुक्तानी स्विच अन्तर्गतको रिटेल पेमेन्ट स्विचले आर्थिक वर्ष २०८०/८१ मा ५७ खर्ब रुपैयाँ बराबरको कारोबार गरेको छ । आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा कारोबार संख्या र रकमको आधारमा रिटेल पेमेन्ट स्विचको (आरपीएस) कारोबारमा क्रमशः ४९ प्रतिशत र ३८ प्रतिशतले वृद्धि भएको हो ।

सबै कारोबार विद्युतीय माध्यमबाट हुने र सानो रकमका कारोबार समेत रियल टाइममा नै हुने भएकोले सबै जसो कारोबारहरू आरपीएस मार्फत सिधै अथवा राउटिङ र राफसाफका लागि प्रयोग हुने क्रम अत्यधिक वृद्धि हुँदै गएको कम्पनीले जनाएको छ ।

यस अन्तर्गत बैंकरवित्तीय संस्थाका मोबाइल बैंकिङ, भुक्तानी सेवा प्रदायकका वालेट, क्यापिटल मार्केट, इन्स्योरेन्स, रेमिट्यान्स, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, ठूला कर्पोरेटहरू तथा नेपाल सरकार समेतको सबै जस्तो कारोबार प्रोसेस तथा क्लियरिङ आरपीएसबाट हुने व्यवस्था रहेको छ ।

उक्त निकायहरूलाई आरपीएसमा नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) मार्फत इन्टिग्रेट गरिएको छ । फन्ड ट्रान्सफर, कुनै पनि प्रकारका बिल पेमेन्ट, क्यूआर भुक्तानी, नेपाल सरकारको विभिन्न कारोबार जुनसुकै च्यानलबाट गरिए पनि अन्तिममा आरपीएसबाट प्रोसेस हुने गरेको छ ।

एनसीएचएलका सञ्चालनमा रहेका च्यानल प्ल्याट्फर्महरू जस्तै बैंकरवित्तीय संस्थाका व्यक्तिगत ग्राहकले प्रयोग गर्ने कनेक्ट आईपीएस, संस्थागत ग्राहकले प्रयोग गर्ने कर्पोरेटपे अथवा बैंकको शाखाबाट बैंक सेन्ट्रल मोड्युलबाट गरिने रियल टाइम कारोबारहरू समेत आरपीएसबाट नै प्रोसेसिङ हुने गरेको छ ।

नेपाल राष्ट्र बैंकले नेसनल पेमेन्ट स्विच लागु गर्न एनसीएचएललाई स्वीकृति दिएपश्चात उक्त परियोजनाको पहिलो पूर्वाधारको रूपमा एनसीएचएलले रिटेल पेमेन्ट स्विच नेपालमा नै निर्माण गरी २०७८/७९ देखि सञ्चालन गर्दै आएको छ ।

आरपीएसमा हाल ५२ बैंकरवित्तीय संस्था, २२ भुक्तानी सेवाप्रदायक, २ भुक्तानी प्रणाली सञ्चालक, १०० भन्दा बढी अन्य संस्था र नेपाल सरकार लगायतले आफ्ना सम्पूर्ण कारोबार गर्ने गरी जोडिएका छन् ।

प्रतिक्रिया