बाढी प्रभावित भन्छन्- अब हाम्रा दुःखका दिन सुरु भए

राम्रो अनलाइन     २० असार २०८१, बिहिबार
बाढी प्रभावित भन्छन्- अब हाम्रा दुःखका दिन सुरु भए

 

भजनी– जिल्लाको भजनी नगरपालिका–३ का सन्तराम चौधरी बर्खायाम सुरु भएसँगै चिन्तित छन् । बर्सेनि काढा नदीको बाढीबाट महिनौँ दिनसम्म घरविहीन हुनुपर्ने बाध्यता सन्तरामका लागि अझै अन्त्य हुनसकेको  छैन ।

‘असोज लागेपछि बर्खाको पीडा कम हुँदै जाँदा असार सुरु भएपछि पुरानै भएर बल्झिएर आउँछ । त्यो पीडामा मल्हम लगाउने कोही छैन’, सन्तराम भन्छन्, ‘बाढीबाट विस्थापित भएर सडकमा आउँदा चाउचाउ र चिउरा ल्याएर आउनेहरू त्यो बीचको समयमा कोही पुग्दैनन् । नदी नियन्त्रणका लागि नीति निर्माण बनाएर कार्यान्वयन गर्ने तहमा पुगेकाहरूको बेवास्ताका कारण बर्सेनि हामीलाई सास्ती हुँदै आएको छ ।’

भजनीका शर्मिला चौधरीलाई पनि बर्खा सुरु भएपछि निकै चिन्ता हुन्छ । उनलाई आफ्नोभन्दा बढी चिन्ता बालबालिका र पशुचौपायाको हुने गरेको छ । ‘प्रायः रातिको समयमा आउने बाढीबाट बढी जोखिम हुन्छ । अँध्यारो रातमा बालबालिका, पशुचौपाया र घरका महत्त्वपूर्ण सरसामान कसले र कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता हुन्छ’, शर्मिला भन्छिन्, ‘जन्मिँदा त्यहीँ बाढीको जोखिममा जन्मेकी म अन्तिम श्वाससम्म पनि बाढीको चिन्ताले छोड्लाजस्तो लाग्दैन ।’

बाढी र डुबानका कारण विस्थापित भएका नागरिकलाई राहतमा जुट्नुभन्दा सधैँका लागि बाढीको छुटकारा यहाँका स्थानीयले चाहेका क्षितिज चौधरी बताउँछन् । बर्खायाममा डुबानको जोखिम भएका क्षेत्र र बाढीको पानी निकास हुनेगरी स्थानीय सरकार र संघ तथा प्रदेश सरकारले समन्वय गरेर जोखिम कम गर्न पहल गर्नुपर्नेमा उनी जोड दिन्छन् ।

‘राहत यसअघि पनि पाएका थियौँ, फेरि पाइन्छ । बाढीको दीर्घकालीन समाधान भएको हामीले कहिले देख्न पाउने?’, क्षितिज प्रश्न गर्छन्, ‘राहतबापत आएको चाउचाउ, चिउरा र एक बोतल पानीले एकपटकको भोक र प्यास मेटिन्छ तर हाम्रो दुःख मेटिनेगरी काम होस् भन्ने चाहना छ ।’

भजनी–१ ठेङ्गरपुरका भलमन्सा राजु चौधरीको बुधबार आएको कान्द्रा नदीको बाढीले घरमा भएका सबै खाद्यान्न सामग्री नष्ट भएका छन् । एकाएक नदीमा आएको बाढी बस्तीमा पसेपछि स्थानीयले घरमा भएको खाद्यान्नसहित आवश्यक सामान सुरक्षित गर्न नसक्दा नष्ट भएको राजु बताउँछन् । ‘खासै वर्षा भएको थिएन । एकाएक बाढी बस्तीमा पसेपछि धनमाल जोगाउन सकिएनु, उनी भन्छन्, 'आफ्नो आवासको व्यवस्थापन कता गर्ने, खाद्यान्नको व्यवस्थापन गर्ने भन्ने चिन्ता थपिएको छ ।’

सोही ठाउँका कल्लु चौधरी कान्द्रा बर्सेनि दुःख बनेर आउने गरेको बताउँछन् । ‘बर्खा बर्सेनि हाम्रा लागि दुःखको समय हो । कुनै वर्ष छैन होला घर छाडेर त्रिपालमा गएर बस्नु नपरेको', उनी भन्छन्, ‘स्थानीयको समस्या तिनै तहका सरकारलाई जानकारी हुँदा पनि दीर्घकालीन समस्या समाधानतर्फ ध्यान जान सकेको छैन । ' स्थानीय जनप्रतिनिधिले विशेष पहल गर्नुपर्नेमा उनी जोड दिनुहुन्छ । 

भजनी नगरपालिकाका नगरप्रमुख केवल चौधरी स्थानीय सरकारको स्रोतले यहाँका नागरिकलाई ओभानोमा राख्न सक्ने स्थिति नरहेको बताउँछन् । प्रदेश र सङ्घ सरकारसँग समस्या समाधानका लागि आग्रह गरिएको भन्दै हालसम्म भजनीको दुःखमा मल्हम लगाउन नसकेको उनी बताउँछन् । 

‘म आफैँ पनि बाढीबाट प्रभावित हुँदै आएको छु । यसवर्ष नगरपालिका क्षति कम गर्ने योजनाअनुसार पूर्वतयारीमा लागेको छ । यसमा प्रदेश र सङ्घ सरकारले सहकार्य र समन्वय गर्ने विश्वास लिएका छौँ,’ नगरप्रमुख चौधरी भन्छन् । दीर्घकालीन रुपमा नदी नियन्त्रण नहुँदा बर्सेनिको बाढीले स्थानीयलाई सास्ती हुने गरेको छ ।

भजनी नगरपालिकामा काढा, कान्द्रा र पथरैया नदीको बाढीले बर्सेनि हजारौँ नागरिक विस्थापित हुँदै आएका छन् । बाढीबाट प्रभावित नागरिकका लागि हुलाकी राजमार्ग आश्रयस्थल बन्दै आएको छ । 


 

प्रतिक्रिया