साउदी अरबमा मृत्यु हुने हज यात्रीकाे संख्या १३ सय नाघ्यो

राम्रो अनलाइन     १० असार २०८१, सोमबार
साउदी अरबमा मृत्यु हुने हज यात्रीकाे संख्या १३ सय नाघ्यो

काठमाडाैं–  साउदी अरेबियाको प्रशासनले हज यात्रामा मृत्यु भएका व्यक्तिको आधिकारिक तथ्यांक सार्वजनिक गरेको छ।

साउदी प्रशासनका अनुसार हजका क्रममा १३ सय १ तीर्थयात्रीले ज्यान गुमाएका छन्। साउदी प्रशासनले चर्को गर्मी र अवैध यात्रालाई यसको कारण भनेको छ।

गर्मीले कीर्तिमान तोडिरहेको र तापक्रम ५२ डिग्री सेल्सियस नजिक पुगेको बेला यस वर्षको हजयात्रा भएको हो।

जुन १४ देखि १९ सम्म भएको हज यात्राका क्रममा मृत्यु भएका पाँच तीर्थयात्रीहरूमध्ये चारसँग वैध अनुमति नभएको र उनीहरु गर्मीमा आश्रय बिना हिँडिरहेको साउदी अरेबियाले बताएको छ। मृतकमध्ये केही वृद्ध र बिरामीसमेत रहेका थिए।

साउदी अरेबियाका स्वास्थ्य मन्त्री फहद अल-जलाजेलले यात्रुहरूलाई अत्यधिक गर्मीको खतरा र यसबाट कसरी बच्ने भन्ने बारे सचेतना जगाउने प्रयास भइरहेको बताए।

स्वास्थ्य केन्द्रमा करिब पाँच लाख मानिसको उपचार भइसकेको छ, जसमध्ये १ लाख ४० हजार विना अनुमति यात्रा गर्ने व्यक्ति रहेको साउदी सरकारले बताएको छ।

हज यात्राका क्रममा लगातार मृत्यु हुने र विशेषगरी अनुमतिबिना आउने मानिसलाई सुविधा नदिएको भन्दै साउदी अरेबियाको आलोचना भइरहेको छ।

हज यात्रामा मारिनेमा सबैभन्दा बढी इजिप्टका छन्। इजिप्टका अहिलेसम्म ६५८ हज यात्रीको मृत्यु भएको बताइएको छ।

प्रतिक्रिया