चितवनमा रोपाइँ महोत्सव हुने

राम्रो अनलाइन     १४ असार २०८१, शुक्रबार
चितवनमा रोपाइँ महोत्सव हुने

 

चितवन–  हरेक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव यस वर्ष चितवनमा मनाइने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनको धान जोन क्षेत्रको बछौलीमा प्रधानमन्त्रीको उपस्थितिमा रोपाइँ महोत्सव गर्न लागिएको हो ।  

रत्ननगर नगरपालिका-७ बछौलीमा महोत्सव मनाउने तयारी गरिएको आयोजक समितिका संयोजक एवम् कृषि विभागका महानिर्देशक नरहरिप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ महोत्सव गर्न लागिएको हो । महोत्सवमा धान रोप्ने मेसिनले एक हेक्टर क्षेत्रफलमा धान रोपिने संयोजक घिमिरेले बताए । 

बछौली बहुउद्देशीय कृषि समूहमा आयोजना गर्न लागिएको उक्त महोत्सवमा कृषि क्षेत्रमा आधुनिकीकरण, जलवायुमैत्री तथा जलवायु परिवर्तनसँग जुध्न सक्ने धानका जातको बारेमा जानकारी दिइने उनले बताए । संयोजक घिमिरेका अनुसार सुक्खा क्षेत्र सहन सक्ने छ जात र डुबान सहन सक्ने दुई जातका धानको बारेमा जानकारी गराइनेछ । 'अहिले मनसुन ढिला सुरु हुँदा कतै बीउ राख्ने त कतै रोपाइँ गर्ने अवस्था छ । धान रोपाइँमा मेसिनको प्रयोग गर्नसके कृषकलाई समयका साथै आर्थिकरुपमा खर्च कम लाग्ने देखिन्छ”, उहाँले भन्नुभयो, “प्रविधिको प्रयोग गरेर कृषि कर्म गरे ३० प्रतिशतसम्म उत्पादन बढ्नेछ ।'

जिल्लामा अहिले पाँचवटा मेसिनबाट धान रोपाइँ हुँदै आएको छ । एक बिघा क्षेत्रफलमा धान रोप्दा पाँच हजार मात्र खर्च हुने भएकाले हरेक दृष्टिकोणबाट मेसिन फलदायी हुने संयोजक घिमिरेले बताउनुभयो । जलवायु परिवर्तनको असरको न्यूनीकरणका लागि प्रविधिको विकास भए पनि यसको प्रयोगका बारेमा जानकारी नहुँदा समस्या हुने गरेको उनको भनाइ छ ।

१४ प्रतिशत रोपाइँ सम्पन्न

जिल्लामा हालसम्म १४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । यहाँ २२ हजार आठ सय ७० हेक्टर क्षेत्रफलमा वर्षे धानखेती गरिँदै आइएको छ । पूर्वी चितवन र पश्चिम चितवनको माडी क्षेत्रमा धान रोपाइँ भइरहेको कृषि कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले जानकारी दिए । उनका अनुसार पूर्वी क्षेत्रमा असार पहिलो सातादेखि रोपाइँ सुरु भएको छ भने पश्चिम क्षेत्रमा असार अन्तिम सातादेखि सुरु हुने गरेको छ । 

धान जोन क्षेत्रमा करिब ८० प्रतिशत सिँचाइको व्यवस्थापन भइसकेको छ । अन्य क्षेत्रमा सिँचाइका लागि बोरिङ जडानको काम भइरहेको जनाउँदै नहरबाट पानी लाग्ने ठाउँमा भने केही ढिला हुने संयोजक घिमिरेले बताए । जिल्लामा सञ्चालित धान जोन क्षेत्रमा ५० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको उनले जानकारी दिए । उनका अनुसार जिल्लामा आठ हजार पाँच सय हेक्टर क्षेत्रफल धान जोनका रुपमा विकास गरिएको छ ।

प्रतिक्रिया